भर्खरै :

देशको संस्कृति विदेशी संस्कृतिको प्रभावबाट मुक्त हुनुपर्ने

देशको संस्कृति विदेशी संस्कृतिको प्रभावबाट मुक्त हुनुपर्ने

भक्तपुर, ११ फागुन । ख्वप माध्यमिक विद्यालयको २४ औँ, ख्वप कलेजको २२ औँ, शारदा क्याम्पस माविको ३३ औँ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सव कार्यक्रमको समापन तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले देशको संस्कृति विदेशी संस्कृतिको प्रभावबाट मुक्त हुनुपर्ने आवश्यकता औँल्याउँदै मौलिक संस्कृतिलाई संरक्षण गर्नुपर्छ भन्नुभयो ।
सांस्कृतिक अतिक्रमण भौतिक अतिक्रमणभन्दा खतरनाक हुनेतर्फ सचेत गराउँदै उहाँले नेपालीहरू नेपाली संस्कृतिमै रमाउन जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यार्थीहरूलाई सांस्कृतिक गतिविधिहरूमा समावेश गराइराख्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “विद्यार्थीहरूलाई स्थानीय संस्कृति र सम्पदाबारे शिक्षित गराउने उद्देश्यले नै भनपाले स्थानीय पाठ्यक्रम लागु गरेको छ ।”
“एनजीओ÷आईएनजीओले नेपालको भन्दा पनि विदेशीको हितमा काम गरिरहेको छ । पाँच वर्षमा एनजीओ÷आईएनजीओले १० खर्ब रकम देशमा भित्याएको तथ्याङ्क छ । उनीहरूको खर्च प्रणाली अपारदर्शी छ । यसरी भित्रिएको रकम सही रुपमा सदुपयोग भइरहेको छैन”, प्रमुख प्रजापतिले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैजूले विद्यार्थीलाई देश प्रेमको भावनाबारे सिकाउनुपर्ने आवश्यकता औँल्याउँदै ख्वपका विद्यार्थीले सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरेको देशप्रेमको भावना सराहनीय छ भन्नुभयो ।
सांस्कृतिक गतिविधिमार्फत विद्यार्थीमा देशभक्तिको भावना जगाउनसक्ने यसतर्फ शिक्षकहरूले विद्यार्थीलाई उत्प्रेरणा दिनुपर्ने आवश्यकता उहाँले व्यक्त गर्नुभयो ।
प्रदेश सदस्य सैँजूले भन्नुभयो, “शैक्षिक गतिविधिसँगै विद्यार्थीलाई व्यवहारिक र सैद्धान्तिक रुपमा शिक्षित गर्नुपर्छ । नयाँ पुस्तालाई व्यक्तिवादी नभई सामूहिक भावना जगाउने शिक्षा दिनु आवश्यक छ ।”
देश र जनताको सेवामा इमानदारीपूर्वक लड्ने सिपाहीँको रुपमा लड्ने विद्यार्थी तयार गर्नु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले देश भक्ति र देशको विभिन्न संस्कृति झल्काउने नाटक, गीत र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा ख्वप मा.वि.का प्राचार्य लक्ष्मीप्रसाद कमाचार्य, ख्वप कलेजका उपप्राचार्य डा. राजेशकुमार श्रेष्ठ, ख्वप मा.वि.का उपप्राचार्य विष्णुप्रसाद किसी र बीए तथा एमए अङ्ग्रेजी इन्चार्ज कमिनिका न्याइच्याईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वार्षिक उत्सवको अवसरमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई प्रदेशसभा सदस्य सैजूले प्रमाणपत्र तथा मेडल वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *