भर्खरै :

‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ पुस्तकबारे अध्ययन गोष्ठी

‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ पुस्तकबारे अध्ययन गोष्ठी

भक्तपुर, २२ वैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू’ पुस्तकमा समावेश मजदुर आन्दोलनहरूबारे अध्ययन गोष्ठी कार्यक्रम प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा मङ्गलबार सम्पन्न भयो ।
१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका सदस्य सृजना सैँजुले माक्र्सवादी दृष्टिकोण एवं सिद्धान्तका आधारमा सन् १९१७ मा विश्व प्रसिद्ध अक्टोबर समाजवादी क्रान्ति सोभियत सङ्घमा सफल भएको बताउनुभयो ।
माक्र्सवादी दृष्टिकोणअनुसार क्रान्ति सफल हुन क्रान्तिकारी पार्टी हुनु जरूरी भएको स्पष्ट पार्दै उहाँले वर्गसङ्घर्षबाट समाजवादी व्यवस्था स्थापना हुनेछ भन्नुभयो ।
कुनै पनि कुरालाई आलोचनात्मक ढङ्गले हेर्नु जरूरी भएको आवश्यकता औँल्याउँदै केन्द्रीय सदस्य सैंजूले परिवर्तन बहुसङ्ख्यक कामदार जनताको पक्षमा हुनु जरूरी छ भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौतमप्रसाद लासिवाले विश्वका विभिन्न देशमा सयौँ वर्षदेखि हुँदै आएका मजदुर आन्दोलनको अनुभव, महान् दार्शनिक कार्ल माक्र्स र एङ्गेल्सले प्रकाशन गर्नुभएको कम्युनिस्ट घोषणापत्र, सन् १८७१ को पेरिस कम्युन आन्दोलनको अनुभव र सन् १८८६ मा विश्वका मजदुरहरूको हक हितको निम्ति भएको मजदुर आन्दोलनबारे बताउनुभयो ।
कामदारमाथि हुने शोषणको सीमा नाघेपछि मजदुरहरूको अगुवाइमा विद्रोह हुनेतर्फ सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापति, अनिता च्वलेखो, सोना छुस्याबाग, राजकुमार साखकर्मी, रमिता सुवाल, अनिता न्हुछे, आरती लासिवा, संगिना नायजु र लिना लासिवाले पुस्तकमा समावेश मजदुर आन्दोलनबारे अध्ययनको सार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *