भर्खरै :

२०८औँ माक्र्स जयन्ती तथा १३७औँ मे दिवस सम्पन्न

२०८औँ माक्र्स जयन्ती तथा १३७औँ मे दिवस सम्पन्न

भक्तपुर, २२ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा २०८ औँ माक्र्स जयन्ती तथा १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मङ्गलबार प्रशिक्षण कार्यक्रम भयो ।
उक्त प्रशिक्षण कार्यक्रममा नेमकिपाका केन्द्रीय सल्लाहकार हिमालश्वरलाल मूलले सहर विकास, उद्योग, कलकारखानाको स्थापना, फराकिलो बाटो र अन्य पूर्वाधारको विकासले देशको उर्वरभूमि कम गइरहेको उल्लेख गर्दै पुँजीवादको विकाससँगै सर्वहारावर्गको उदयले पुँजीवादको अन्त्य हुने विचार व्यक्त गर्नुभयो ।
मानव समाज वर्गसङ्घर्षमा आधारित हुने उल्लेख गर्दै उहाँले पुँजीपतिवर्गको सरकार रहेसम्म कामदारवर्गको हित हुनेछैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादको अन्तिम चरण समाजवाद हो । आज अमेरिकी साम्राज्यवादले संसारमै आफ्नो हैकम कायम गर्न आफूभन्दा कमजोर राष्ट्र, आफ्नो अधीनमा नबस्ने स्वतन्त्र राष्ट्रमाथि र समाजवादी राज्य व्यवस्था भएको राष्ट्रमाथि अनेक झूटा आरोप लगाई आक्रमण गरी आफू अनुकूल शासन गर्दै छ । तेल, ग्यास, सुन, हीरा कब्जा गर्ने उद्देश्यले अफगानिस्तान, इराक, सिरिया, भेनेजुयला र इरानमा आक्रमण गरियो ।
“अमेरिकाले युक्रेनलाई उक्साएर रुसमा र इजरायललाई सहयोग गरी प्यालेस्टिनमाथि नरसंहार ग¥यो । एक दिन साम्राज्यवादको अन्त्य हुनेछ र कामदारवर्गको समानताको राज्यव्यवस्था स्थापना हुनेछ” उहाँले भन्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य विश्वनाथ प्रजापतिले मजदुरको समस्या समाधान गर्न मजदुरहरू नै उठ्नुपर्छ र किसानको समस्या समाधान गर्न किसानहरू नै जुट्नुपर्छ भन्नुभयो ।
पुँजीपतिवर्गले श्रम शोषण गरेकै कारण पुँजीपतिवर्ग झन्झन् धनी भएको हो; गरिब झन्झन् गरिब भएको हो, उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “मे आन्दोलनले ८ घण्टाको काम र ज्याला वृद्धि गर्न सरकार बाध्य भयो । मजदुरहरूको बलिदान खेर गएन । सन् १८८९ मे १ को दिन एङ्गेल्सको उपस्थितिमा फ्रान्सको राजधानी पेरिसमा संसारकै मजदुर प्रतिनिधिहरू भेला गरी हरेक वर्ष १ मेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गरियो ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सदस्य सूर्यबहादुर फोजू, गंगाराम ज्याख्व र पूर्णगोपाल राजचललगायतले २०८ औँ माक्र्स जयन्ती र १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसबारे आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *