भर्खरै :

चिनियाँ भाषाका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम

चिनियाँ भाषाका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम

भक्तपुर, १४ फागुन । भक्तपुर नगरपालिकाद्वारा फागुन १५ गतेबाट सञ्चालन हुने चिनियाँ भाषा प्रशिक्षणको पहिलो र दोस्रो तहका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले चीनको तीव्रतर विकासबाट नेपालले लाभ लिन चिनियाँ भाषाको महत्वपूर्ण भूमिका भएको बताउँदै चीनलाई बुझ्न, अध्ययन अनुसन्धान, पर्यटन प्रवद्र्धन, व्यवसाय, उद्योग तथा व्यापार गर्न चिनियाँ भाषाको महत्व बढ्दै गएको बताउनुभयो ।
आर्थिक समृद्धिमा चीन अगाडि बढेसँग विदेश भ्रमण गर्ने चिनियाँ पर्यटकको सङ्ख्या पनि बढ्दै गएको बताउँदै उहाँले चिनियाँ पर्यटकसमेत नेपालमा आउने क्रम बढेकाले भाषाका पोख्त पथप्रदर्शकको नेपालमा अभाव रहेको हुँदा चिनियाँ भाषाको आवश्यकतालाई मध्यनजर गर्दै भक्तपुर नपाले हरेक वर्ष युवा–विद्यार्थीहरूलाई चिनियाँ भाषा पढाउँदै आएको स्पष्ट पार्नुभयो ।
नेपालले चीनसँग सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक एवम् व्यापारिक हिसाबले सहकार्य गर्दै आएको बताउँदै उहाँले चीनबाट नेपालले धेरै कुरा सिक्न र सहयोग लिन सक्ने भएकोले भाषा सिक्नु आजको आवश्यककता रहेको उल्लेख गर्नुभयो ।
भक्तपुरका जनताको जीवनस्तर उकास्न, आर्थिक गतिविधिलाई व्यापकता दिन र राजनीतिक चेतनास्तर उकास्न नगरपालिकाले विविध गतिविधि सञ्चालन गर्दै आएको बताउँदै प्रमुख प्रजापतिले प्रशिक्षार्थीहरूलाई जीवन र समाज उपयोगी ज्ञान हासिल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवाल, विनय हाडा र हरिलक्ष्मी दनेखूले भाषा अध्ययनको महत्व र सिकाइ उपलब्धिबारे प्रस्ट पार्नुभयो ।
उक्त कार्यक्रममा चिनियाँ भाषा तालिमका संयोजक दीपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।
चिनियाँ भाषा तालिम पहिलो तह (आधारभूत) को २ समूह र दोस्रो तह (एड्भान्स) को १ समूह सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *