भर्खरै :

औषधि उपलब्ध नगराउने स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई जिम्मेवार बनाइनुपर्ने

औषधि उपलब्ध नगराउने स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई जिम्मेवार बनाइनुपर्ने

काठमाडौँ, १२ फागुन । सङ्घीय संसद्, राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया सङ्घीय संसद्को भवन नयाँ बानेश्वरको ल्होत्से हलमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट डा.उमावती थापाले क्यान्सरबाट नेपालमा प्रत्येक वर्ष २० हजार बिरामी पहिचान भएको र सन् २०२० मा क्यान्सरबाट १६,६२९ जनाको मृत्यु भएको उल्लेख गर्दै नेपालमा फोक्सो, पाठेघर, स्तन, पेट र आन्द्राको क्यान्सर बढी देखिएको र सुर्तीजन्य पदार्थ, मद्यपान, हेपाटाइटिस बी लगायतको कारण क्यान्सर रोग लाग्ने गरेको बताउनुभयो ।
उहाँले देशभरि क्यान्सर उपचारको रेडियसन मेसिन १३ वटामात्र भएको, तत्काल आवश्यक रेडियसन मेसिन ३० भएको, देशभरि जनशक्ति ४८ जना भएको, तत्काल आवश्यक १२० भएको स्वास्थ्य मन्त्रालयबाट मात्र परिपूर्ति गर्न नसकेको, अधिकांश क्यान्सर बिरामीहरू तेस्रो र चौथो चरणमा मात्र अस्पताल आउने गरेको, पहिलो र दोस्रो चरणका ८० प्रतिशत, तेस्रो चरणका ३० प्रतिशत र चौथो चरणका ५ प्रतिशतमात्र क्यान्सर रोगी निको भएको उल्लेख गर्नुभयो ।
बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुरका डा.शिवजी पौडेलले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार एसिया महादेशमा क्यान्सर बिरामीको पहिचान र मृत्यु सङ्ख्या दुवै बढेको बताउनुभयो ।
उहाँले प्रति १० लाख जनसङ्ख्याको लागि १ वटा क्यान्सर रोग उपचार गर्ने लि न्याक मेसिन हुनुपर्नेमा हाल देशमा ११ वटामात्र उपलब्ध भएको उल्लेख गर्नुभयो ।
मेडिकल अन्कोलोजिस्ट प्रा.डा. विष्णुदत्त पौडेलले नेपालको कुल मृत्युमध्ये १० प्रतिशत क्यान्सरबाट भइरहेको उल्लेख गर्दै क्यान्सर रोगी र परिवारको जीवन सुधार ल्याउने प्यालिएटिभको आवश्यकताबारे चर्चा गर्नुभयो । उहाँले क्यान्सर उपचारको दुखाइ कम गर्ने मर्फिन सन् २००० मा संरा अमेरिकामा ४५.०८२२ एमजी, भारतमा ०.०७६९ एमजी र नेपालमा ०.००१० एमजी उपलब्ध भएको बताउनुभयो ।
उहाँले नेपालमा सुर्तीजन्य पदार्थबाट वार्षिक ३५,५२९ को मृत्यु भइरहेको हुँदा सुर्तीजन्य उत्पादनमा कर बढाइए मुत्यु घट्ने उल्लेख गर्नुभयो ।
हर्ट इन्टरनेसन, नेपालका डा. सुशील बरालले नेपालमा सन् १९९० मा क्यान्सरबाट मर्नेको सङ्ख्या छैटौँ स्थानमा परेको तर सन् २०१९ सम्म पुग्दा दोस्रो स्थानमा परेको उल्लेख गर्दै काठमाडौँ उपत्यकाको वायु प्रदूषणको कारण यहाँका मानिसमा क्यान्सर रोग बढेकोतर्फ सचेत गराउनुभयो ।
काठमाडौँ विश्वविद्यालयका बायोटेक्नोलोजी विभागका प्रा.डा. भूपालगोविन्द श्रेष्ठले क्यान्सर रोगको उपचारमा जडिबुटीबारे चर्चा गर्दै राष्ट्रिय औषधिजन्य बिरूवा अनुसन्धान केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।
काठमाडौँ क्यान्सर अस्पताल ताथलीका कार्यक्रम संयोजक डा. किशोरकुमार प्रधानाङ्गले क्यान्सर रोगबारे राष्ट्रिय नीति नभएको जनताको विषय भएको उल्लेख गर्दै नेपालमा फोक्सो पछि मुखको क्यान्सर बढी भएको बताउनुभयो ।
उहाँले नेपालीको स्वास्थ्यमा भन्दा रक्सी चुरोटमा बढी खर्च भएको बताउनुभयो ।
कार्यक्रममा क्यान्सर उपचारसँग सम्बन्धित केही निजी अस्पताल र संस्थाको प्रस्तुति राखिएको तर सरकारकै भक्तपुर क्यान्सर अस्पतालको प्रस्तुति छुटाएकोमा कानेखुसी पनि भएको थियो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्वास्थ्य करको अर्बौँ रुपैयाँको सरकारी कोष सम्बन्धित क्यान्सर उपचार अस्पताललाई निकासा गराउन प्रतिनिधिसभाको ध्यान जानुपर्ने, औषधि उपलब्ध नहुँदा क्यान्सर बिरामीको मृत्यु बढेको, यसमा स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भारतीय औषधि पाउन नेपालीलाई भारतीय नागरिक हुनुपर्ने, शासक दलका नेताहरू राज्यकोषबाट खर्च गराई क्यान्सरलगायत रोगको निको भएको, गम्भीर रोगबाट नेपालीको मृत्यु बढिरहे पनि पूर्वप्रम देउवा र ओली तथा वर्तमान प्रम दाहालको ध्यान नगएको बताउनुभयो । उहाँले काठमाडौँ उपत्यकाको प्रदूषणको कारण यहाँका बासिन्दालाई फोक्सोलगायत क्यान्सर हुनेबारे सूचित गराउन ढिलो गर्न नहुने, अस्पतालहरू मन्त्रीकै आ–आफ्ना मान्छेको जिम्मामा होइन स्थानीय सरकारको जिम्मामा चलाउनुपर्ने, जनशक्ति उत्पादन गर्न मेडिकल कलेजहरूलाई जिम्मा दिनुपर्ने बताउनुभयो । उहाँले जिल्ला जिल्लामा रोग पहिचान गराउन स्थानीय तहको सिफारिसमा सोही स्थानमा काम गराउने गरी एमबीबीएस र एमडीमा स्थानीय विद्यार्थीलाई पठाउनुपर्ने, जिल्ला जिल्लामा खेलकुद भवन र व्यायामशाला निर्माण गर्नुपर्ने, विज्ञबाट देखाइएका समस्या समाधान गर्न स्वास्थ्य सचिवबाट टिप्पणी तयार भई स्वास्थ्यमन्त्री र प्रम हुँदै संसद्बाट समेत पारित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
सभामुख देवराज घिमिरले विज्ञको सुझावअनुसार क्यान्सर रोग नियन्त्रण र उपचारमा प्रतिनिधिसभाको सहयोग हुने उल्लेख गर्नुभयो ।
क्यान्सर रोगसँग लडेका समितिका सभापति दिलकुमारी रावल थापाको सभापतित्वमा भएको कार्यक्रममा क्यान्सर रोग लागेका बिरामीका परिवारको अनुभव सुदर्शन पौडेल र ढकराज कोइरालाले चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *