भर्खरै :

सिद्धान्त र दर्शनअनुसार पार्टी सञ्चालन हुनु आवश्यक

सिद्धान्त र दर्शनअनुसार पार्टी सञ्चालन हुनु आवश्यक

भक्तपुर, ११ फागुन । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको आयोजनामा शुक्रबार प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पार्टीको सिद्धान्त र दर्शनअनुसार पार्टी सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याउँदै नेमकिपा कामदार जनताको सेवा र देशको हितमा काम गर्ने दर्शन बोकेको माक्र्सवादी पार्टी हो भन्नुभयो ।
शासक पार्टीहरूले निजीकरण र विदेशमा युवा पठाउने, देशमा निर्यातभन्दा आयात बढाउने काम गरिरहेकाले ती पार्टीहरू पुँजीवादी पार्टी भएको स्पष्ट पार्नुभयो ।
कामदार जनतालाई राजनीतिकरूपले सचेत गर्न नसकेसम्म पुँजीवादी पार्टीहरूले जनतालाई प्रभावमा राख्नेछन्, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “कम्युनिस्टहरू सानो स्वार्थमा फस्दैनन् । तर, नक्कली कम्युनिस्टहरू पुँजीवादी सरकारको भागबन्डामा फस्छन् । पुँजीवादी बन्दोबस्तमा सानो स्वार्थ प्राप्त हुनेबित्तिकै क्रान्तिलाई त्याग गर्ने र जनतालाई धोका दिने काम अवसरवादी पार्टीबाट हुने गर्छ ।”
लगानी सम्मेलनमार्फत देशलाई नवउपनिवेश गर्न निमन्त्रणा दिनुजस्तै हुने धारणा राख्दै सचिव सुवालले शासक पार्टीहरू विदेशीको दलाल बनिरहेका छन् भन्नुभयो ।
कर्मचारीहरूले राजनीतिक कार्यक्रममा भाग लिनु हुँदैन भन्नु नै बेइमानी र भ्रष्टाचारलाई बढावा दिनु भएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवाले पार्टीका अग्रज नेता कार्यकर्ताहरूले विसं २०१९ सालदेखि नै निर्वाचनलाई उपयोग गरी जनताको सेवा गरिरहेको चर्चा गर्दै नेमकिपाको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा रहेको बताउनुभयो ।
राजनीति गर्नु भनेको देश र जनताको निःस्वार्थ सेवा गर्नु हो भन्दै उहाँले कर्मचारीहरू राजनीतिकरूपले सचेत नभएसम्म जनताको हितमा काम गर्न नसक्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “भारतले आफ्नो दूतावासमार्फत नेपाल सरकारको स्वीकृतिविना २० करोडसम्म लगानी गर्नसक्ने बन्दोबस्त नेपालमा भारतीय दलालहरू तयार गरी नवउपनिवेश बनाउने सोच हो । नेमकिपाले यसको निरन्तर विरोध गर्दै जानेछ ।”
युवाहरूलाई विदेशमा होइन स्वदेशमै रोजगारी दिनुपर्नेमा केन्द्रीय सदस्य कवांले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले नेपालको राजनीतिक डबलीमा नेमकिपाको उपस्थिति नहुँदो हो त भारतीय विस्तारवाद र एकाधिकार पुँजी तथा संरा अमेरिकी साम्राज्यवादको विरोध गर्ने पार्टी नै हुँदैनथ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले प्रतिक्रियावादीभन्दा प्रतिक्रियावादी सङ्घ संस्थाभित्र गएर निर्वाचनलाई उपयोग गरी देश र जनताको सेवा गर्ने लेनिनवादी नीतिअनुसार काम गर्दै आएको छ । भक्तपुर नगरपालिका यसको एउटा उदाहरण हो ।”
नेपाली युवाहरूलाई विदेशीको भाडाको सिपाही बनाउने गोर्खा भर्तीकेन्द्र खारेज गर्न र वैदेशिक रोजगारीको नाममा नेपालीलाई दास बनाएर विदेशमा बेच्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्न नेमकिपाले सडक र सदनमा सङ्घर्ष गर्दै आएको चर्चा गर्दै केन्द्रीय अध्यक्ष लासिवाले भन्नुभयो, “युक्रेनलाई अमेरिकी साम्राज्यवादले हतियार सहयोग गरी रूस–युक्रेन युद्ध गराएको हो । नेपाल सरकारले असंलग्न परराष्ट्र नीतिविपरीत युक्रेनको समर्थन गर्नु नेपालको हितविपरीत भएकोले नेमकिपाले सरकारको विरोध गरेको हो ।”
कार्यक्रममा नेपाल कर्मचारी समाजका केन्द्रीय कोषाध्यक्ष काजीबहादुर पञ्च, दिव्यलक्ष्मी बज्राचार्य, विजय लोहला, रामकृष्ण प्रजापति, रामेश्वर मचामसी र शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *