भर्खरै :

युक्रेनको अवडिभ्का नियन्त्रणपछि युद्ध कसरी विकसित हुनेछ

युक्रेनको अवडिभ्का नियन्त्रणपछि युद्ध कसरी विकसित हुनेछ

त्यहाँ ठूलो विकास छ । युक्रेनी कमाण्डर–इन–चीफ ओलेक्जेन्डर सिर्स्कीले शनिबार अचानक घोषणा गरे कि डोनेट्स्क क्षेत्रको अवडिभ्काबाट युक्रेनी एकाइहरू फिर्ता गर्ने निर्णय गरे । यो युक्रेनी युद्धभूमिमा गत वर्षको मे यताकै सबैभन्दा महत्वपूर्ण परिवर्तन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पक्षमा पछिल्लो प्रवृत्ति हो । रुसमा अर्को महिना राष्ट्रपतीय निर्वाचन हुँदैछ र पुटिनले आफ्नो पाँचौँ कार्यकाल जित्ने पश्चिमी जनमतमा व्यापक अपेक्षा गरिएको छ ।
बारम्बारको युद्धपछि, रूसी सेनाले गत वर्ष मे महिनामा डोनेट्स्क शहरको उत्तरमा अवस्थित बाख्मुतको रणनीतिक यातायात केन्द्र कब्जा ग¥यो । तबदेखि, अवडिभ्का यो युद्धमा नयाँ ‘वधशाला’ भएको छ । नयाँ युक्रेनी कमाण्डर–इन–चीफ सिर्स्कीले सोशल मिडियामा भने कि अवडिभ्का छोड्नु भनेको ‘तनावको परिवेशबाट जोगिन र सैनिकहरूको जीवन र स्वास्थ्यको संरक्षण गर्नु हो ।’
उनले यो पनि जोड दिए कि “हाम्रा सिपाहीहरूले आफ्नो सैन्य कर्तव्य सम्मानका साथ पूरा गरे, सबैभन्दा राम्रो रूसी सैन्य एकाइहरू नष्ट गर्न सम्भव सबै प्रयास गरे र जनशक्ति र उपकरणको सन्दर्भमा दुश्मनलाई महत्वपूर्ण क्षति पु¥याए ।” युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सेना फिर्ता गर्नु सही निर्णय भएको बताएका छन् ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनले अवडिभ्काको हार युक्रेनको लागि एक निस्सन्देह झटका भएको टिप्पणी ग¥यो । न्यूयोर्क टाइम्सले युक्रेनी सेनाको अवडिभ्काबाट पछि हटेको अराजक अवस्थाको वर्णन ग¥यो, एउटा विवरणमा भनिएको छ कि कमाण्डरले उनीहरूलाई घाइतेहरूलाई पछाडि छोड्न आदेश दिएका थिए, तर ‘उनी घाइते मानिससँग कुरा गरिरहेको थाहा थिएन ।’
युक्रेनी सेनाको फिर्ति अवडिभ्काबाट तब भयो जब जो बाइडेनको विदेशी सहायता विधेयककोे अनुमोदनको लागि अनुरोधको अमेरिकी संसद् (काङ्ग्रेस) मा रिपब्लिकन पार्टीद्वारा अवरोध गरिएको थियो । संरा अमेरिका सधैँ कीभको सबैभन्दा ठूलो बाह्य प्रायोजक भएको छ, र बाइडेनले युक्रेनको लागि २०२४ सहायता बजेट ४६० अर्ब अमेरिकी डलर अनुरोध गरेको छ । जेलेन्स्कीले हालै जर्मनी, फ्रान्स र बेलायतबाट २०२४ का लागि क्रमशः ७.५ अर्ब अमेरिकी डलर, ३.२ अर्ब अमेरिकी डलर र ३.१ अर्ब अमेरिकी डलरको सहयोगको वाचा प्राप्त गरेको छ, जसलाई प्रस्तावित ४६० अर्ब अमेरिकी डलरसँग तुलना गर्न सकिँदैन ।
युक्रेनका लागि बाइडेनको सहायता विधेयक डेमोक्र्याट–नियन्त्रित सिनेटमा पारित भएको छ, तर रिपब्लिकन–नियन्त्रित प्रतिनिधि सभामा यसले ठुलो अवरोधहरूको सामना गरिरहेको छ । यो अन्ततः पारित हुने कुरालाई नकार्न नसकिने भए पनि, पश्चिमी समर्थन अविश्वसनीय भएको छ र यो छाप युक्रेनी युद्धको समग्र स्थितिमा बिस्तारै फैलिएको छ । किभको विश्वास र दीर्घकालीन अपेक्षाहरूलाई कमजोर बनाउँदै र रुसको मनोबल बढेको छ ।
युक्रेनी युद्ध फेब्रुअरी २४ मा यसको दुई वर्षको अवधिमा पुग्ने छ, र यो एक विशिष्ट युद्धको मानक भएको छ, सम्पूर्ण पश्चिमका स्रोतहरू र दृढ सङ्कल्प रूसविरुद्ध खडा गरिएको छ । अहिलेसम्म रुसले राष्ट्रव्यापी युद्ध परिचालन सुरु गरेको छैन । अमेरिकी पत्रकार टकर कार्लसनले भर्खरै मस्कोमा पुटिनसँग अन्तर्वार्ता लिएपछि, उनले सहरको आधारभूत अवस्थाको केही फुटेज लिए, जसमा सुपरमार्केटहरूमा धेरै सामानहरूले भरिएका शेल्फहरू देखाउँछन् । कार्लसनले सीधा क्यामेरालाई भने कि प्रतिबन्धले काम गरेको छैन । अवडिभ्काको युद्धभूमिमा युक्रेनी पक्षले रूसी सेनाको तोपखाना गोला युक्रेनी सेनाको भन्दा १० गुणा बढी भएको दावी गरेको छ ।
कार्लसनसँगको अन्तर्वार्तामा पुटिनले रुसले पोल्याण्ड वा तीन बाल्टिक देशमाथि आक्रमण नगर्ने बताए । पश्चिमी नेताहरूले उनको लामो भाषणको आलोचना गरे तापनि रूसी आक्रमण र सामरिक आणविक हतियारको प्रयोगको बारेमा युरोपेलीहरूको चिन्ता केही समयदेखि घट्दै गएको छ । यसले युक्रेनलाई पश्चिमको दीर्घकालीन, बिनाशर्त समर्थनलाई असर गर्नेछ । रसियाले बलियो युद्ध क्षमता र घरेलु स्थायित्व कायम राख्दै युद्ध यसरी रह्यो भने, युक्रेनलाई समर्थन गर्ने पश्चिमाहरूको धैर्यता कमजोर हुनेछ र केही अधीरता उत्पन्न हुन सक्छ, जुन क्रेमलिनले आशा गरेको छ । युक्रेनी युद्ध चाँडै तेस्रो वर्षमा प्रवेश गर्नेछ, सहनशीलताको परीक्षा बन्नेछ । रूसको सहनशीलताको सीमा मापन र नयाँ परीक्षण गरिनेछ ।
(लेखक चिनियाँ सञ्चारकर्मी हुन् ।)

– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *