भर्खरै :

कृषिमा प्राथमिकतामा परेको नेपालमा दाल, चामल र तरकारी भारतबाट आउने !

कृषिमा प्राथमिकतामा परेको नेपालमा दाल, चामल र तरकारी भारतबाट आउने !

भक्तपुर, ९ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औँ, ख्वप कलेजको २२ औँ, शारदा क्याम्पस माविको ३३ औँ र ख्वप कलेज अफ लको प्रथम वार्षिकोत्सव कार्यक्रमको उद्घाटन बुधबार भव्य समारोहबिच कलेज प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै सांसद सुवालले राजनीतिक नेताहरू स्वअनुशासनमा नबसेसम्म देश विकास नहुने स्पष्ट पार्दै भन्नुभयो, “चीनका नेताहरूमा स्वअनुशासन छ । सन् २०२४ नयाँ वर्षको शुभकामना दिँदै चीनका राष्ट्रपति सि चिनफिङले चीनमा २० वर्षदेखि कृषि उत्पादन बढेको बताउनुभयो । अमेरिकी राष्ट्रपति बाइडेनसँगको भेटवार्तामा सिले चीनका जनता गरिबीबाट मुक्त भएको बताउनुभयो । नेपालका ८० लाख युवाहरू वैदेशिक रोजगारीमा पठाइएको हुँदा खेतीपाती बाझो छ ।”
उहाँले भन्नुभयो, “नेपालको अर्को प्राथमिकता शिक्षा हुनुपर्छ । शिक्षामा गरिएको कामबाट जलविद्युत् उत्पादन, खनिज, वन, रोजगारी, स्वाथ्य, उद्योग, व्यापार र पूर्वाधार विकासमा मद्दत पुग्नेछ । सरकारले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्नु जरूरी छ । २०७२ सालको भूकम्पपछि जिल्ला जिल्लामा विद्यालय भवनहरू बने । तर, सहरतिर बसाइँसराइ बढेको हुँदा बनेका विद्यालय भवनमा अध्ययन गर्ने विद्यार्थी १०–२० जनामात्र छन् ।”
सरकारले १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई परिवारको घर खेत बेच्न लगाएर विदेश अध्ययनमा पठाएको पनि देशको हितमा नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “संसद्मा ख्वप विश्वविद्यालय र नेपाल विश्वविद्यालयको चर्चा छ । भक्तपुर नगरपालिकाबाट स्थापना हुने ख्वप विश्वविद्यालयको विधेयक २०७३ सालमै सांसदहरूलाई वितरण भइसकेको थियो । २०७४ सालको चुनावपछि यो विधेयकलाई निष्क्रियमा पु¥याइयो ।
२०७९ को चुनावपछि यो विधेयक ल्याउन संसद्मा हामीले बारम्बार उठायौँ । अहिले शिक्षा मन्त्रालयले ख्वप विश्वविद्यालयको विधेयकलाई अन्तिम रूप दिएको छ । यो विधेयक ऊँट बन्ने गरी संसद्बाट पारित हुनु हुँदैन । भक्तपुर नगरपालिकाले सञ्चालन गर्दै आएका ७ वटा शैक्षिक संस्थानबाट देशभरिका ४१ हजार विद्यार्थीले अध्ययनको अवसर पाएका छन् ।”
सांसद सुवालले भन्नुभयो, “बङ्गलादेशका २८ प्रतिशत युवामाझ विश्वविद्यालयमा भर्ना हुने गरेको बताइन्छ । त्यहाँ १६० विश्वविद्यालय भएको र ११२ मेडिकल कलेज भएको बताइन्छ । इथोपियामा नेपालको दुई गुणा जनसङ्ख्या छ तर ७० वटा विश्वविद्यालय छन् । यो अनुपातमा नेपालमा विश्वविद्यालय पुग्दो छैन । संसारमा सहरी विश्वविद्यालय सञ्चालनमा छन् । ख्वप विश्वविद्यलाय पनि सहरी विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने भक्तपुर नगरपालिकाको तयारी हो । नेपालमा पनि १५ प्रतिशत युवामात्र विश्वविद्यालयमा पुगेका छन् । अर्थात् नेपालमा पनि विश्वविद्यालयको सङ्ख्या पुगेको छैन ।”
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न सरकारहरूको ध्यानाकर्षण गराउँदै छ । राणा शासनले शिक्षा रोक्न सकेन । अन्ततः त्रिचन्द्र कलेज, पद्मोदयलगायत शैक्षिक संस्था खोल्न राणा शासकहरू बाध्य भए । बहुदल र गणतन्त्र दाबी गरेका अहिलेका सरकारहरूले ख्वप विश्वविद्यालयलाई रोक्न सक्नेछैनन् । हाम्रो विश्वविद्यालयमा सबै किसिमको स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरूलाई इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, अर्थशास्त्र, कानुन, पत्रकारिता, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयसमेत अध्ययन गराई प्रतिस्पर्धी बनाउनु जरूरी छ ।”
कार्यक्रमका सभापति, कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसद्बाट पारित गराउन आवश्यक पहल गरिरहेको जानकारी दिँदै भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरू बन्द र हडतालबाट मुक्त रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य उपचार, खाद्यान्नदेखि हरेक वस्तुमा विदेशनिर्भर हुँदै गएको बताउँदै उहाँले विद्यार्र्थीहरूलाई आत्मनिर्भरताको पाठ सिकाउनुपर्नेमा जोड दिनुभयो ।
अमेरिका युद्ध गराएर हतियार बिक्री गर्ने देशको रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै उहाँले न्यायप्रेमी नेपालीले अमेरिकी साम्राज्यवादको विरोध निरन्तर गरिरहने बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरूले शैक्षिक प्रकाशस्तम्भको रूपमा काम गरिरहेको बताउनुभयो ।
उहाँले नेपालमा वैदेशिक ऋणको भार बढ्दै छ, देश आर्थिकरूपमा टाट पल्टिने अवस्थामा रहेको स्पष्ट पार्दै ख्वपले जनतामाझ चेतनाको बीउ छर्ने काम गरिरहेको बताउनुभयो ।
समाजको तल्लोवर्गको सेवा गर्ने पवित्र उद्देश्यले जन्मेको ख्वपले देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गरी सेवा गरिरहेको विचार व्यक्त गर्दै सांसद गोसाईले देशको भविष्य शिक्षक, बुद्धिजीवी र विद्यार्थीहरूको हातमा रहेको बताउनुभयो ।
कर्णाली प्रदेशको १ सय ५७ भन्दा बढी विद्यालयमा १० जनाभन्दा कम विद्यार्थी सङ्ख्या हुनुमा देशमा असन्तुलित विकास र बसाइँसराइ प्रमुख कारण भएको बताउँदै उहाँले यसले देशमा विकराल समस्या निम्त्याइरहेको प्रस्ट पार्नुभयो ।
रुसलाई समाप्त पार्ने र चीनलाई घेर्ने रणनीति बनाएको अमेरिका आज आफँै हारको सङ्घारको रहेको बताउँदै उहाँले प्यालेस्टिनी जनताप्रति न्यायप्रेमी जनताको सधँै ऐक्यबद्धता रहने धारणा राख्नुभयो ।
कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र जनताको सेवालाई केन्द्रबिन्दुमा राखी नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले काम गर्दै आएको प्रकाश पार्दै ख्वप सर्कलले समाजलाई बुद्धिजीवीकरण गर्न महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन प्रा.डा. कुसुम शाक्यले सबै क्षेत्रमा महिलाहरूको सहभागिता उल्लेख्य रहेको चर्चा गर्दै महिलालाई शिक्षित र सचेत पार्नु आजको आवश्यकता भएको बताउनुभयो ।
भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य छिट्टै साकार हुने विश्वास राख्दै उहाँले जनतालाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न विश्वविद्यालयहरू प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आम्गाईले विश्वविद्यालयले अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताउँदै रोजगारीमूलक शिक्षा आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो । उहाँले विश्वविद्यालय अनुदान आयोगले गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई एमफिल र विद्यावारिधि अध्ययन गर्न छात्रवृत्तिको लागि अनुदानको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेजका अङ्ग्रेजी शिक्षक कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्नरूपमा दस वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरूलाई कदरपत्रका साथ सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूले वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजेताहरूलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा बिहीबार शैक्षिक प्रदर्शनी हुने आयोजक विद्यालय/कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *