भर्खरै :

तेस्रो अध्याय समाजवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण

तेस्रो अध्याय समाजवादी समाजबाट साम्यवादी समाजमा सङ्क्रमण

सन् १९५८ मा यसको उत्पादन (औद्योगिक वस्तु) को मूल्य १.३ लाख यान बराबरको थियो । (अहिले चीनको मुद्रा एक युआनको १०–११ नेरु हो ।) सन् १९५९ मा बढेर ३९ लाख युआन पुग्यो । सन् १९६० को तीन महिनाभित्र पहिलेको भन्दा १७१ प्रतिशत बढेको छ ।
यस कम्युनमा २० ठुलो र ५० साना थोअर्र्साे (शिशुशाला) छन् । ती थोअर्साेहरूमा १९५९ सालमा १५०० नानीहरू मात्र थिए, तर यो साल ४,००० नानीहरू पुगे । यस कम्युनमा थोअर्साे झन्झन् लोकप्रिय हुँदै आएको छ र बालकहरूको सा¥है राम्रो हेरचाह हुन्छ । यस साल पेचिङको नर्सरी शिक्षाको प्रतियोगितामा यस कम्युनले धेरै राम्रो स्थान पाएको थियो ।
यस कम्युनको जम्मा ८२ सामूहिक भान्छाघर छन् । ८२ वटा सामूहिक भान्छाघरमध्ये १२ ठुला र ७० साना भान्छाघर छन् । यी भान्छाघरहरूमा ७००० भन्दा बढी मानिसहरूले खाना खान्छन् । पहिले पहिले सामूहिक भान्छाघरमा २००० जवानले मात्रै खाने गरेका थिए । तर पछि सामूहिक भान्छाघरको फाइदा थाहा भएपछि लोकप्रियता बढ्दै गयो । भान्छाघरहरू १०– २० जनादेखि लिएर १०० जनासम्म खान सक्नेछन् । यी डाइनिङ हलबाहेक २९ सर्भिङ सेन्टरहरू (खाना पु¥याउन जाने केन्द्रहरू) पनि छन् । विशेष गरेर बुढाबुढीको लागि घरमा खाना पु¥याउन जाने बन्दोबस्त छ ।
कम्युनको कारखानाहरूमा साधारण मालसामानहरूमा जुत्ता, कपडाजस्ता मालसामानहरू र ठुलठुला सामानहरूमा इलेक्ट्रिक प्रोडक्टर, एरोप्लेनशिपजस्ता वस्तुहरू उत्पादन हुन्छ । यी कारखानाहरूमा दस भिन्नाभिन्नै मालसामानहरूको उत्पादन हुन्छ । ती दस भिन्नाभिन्नै मालसामानहरूमा ६० किसिमका सानाठुला डिजाइनका छन् ।
उनी आफ्नो कम्युनको शिक्षाको प्रगतिको सम्बन्धमा भन्दै गइन्, “क्रान्तिभन्दा पहिले त यो ठाउँ अशिक्षाको गढ नै थियो । क्रान्तिपछि शिक्षाको प्रचार भए पनि अशिक्षितहरू ठुलो सङ्ख्यामा थिए । सन् १९५८ मा यस कम्युनको क्षेत्रभित्र २७०० अशिक्षित व्यक्तिहरू थिए र सन् १९६० मा जम्मा १०० जति अशिक्षित व्यक्तिहरू छन् । कम्युनले पहिले शिक्षाको प्रचारको सिलसिलामा मानिसहरूलाई साक्षर बनाउनमा सबभन्दा बढी जोड दियो । पछि राजनैतिक र आर्थिक शिक्षाको प्रचार गरियो । पहिलेका निरक्षरहरू अहिले अड्डाहरूको काम गर्छन्, कहानी र कविता लेखपढ गर्न सक्छन् । कम्युनको स्थापनापछि महिलाहरूमा राजनैतिक र आर्थिक शिक्षा स्तरमा विकास गर्नुको साथै उनीहरूले उत्पादनको काममा र घरेलु काममा पनि धेरै सुधार गरे† राजनैतिक र आर्थिक चेतनाले वास्तविक स्वतन्त्रतालाई बुझे । घरेलु व्यवहार पनि झन्झन् परिष्कृत हुँदै गए । यसरी उनीहरूले घरेलु दासताबाट मुक्त हुने कुराहरू बुझ्दै गए । जनता शिक्षित भएपछि उत्पादनका तरिकाहरू बदल्न र प्राविधिक ज्ञान हासिल गर्न सजिलो भयो । प्राविधिक ज्ञानले उत्पादनको तरिकालाई केही अंशमा सुधार ग¥यो । त्यसले गर्दा उत्पादनमा ८० प्रतिशत वृद्धि भयो ।”
कुराकानी सकेपछि हामी कम्युनका कारखाना, भान्छाघर, नर्सरी, बालोद्यान आदि ठाउँहरू हेर्न गयौँ ।
हामीले नजिकका केही कारखानाहरू घुम्यौँ । धेरैजसो कारखानाहरूमा महिलाहरू नै काममा लागेका देख्यौँ । जुत्ताको एक कारखानामा हामी पहिले गयौँ । मलाई आश्चर्य लाग्यो मेसिनले जस्तै महिलाहरू खुब छिटछिटो काम गरिरहेका थिए । सबै कामदार स्वास्नी मानिस नै थिए । उनीहरूले प्रतियोगिता गरिरहेका थिए । एक उत्पादक दलले दिनको १७२ जोर जुत्ता उत्पादन गथ्र्यो ।
त्यसपछि हामी घुम्दै इलेक्ट्रोनिक मेलो भोल्टेजको प्रयोगशालामा पुग्यौँ । त्यहाँ लोग्नेमानिस र स्वास्नीमान्छेहरू सा¥है होशियारीपूर्वक काम गरिरहेका थिए । उनीहरूको काम गराएको ढाँचा र अङ्ग–प्रत्यङ्गबाट थाहा हुन्थ्यो – उनीहरू कसैको दबाबले यसरी ध्यान दिएर काम गरिरहेका होइनन्, स्वेच्छाले हो । सबैको मुखमण्डलमा मैले हाँसो र सन्तोषका रेखाहरू देखेँ ।
त्यसपछि हामी नर्सरी र किनरगार्डेनमा पुग्यौँ । नर्सरीमा नानीहरूलाई खाना ख्वाइँदै थियो । किनरगार्डेनका नानीहरू स–साना चोपस्टीकले कचौराबाट खाना खान सिक्दै थिए । केही नानीहरू बाहिर खेलिरहेका थिए । नानीहरू स्वस्थ थिए । तिनीहरूका गाला पाकेका स्याउझैँ राता थिए । मैले सँगै बसेकी एक ‘दिदी’ सँग प्रश्न गरेँ, “यहाँका बच्चाहरू एकदमै स्वस्थ देखिन्छन्, के कुनै रोग लाग्दैन उनीहरूलाई ?” उनले हाँस्दै उत्तर दिइन्, “नानीहरूलाई रोग लाग्नुअघि नै हामी रोगको उपचार गछौँ ।” हाम्रो पोशाक देखेर नानीहरू आश्चर्य मानेर हेरिरहेका थिए । ‘दिदी’ हरू नानीहरूको हेरचाहमा व्यस्त थिए ।
हामी त्यहाँबाट सामूहिक भान्छाघर हेर्न गयौँ । भान्छाघर र त्यसको वरपरसम्म सफा थियो । चुलोबाट धुवाँ आइरहेको थिएन – खाना पकाउने काम विद्युतीय चुलोमा भइरहेको थियो । खाना पकाउने भाँडाहरू ठुल्ठुला थिए । प्रायः सबै चुला विद्युतीकरण भइसकेको थियो । चुलाका भाँडाहरूबाट बाफ आइरहेको थियो । भान्छामा काम गरिरहेका धेरैजसो मानिसहरू अधबैँसे लोग्नेमानिसहरू थिए । यहाँ कति प्रकारको खाना तयार हुन्छ भन्ने मेरो प्रश्नको उत्तरमा एकजनाले जवाफ दियो, “यहाँ जम्मा दस प्रकारका खाना तयार गरिन्छ ।”
हामी डुलेका कम्युनका सारा ठाउँ सफा थियो । बच्चादेखि वृद्धसम्म हँसिला थिए । यसरी पेचिङको एक सहरी कम्युनबाट बिदा लिएर हामी दिउँसोको अरु कार्यक्रमका लागि हिँड्यौँ ।
पश्चिमी झीलको लोक–कम्युनको एक फार्म
रेलमा बसेर हामी शाङ्घाईबाट हाङचाउको निम्ति हिँड्यौँ । रेलको बन्दोबस्त हेर्दा हामी छक्क प¥यौँ । हामीले भारतको रेल व्यवस्थापनमात्र देखेका थियाँै ।
सबै मानिसहरू आ–आफ्ना ठाउँमा नियमअनुसार बसेका थिए । मालसामान राख्ने ठाउँमा मालसामान राखिएको हुन्थ्यो । रेलभित्र खाने पिउने अलग्गै कोठा थियो । एक डिब्बा (कोठा) बाट अर्को कोठामा जान बाटो बनाइएको थियो । सबै यात्रीहरू आ–आफ्ना स्थानमा बसेर अखबार र किताब पढ्दै थिए ।
हरेक कोठामा १५–२० वटा मेचहरू बस्ने ठाउँहरू थिए । त्यसबाहेक त्यसको सँगै एउटा एउटा मेच थियो । एउटा एउटा टेबुलसँगै थियो । टेबुलमा चियाको बट्टा, कप र रिकापी अनि तातो पानी भरेको एकएक वटा थर्मस थियो । २–३ वटा स्थान (सीट) को बिचमा एउटा लाउडस्पिकर राखिएको थियो । रेलमै एउटा प्रसारण केन्द्र थियो । यात्रीहरूको मनोरञ्जनको निम्ति विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिरहन्थ्यो । क्रान्तिकारी गीत, समाचार, टिप्पणी आदि कार्यक्रम सुनाइरहन्थ्यो । समय–समयमा पेचिङ रेडियोको कार्यक्रमसँग जोडिदिन्थ्यो । प्रसारण केन्द्रले यात्रीहरूलाई रेल कति गतिले दगुरिरहेछ, हावापानीको स्थिति वा तापमान के कति छ, कुन जिल्ला वा सहरबाट रेल गुडिरह्यो आदि सूचनाहरू बेलाबेलामा दिँदै जान्थ्यो । कुनै कुनै सहर र जिल्लाको महत्वबारे पनि छोटो जानकारी दिइरहन्थ्यो । यस किसिमबाट प्रसारण केन्द्रले यात्रीहरूलाई रमाइलो बनाउँथ्यो । यदि प्रसारण सुन्न मन लागेन भने आफ्नो नजिकको लाउडस्पीकरलाई निभाउने या बन्द गरे हुन्थ्यो । खोल्ने र बन्द गर्ने स्वीच पनि सँगै राखिएको हुन्थ्यो ।
खाने बेला भयो भने प्रसारण केन्द्रले समय बताउँथ्यो, यात्रीहरूको लागि चाहिने आवश्यक सूचनाहरू दिइरहन्थ्यो ।
हामीले सुरुदेखि अन्तसम्म घुमेर हे¥यौँ । सबै कोठामा त्यस्तै राम्रो व्यवस्था थियो । विदेशीहरूको निम्ति राम्रो व्यवस्था होला भन्ने साथीहरू नाजवाफ भए । ५–६ घण्टाको यात्रापछि रेल हाङचाउमा बिसाइयो । १७ तारिखको दिन थियो । रेल्वे स्टेसनमा फेडरेसनका साथीहरू हामीलाई लिन पर्खिरहेका थिए । झमक्क साँझ परिसकेको थियो । एक होटेलमा लगियौँ । खाना खाइसकेपछि आराम ग¥यौँ । भोलिपल्ट बिहान फेडरेसनका साथीहरू आए । हाङचाउको कार्यक्रमबारे छलफल भयो । कार्यक्रम बन्यो ।
हाङचाउ चीनको सबभन्दा पुरानो सहरमध्ये एक हो । २१०० वर्ष पुरानो यसको इतिहास छ । यो चच्याङ प्रान्तको राजधानी हो । यसको क्षेत्रफल ३२०० वर्ग किलोमिटर छ । जनसङ्ख्या २२ लाख छ । हाङचाउ सहरको मात्रै जनसङ्ख्या ५ लाख ५ हजार थियो । इस्पात, फलाम, मेसिनरी वस्तु, रासायनिक वस्तु, लत्ता कपडा यहाँका औद्योगिक उत्पादन हुन् । रेशम, चिया, श्रीखण्ड, कपास, चामल, सनपात, धेरै किसिमका फलफुल आदि यहाँका खेती उत्पादन हुन् । हाङचाउ प्राकृतिक सुन्दरताले नै प्रसिद्ध थियो । श्रीखण्ड, रेशम र छाताको मसिना कालीगडीको यो केन्द्र हो । हाङचाउ सहरको सुन्दरताको केन्द्र नै सहरको पश्चिमतिरको ‘पश्चिमी ताल’ हो । त्यस पश्चिमी दहको लम्बाइ उत्तर–दक्षिण ३–३ किलोमिटर छ । पूर्व–पश्चिम चौडा २.८ किलोमिटर छ । गोलाइ १५ किलोमिटर छ । क्षेत्रफल ५.५९ वर्ग किलोमिटर छ । पानीको गहिराइ २ किलोमिटरसम्म छ । दहको बिचमा ठुलठुला टापुहरू पनि छन् । टापुहरूको बिचमा फेरि ताल या पोखरीहरू छन् ।
हाङचाउको तीनतिर हरिया पहाडहरू छन् । तालको बिचमा हरिया टापुहरू धपक्क फुलेका छन् । सिरीसिरी हावा बहिरहन्छ । हावाको हल्का हल्का स्पर्शले समेत तालमा स–साना लहरहरू उठ्छन् । एक किनारादेखि अर्को किनारासम्म लहरहरू पुग्छन् । स–साना लहरहरूसँग तालमा रङ्गीचङ्गी माछाहरू पौडिरहन्छन् । तालको चारैतिर वनकुञ्ज छ । जहाँतहाँ आँखै रमाउने हरियाली र राम्राराम्रा फूलहरू फुलेका छन् । हाङचाउका मसिना घाँसहरू गलैँचाभन्दा नरम र राम्रो छ । ठाउँ–ठाउँमा प्राचीन मन्दिरहरू छन् । ती मन्दिरहरू कलाले सजिएका छन् । हाङचाउलाई हामीले के नाउँ दिऊँ ? चिनियाँ जनता त्यसलाई भू–लोकको ‘स्वर्ग’ भन्थे । चीनको बिर्सनै नसकिने कुरामध्ये हाङचाउको सम्झना हो । साँच्चै त्यो हरियाली, पश्चिमी झीलका पानीमा खेलिरहेका लहरहरू, वनकुञ्जमा फुलिरहेका रङ्गीविरङ्गी फूल र चराचुरुङ्गीको चिरबिर, अनि स–साना फोहरा र झरनाहरू बिर्सन नसकिने छन् ।
भनिन्छ, पहिलेका चिनियाँ राजाहरूले त्यस सुन्दरतालाई पेचिङमा सार्न पैसाको खोलो बगाएका थिए– ‘ग्रीष्म दरबार’ बनाउन । पेचिङमा एक ‘ग्रीष्म दरबार’ छ । हाङचाउको पश्चिमी झीलजस्तै बनाउन त्यहाँ दक्षिणदेखि ढुङ्गाहरू ओसारिएको कथा सुनिन्छ । हुन त पेचिङको ‘ग्रीष्म दरबार’ पनि कम राम्रो छैन । तर, हाङचाउको ज्यान त्यसमा सार्न सकेको देखिएन ।
१८ जूनको दिनभरि पश्चिमी झीलमा बितायौँ । डुङ्गामा बसेर झील पार ग¥यौँ । वनकुञ्जहरू डुल्यौँ । चराचुरुङ्गीको गीत सुन्यौँ । खोलाको मधुरो कलकलमा नेपाल सम्झ्यौँ । गलैँचाजस्तो घाँसका चौरहरूमा लडीबुडी खेल्यौँ । हाङचाउमा १८, १९ र २० जूनसम्मको हाम्रो कार्यक्रम थियो ।
१९ तारिखको दिन थियो । कार्यक्रम पश्चिमी झीलको कम्युनको चिया खेतीको एक उत्पादक दल हेर्न जानु थियो । त्यो उत्पादक दल ड्रागनवेल (नागको इनार) गाउँमा थियो । उत्पादक दल या ब्रिगेड कम्युनको सबभन्दा तल्लो एकाइ या अङ्ग हुन्छ ।
पहाडको नागबेली बाटाहरू हुँदै कार एकपछि अर्को राम्रा राम्रा दृश्यहरू पार गर्दै गयो । कार विस्तारै एक गाउँको अगाडि अड्यो । २४–२५ वर्षका एक युवकले हात मिलाएर हाम्रो स्वागत गरे । उनी उत्पादक दलका सञ्चालक थिए । हामीलाई उनले उत्पादक दलको बैठकमा लगे । उनी हाङचाउको प्रतिनिधि भएर मस्कोमा भएको युवा महोत्सवमा भाग लिएका थिए । सोभियत सङ्घ, रुमानिया, पूर्वी जर्मनी, पोल्यान्ड आदि ठाउँको भ्रमण गरेर उनी फर्केका थिए ।
बैठक सफा सुग्घर थियो । तर, अरु कम्युनको बैठकको दाँजोमा सानो र चिटिक्क परेको थियो । कोठाको भित्ताहरूमा माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन र माओ त्सेतुङ आदि अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरूका फोटाहरू झुन्ड्याइएका थिए । सँगै चीनको राष्ट्रिय झन्डा र चिनियाँ नेताका तस्बिरहरू पनि झुन्ड्याइएका थिए ।
साथी सञ्चालकहरूले सुन्दर शब्दहरूबाट हाम्रो स्वागत गरे । त्यसपछि उनले आफ्नो चिया खेती उत्पादक दलको परिचय दिए । उनी परिचय दिँदै गए, “यो पश्चिमी झील (वेस्ट लेक) जनकम्युनको एक फार्म (खेती संस्था) हो । हाम्रो संस्थामा १३२ घर छन् । जनसङ्ख्या ५२६ छ । ५२६ जनसङ्ख्या आधा र पूरा दिन काम गर्ने सबै हिसाब गर्दा २०२ श्रमशक्ति छ । यस संस्थाको मुख्य उत्पादन चिया र फलफुल हो । यो फार्ममा ४५० माउ (एक माउ (mou) = १/१५ हेक्टर = १/६ एकड हुन्छ = तीन रोपनी) चियाको बगैँचा छ । यहाँको मुख्य उत्पादन लुङचिङ हरियो चिया हो ।”
हामी एक ठुलो टेबुलको चारैतिर बसेका थियौँ । सबैको अगाडि चिया पिउने भाँडो थियो । एक महिला कामदार साथीले चिया पिउने कपमा चिया थप्दै गइन् । भाँडोमा चियाका स–साना हरिया पातहरू पोखरीमा कमलको पातजस्तै तैरिरहेका थिए । भाँडोबाट मगमगाउँदो चियाको बासनाले वातावरणलाई मुग्ध पारिरहेको थियो । चिया पिउँदै गयौँ । साथी सञ्चालकको चियाको कपबाट वाफ माथि उडिरहेको थियो । आफ्नो टिपोटको कापी हेर्दै उनले आफ्नो फार्मको उत्पादनबारे बताउँदै गए, “क्रान्तिभन्दा पहिले यहाँको चिया उत्पादन सा¥है कम थियो । एक माउ खेतमा ४० क्याटिज (एक क्याटिज बराबर १.१ पाउन्ड . आधा किलोग्राम . २.५ साढे दुई पाउ हुन्छ ।) भन्दा बढी हुँदैनथ्यो । तर, सन् १९५८ को ‘लामो पाइला’ पछि एक माउमा १५२ क्याटिज उत्पादन भयो । कम्युनको स्थापनापछि एक माउमा २२२ क्याटिज र अहिले सन् १९६० मा एक माउमा ३०० क्याटिज उत्पादन हुन्छ ।”
विनम्र हुँदै उनले भन्दै गए, “चियाको उत्पादनमा मात्रा मात्र बढेको होइन कि चियाको गुण पनि राम्रो हुँदै गएको छ । क्रान्तिभन्दा पहिले असल चिया एक माउमा २ क्याटिज पनि हुन्नथ्यो । तर, सन् १९५८ मा यस क्षेत्रमा असल चिया ९०० क्याटिज उत्पादन गरियो । सन् १९५९ मा १५०० क्याटिज र १९६० सम्ममा २५०० क्याटिज उत्पादन भइसकेको छ । कम्युनको स्थापनाले सबै बन्दोबस्त भयो र त्यसले गर्दा उत्पादन पनि बढेको हो ।”
एकछिनपछि साथी सञ्चालकले चिया पिउन लागे । द्वेभाषी साथी श्री लिले उल्था गर्दै गए, “क्रान्तिभन्दा पहिले किसानहरूको जीवन सा¥है दुःखी थियो । त्यसबेला वर्षभरिमा एक परिवारले १०० युआन कहिल्यै कमाउन सक्दैनथ्यो । तर, क्रान्तिपछि सालाखाला ४ जवान भएको परिवारले वर्षमा सजिलैसित १०० युआनभन्दा बढी आम्दानी गर्नसक्ने भयो । १९५८ सम्ममा एक परिवारले ४५१ युआन आम्दानी गर्यो र १९५९ मा सालाखाला एक परिवारको आम्दानी ५०९ युआन पुग्यो । क्रान्ति र कम्युनको स्थापनाले किसानहरूको आम्दानी बढेको छ र जीवनस्तर उकासिँदै गएको छ ।”
म र मेरा साथीहरू ध्यान दिई सुनिरहेका थियौँ । फेडेरेसनका साथीहरू पनि मन लगाएर सुनिरहेका थिए । श्री लिले चुरोटको एक लामो सर्को ताने । धुवाँलाई फाल्दै चिया कारखानाको रिपोर्टलाई उल्था गर्दै गए, “देशको प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिको आन्दोलनपछि फार्मको काम अलि हलुका भयो । उत्पादन पनि धेरै छिटो बढ्न थाल्यो । प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिले चीनको उत्पादनका साधनहरूमा ठुलो हेरफेर र सुधार भयो । समाजवादको निर्माणको निम्ति उत्पादनको साधनहरूको मात्रा र गुणलाई फेर्नु आवश्यक थियो । (अर्थात् उत्पादनका ज्यावलहरूको धेरै आवश्यकता बढ्यो, त्यसबारे धेरै नयाँ नयाँ र राम्रो तथा सस्तोमा काम सिद्धिन्थ्यो, उत्पादन बढ्यो । प्राविधिक आविष्कार र प्राविधिक क्रान्तिको आन्दोलनभन्दा अघि दिनको २० क्याटिज मात्र चिया टिप्न सकिन्थ्यो । त्यस आन्दोलनपछि दिनको २०० क्याटिज चिया टिप्न सकियो । गएको साल यस फार्मले एक माउमा १८० क्याटिज उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर, उत्पादन १८० बाट बढेर २०२ क्याटिज पुग्यो ।”
चियाको एक घुटको पिएर साथी सञ्चालकले भन्दै गए, “हाम्रो फार्ममा अहिले एउटा भान्छाघर, एउटा शिशुशाला, एउटा बालोद्यान, एउटा उपचार केन्द्र र एउटा सहकारी पसल छ । पशुपालन गर्ने केही फारमहरू, एउटा चिया कारखाना र एउटा स्वचालित कारखाना छ । कम्युनिस्ट पार्टीले ‘दुवै खुट्टाले हिँड्ने’ ठुलो नीति लिएको छ । त्योअनुसार उत्पादन कार्य चल्दै छ । समाजवादको निर्माणको निमित्त खालि पुरानो वा नयाँ तरिकाले मात्रै उत्पादन गरेर हुँदैन । सारा जनताको माग एउटै तरिकाको उत्पादनले मात्रै पूरा गर्नसक्दैन । यसकारण, एकातिर स्वचालित नयाँ किसिमको उत्पादनको साधनले उत्पादन कार्य भइरहेको हुन्छ र अर्कोतिर पुरानो ढङ्गको हातको कामले उत्पादन भइरहेको हुन्छ । तर, उत्पादनका सबै साधनलाई अहिले आधा कलपुर्जा वा अर्ध–यान्त्रीकरण हुँदै छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *