भर्खरै :

तेस्रो अध्याय हाङचाउबाट शाङ्घाईको माछ्याऊ जनकम्युनमा

तेस्रो अध्याय हाङचाउबाट शाङ्घाईको माछ्याऊ जनकम्युनमा

एक छिन कुराकानी भयो र हामी कारखानातिर गयौँ । खलामा धान सुकाएजस्तै कारखानाको खलामा चियाका पातहरू सुकाउँदै थियो । झल्लमल्ल घाम लागेको थियो । कारखानाभित्र एक कुनामा मजदुरहरू चुलोमा चियापत्ता भुट्दै थिए । अर्कोतिर भुटिसकेको चियापत्तालाई ठुलठुला चाल्नीहरूमा चाल्दै थिए । बिचमा एक जना चिया मिलाउँदै थिए । चिया छान्ने तरीका आधा– कलपुर्जे ढङ्गको थियो । अरु काम हातले नै गरिरहेको थियो ।
हामी अर्को कारखानामा गयौँ । त्यो कारखाना स्वचालित थियो । चुलो तातिरहेको थियो । चियापत्ता खस्ने भाँडाबाट चिया खस्दै थियो । कराही जस्तो भाँडोमा चियापत्ता थुप्रिँदै थियो । कलपुर्जा आफैँ चियापत्तालाई पकाउने काम गथ्र्यो । अर्कोपट्टि भुटिसकेको चिया खस्दै जान्थ्यो । त्यहाँ त्यो छान्ने चाल्नी पुर्जामा खसेर चालिँदै जान्थ्यो । छानिएको चियापत्ता तयार भएको टीनमा भरिन जान्थ्यो ।
स्वचालित कारखानामा काम गर्ने मजदुरहरू थोरै थिए । उत्पादन भने पहिलेको कारखानामा भन्दा बढी र छिटछिटो भइरहेको थियो । हामीले चीनमा धेरै कारखाना हेर्यौँ, त्यसमध्ये धेरै मजदुरहरू काम गर्ने कारखाना चीनकै थिए । साथी सञ्चालकले अर्को वर्षमा सबै कारखाना स्वचालित बनाउने योजना भएको कुरो बताए ।
कारखानाबाट हामी चिया बारी हेर्न उकालो लाग्यौँ । १० मिनेट जति गएपछि ‘शाही चिया’ बारी पुग्यौँ । चियाबारी १५–२० गजको घेरा भएको एक खोँचमा थियो । त्यहाँ २–३ हात जति अग्ला अग्ला १८ वटा चियाका बोटहरू थिए । बोटहरूमा स–साना पातहरू झ्याम्म लागेका थिए । बारीको एक कुनामा काठको एक सानो पाटी ठडिएको थियो । त्यसमा रातो चिनियाँ अक्षर लेखिएको थियो, ‘चियाको राजा ।’
हाङचाउ फेडरेसनका सभापतिले हामीलाई ‘चियाका राजा’ को इतिहास बताउन थाले । ती चियाका बोटहरू पुरानै छन् । पहिलेका चीनका बादशाहहरू विदेशी राजाहरूलाई ती बोटका चिया कोसेली पठाउँथे । पहिले त्यो चिया जनताले उपभोग गर्न पाउँदैनथे ।
‘चियाको राजा’ कहाँ एकछिन आराम गर्यौँ । अनि फेरि हामी उत्पादक दलकै बैठकतिरै पुग्यौँ । बाटोमा एक बालोद्यान रहेछ । हामी त्यहीँ भित्रियौँ ।
बालोद्यानमा १५–२० जना नानीहरू थिए । एउटी दिदी तिनीहरूलाई केही सिकाउँदै थिइन् । हामी देख्नासाथै नानीहरूले ‘काका नमस्ते’, ‘सुसु हाऊ’ भनेर हात हल्लाउन लागे । हामीले हेरेका बालोद्योनहरूमध्ये यो सबभन्दा सानो थियो । अर्थात्, यसमा थोरै केटाकेटीहरू थिए । हामीसँग हात मिलाइसकेपछि केटाकेटीहरूले एउटा स्वागत गीत सुनाए । अनि हामी सबैले एकै स्वरमा भन्यौँ, “अर्को पनि !” दिदीको सङ्केत पाउनासाथै स–साना नानीहरूले गाए, ‘चीनको आकाशमा माओ त्सेतुङ, सूर्यजस्तो उदाउनुभयो ।’ नानीहरूका स्वरहरू सा¥है रहर लाग्दा र बोली तोते थिए । ४–५ जना नानीहरू यत्ति राम्रो मिलाएर सामूहिक गीत गाउन जानेकोमा सबै आश्चर्य मान्दै थिए ।
अब नानीहरू हामीसँग हात समातेर नाच्न आए । सामूहिक नाचमा पनि नानीहरू खप्पिसै थिए । हामीले अर्को एउटा गीत गाउन अनुरोध गर्यौँ । नानीहरूले मिलेशिया (जनसेना) को गीत गाएर सुनाए । गीत गाउँदै नानीहरू बन्दुक बोकेको र परेड खेलेको अभिनय गर्थे । गीतको अर्थ थियो, ‘संरा अमेरिकी साम्राज्यवादको हातबाट आफ्नो थाइवान मुक्त गर, आ–आफ्नो देश बचाउन एक होऊ, तयार होऊ ।’ बालोद्यानका नानीहरूको नाचगानमा चिनियाँ जनताको जीवन र उद्देश्य झल्किन्थ्यो । स–साना नानीहरू बडो जोशिएर साम्राज्यवादको विरोधमा गाएको गीतको हुँकार आज पनि मेरो मनमा गुञ्जिरहेको छ । साँचो हो, चीनका एक एक जना बालक पनि देशलाई पूर्ण मुक्त गर्न सङ्कल्पवद्ध हुने शिक्षाबाट दीक्षित हुँदै थिए ।
बालोद्यानका नानीहरूसँग बिदा लिई हामी फार्मकै बैठकमा पुग्यौँ । अँ हो ! केहीछिन सँगै बसेर नानीहरूसँग बिदा लिँदा छोड्न मन लाग्दैनथ्यो । सा¥है मायालु नानीहरू ! तिनीहरू हामीलाई साँच्चै आफ्ना काका र फुपूहरूलाई जस्तो माया गर्दै थिए ।
फार्मको बैठकमा पुगेर एकछिन उत्पादन दलबारे छलफल भयो । ‘शाही चिया’ खायौँ । मगमगाउँदो बासना, हरियो हरियो रङ्ग, चिटिक्क परेको चियाका पातहरू, मिठो स्वाद नै ‘शाही चिया’ थियो । तर, हामीमध्ये कोही पनि चियाका पारखी थिएनन् । ‘च्याउ खाए पो स्वाद पाउँथ्यो’ भन्ने जस्तै भयो । साथी सञ्चालकले सबैलाई चिया उपहार दिए । मैले सञ्चालक साथीसँग प्रश्न गरेँ, “यो ‘शाही चिया’ को विशेषता के हो ?” साथी सञ्चालकले जवाफ दिए, “राम्रो रङ्ग, मधुरो बासना, मीठो स्वाद र स–साना हिस्सी परेका चियाका पातका ढाँचा ‘शाही चिया’ को विशेषता हो ।” मेरो अर्को प्रश्नको उत्तरमा उनले भने, “यहाँको हावापानी आदिले नै यहाँको चियाको गुणलाई राम्रो बनाएको हो ।”
एकपछि अर्को प्रश्नउत्तर हुँदै गयो । प्रश्नकर्ताहरू सन्तुष्ट भए । पश्चिमी झीलको कम्युनको राम्रो प्रगतिको कामना गर्दै बिदा लियौँ । राम्रा–राम्रा दृश्यहरू हेर्दै हामी अगाडि बढिरह्यौँ । पहाडको टुप्पोमा ‘फिङ फङ’ (स्वास्थ्य निवास) थियो । त्यो मजदुरहरूको स्वास्थ्य निवास सा¥है रमाइलो ठाउँमा बनेको थियो । मोटर गएर स्वास्थ्य निवासको आँगनमा अड्यो ।
शाङ्घाईको माछ्याऊ जनकम्युन
१२ जून १९६० को दिन, चीनको एक विशाल औद्योगिक सहर शाङ्घाईको लागि रेलमा चढ्यौँ । १३ जून दिउँसो शाङ्घाईको रेलवे स्टेसनमा पुग्यौँ । स्टेसनमा शाङ्घाई विद्यार्थी फेडरेसनका साथीहरू स्वागतका लागि उपस्थित थिए । झमझम पानी परिरहेको थियो । मोटर बेतोडसित फराकिलो सडकको दायाँबायाँ गर्दै दौड्यो । झन्डै एक घण्टापछि मोटर शान्ति (Peace) होटलको अगाडि अड्यो । होटल नदी किनारमा थियो । होटलको एकातिर नदीमा सानासाना जहाजहरू तैरिरहेका थिए, अनि अर्कोतिर उँचो भवनहरूको बिचको साँघुरो देखिने सडकमा मोटर, ट्राम र अन्य बाहनहरू गुडिरहेका थिए । चारैतिरका उँचो भवनका चुचुराहरू आकाशमा बादलसँग खेल्न खोजिरहेका थिए ।
रातको आरामपछि फेडरेसनका अध्यक्ष ऊ थुङ मिङले शाङ्घाई सहरको इतिहास, उद्योग, शिक्षा र संस्कृति आदि विषयमा बताए । सेक्रेटरी लिङ च्युन हुले भोलिदेखिको हाम्रो कार्यक्रमबारे बताए तथा त्यसमा हाम्रो अनुमति मागे । त्यहाँ एक किसिमको गोष्ठी नै भयो । चिनियाँ चियाले सत्कार गरियो । टेबुलमा सलाइ र चुरोट, चुरोटको धुलो राख्ने भाँडाहरूमा पानी पनि थियो । चुरोट खान डाक्टरको अनुमति थिएन । चिनियाँ साथीहरूको सौहार्दपूर्वक गरेको अनुरोधलाई अस्वीकार गर्न गा¥हो थियो । चुरोटमा सलाइ बाल्दै लिङ च्युन हुले भने, “यहीँ बनेको चुरोटको यस्तै गोल्टीनमा बेलायती साम्राज्यवादीहरूले ‘बेलायतमा बनेको’ भन्ने कागज टाँसेर चिनियाँ जनता र अरु देशका जनतालाई पनि ठग्ने गर्थे । डुमोरीजस्ता स्तरीय चुरोट पहिले यहीँ बन्थ्यो तर बट्टामा लेखिन्थ्यो ‘बेलायतमा बनेको ।’
त्यस रातको २ घण्टाको चिनियाँ साथीहरूको व्यवहारले मैले उनीहरू धेरै सरल भएको अनुभव गरेँ । उनीहरूको व्यवहारले हामी धेरै प्रभावित भयौँ । छोटोमा शाङ्घाई चीनको एक ऐतिहासिक सङ्घर्षशील सहर हो । यो संसारको सबभन्दा ठुलो सहरमध्ये एक हो । सन् १८४० देखि ४२ सम्मको अफिम युद्धमा चीन हारेपछि शाङ्घाई बेलायती, फ्रान्सेली, अमेरिकी र जापानको उपनिवेश बन्यो । ती सबै साम्राज्यवादी देशहरूले शाङ्घाईलाई धेरै टुक्रामा विभाजित गरेर आ–आफ्नो कब्जामा राखेका थिए । तर, त्यहाँका कामदार, विद्यार्थी र तमाम जनताले साम्राज्यवादको विरोधमा निरन्तर सङ्घर्ष गर्दै गए । अन्तमा कम्युनिस्ट पार्टीको नेतृत्वमा १९४९ मे २८ को दिन शाङ्घाईलाई साम्राज्यवाद र प्रतिक्रियावादी च्याङको पञ्जाबाट मुक्त गरिएको थियो । शाङ्घाईको १२ जिल्ला र ११ काउन्टी छन् । शाङ्घाईमा जनसङ्ख्या एक करोडभन्दा बढी छ । यसको क्षेत्रफल ५९.१० वर्ग किलोमिटर छ । शाङ्घाई उद्योग, खेती, शिक्षा र संस्कृति आदि क्षेत्रहरूमा धेरै अगाडि छ । १४, १५ र १६ जूनमा शाङ्घाईको धेरै दर्शनीय ठाउँहरू हेर्यौँ र १७ जूनमा शाङ्घाई सहरको बाहिर ‘माछ्याऊ कम्युन’ हेर्न निस्क्यौँ ।
मोटर हावाको गतिमा कुद्यो । शाङ्घाई महानगरलाई मोटरले धेरै पछाडि छोडेर अगाडि निस्क्यो । समतल धरतीमा हरियाली लहलहराइरहेको थियो । सडकले विस्तारै आफ्नो रूप फेर्दै गएको अनुभव भयो । सडकको दुवै किनारामा राम्राराम्रा रुखहरूको लाम देखियो । फेरि रुखहरू पातलिँदै गयो र फूलबारीको सडक देखियो । रङ्गबिरङ्गी फूलहरू फुलिरहेका थिए । वातावरण सा¥है रमाइलो देखियो । मोटर आफ्नै गतिमा बढ्दै थियो । सडकको चौडाइ तीन चार भाग ‘लेन’ मा बाँडियो । आउने र जाने दुई भिन्न भिन्न बाटाको बिचमा फूलबारी अनि पेटी अगाडि फूलबारी, अनि पेटी आफैँ पनि फूलबारी थियो । सडकको दायाँ बायाँतिर टम्म मिलेका बिरुवाहरू रङ्गीचङ्गी फुलेका फूलहरू सानासाना फोहरासहितका पोखरीहरू, अनि ससाना कृत्रिम पहाडबाट झरेका छहराहरू देखिए । पोखरीहरूमा रङ्गबिरङ्गी माछा बिचबिचमा आराम गर्ने गलैँचाजस्तो मसिनो हरियो घाँसका मैदानहरू र सडकभन्दा पनि पार्कहरू देखिए । ट्रामले हामीलाई नाघेर गयो । मोटर फेरि हावाकै गतिमा कुद्यो ।
सडकको दुवैतिर धानका बालाहरू झुलेका दृश्यहरू देखिए । आँखैले नभेट्ने समतल धानका बालाहरूको बिचबिचमा हावाको बेगले अनेक आकार लिएको देखियो । झण्डै २ घण्टापछि मोटरले आफ्नो गति कम गर्न थाल्यो । मोटरको झ्यालबाट चियाएँ, अलि पर केही घरहरू देखिए । एकछिनपछि दुवै मोटर एउटा भवन अगाडि अड्यो । मोटरको ढोका खुल्यो, २५–२६ वर्षका एक युवकले हात मिलाए । मिस लि वाँ शाले उनको परिचय दिँदै भनी, “उहाँ का. च्याइङ मिङ हुनुहुन्छ । का. च्याइङ मिङ यस कम्युनको शिक्षा र संस्कृति विभागका प्रमुख (इन्चार्ज) हुनुहुन्छ ।” मिस लि वाँ शा दुडछी विश्वविद्यालय, शाङ्घाईका एक प्राविधिक विषयका विद्यार्थी हुन् । उनी हामीलाई द्वेभाषीको काममा मदतको लागि आएकी थिइन् ।
ठाउँ माछ्याऊ कम्युनको केन्द्र थियो । शिक्षा र संस्कृति विभागको एक लाम्चो (बैठक) कोठामा पुग्यौँ । घर सानो थियो, तर नयाँ शैलीको । त्यस भवनमा ठिक्कको ८–९ कोठाहरू थिए । घर भुइँतले र चिनियाँ झिङ्गटी छाएको थियो । बैठकको दक्षिणतिर बरन्डा थियो, पूर्वतिरको भित्तामा अध्यक्ष माओ त्सेतुङ र राष्ट्रपति ल्यू शाऊ चीका ठुलठुला तस्बिरहरू झुन्ड्याइएका थिए र बैठकको पश्चिम दिशामा भित्र आउने ढोका थियो । हामी टेबुलको चारैतिर बस्यौँ । हामी नेपाली र भारतीय साथीहरू गरी पाँच जना र द्वेभाषी मि.ली, मिस् लि वाँ शा र फेडेरेसनका साथीहरू ऊ थुङ मिङ र लिङ चुन हु गरेर जम्मा ९ जना थियौँ । पूर्वतिरको टेबुलको चौडाइतिर का. च्याइङ मिङ बसे । १८–२० वर्षकी दुई महिला साथीहरूले चिया ल्याए । चीन एउटा बहुजातीय र फरकफरक हावापानी भएको विशाल देश भएर पनि जाडो होस् या गर्मीमा तातो पानी पिउने र खाली चिया पिउने चलनमा एकरूपता थियो ।
का. च्याइङ मिङले आफ्नो स्वागत भाषणमा नेपाली र भारतीय साथीहरूलाई कम्युनमा स्वागत गर्न पाउँदा ज्यादै खुसी लागेको बताए तथा कम्युनको उन्नतिको विषयमा पाहुनाहरूलाई सुनाउन पाउँदा आफूलाई ज्यादै सन्तोष लागेको पनि बताए । हाम्रो कम्युनको बारे चाख लिनुभएकोमा हामी तपाईँहरूप्रति आभारी छौँ ।
“यो जनकम्युनको नाउँ ‘माछ्याऊ रेन–मिन कुँशो’ हो । यसको स्थापना २९ सेप्टेम्बर १९५८ मा भएको हो । यो माछ्याऊ जनकम्युन ३३ वटा खेती उत्पादक सहकारी संस्थाहरू मिलेर बनेको हो । यसमा १० हजारभन्दा बढी परिवार छन्, यसको कुल जनसङ्ख्या ५० हजार छ । यसमा जम्मा ७२ हजार मू जग्गा छ । (एक मू बराबर ३ रोपनी जति हुन्छ ।)
क्रान्तिभन्दा पहिले यो ठाउँको ७० प्रतिशतभन्दा बढी जग्गा जमिनदारहरूको हातमा थियो । जग्गाविहीन किसानहरूले बाध्य भएर जमिनदारहरूको जग्गा जोत्नु पर्दथ्यो । फेरि बाढी, सुख्खा, असिना, कीरा पर्ने आदि प्राकृतिक प्रकोपले बा¥ह वर्षमा एक वर्षमात्रै साबुत बाली काट्न पाउँथे । किसानहरू भोकभोकै मर्थे र आफ्नो पेटको लागि बालीनाली गर्न जमिनदारहरूसँगै कर्जा लिन बाध्य हुन्थे । जमिनदारहरूले बढी ब्याज र बढी कुत लिएर सा¥है अन्याय गर्थे । बाबु बाजेदेखिको कर्जा, बढी तिरो र चर्को ब्याजले किसानहरूको टाउकोमाथि सधैँ ३ वटा नाङ्गा तरबारहरू काँचो धागोमा झुण्डिरहेको हुन्थ्यो । त्यस्तै तीनवटा मात्रै उनीहरूको लागि बाटो खुलेको हुन्थ्यो – मागेर खानु, आत्महत्या गर्नु र जेल जानु ।
यसरी क्रान्तिभन्दा अघि यहाँका किसानहरू साहै नराम्रोसँग शोषित थिए । तर, कम्युनिस्ट पार्टीको नेतृत्वमा भएको क्रान्तिले यस्तो अत्याचारी जमिनदारी व्यवस्थालाई जरैदेखि उखेलेर फ्याँक्यो । १९४९ मा क्रान्ति सफल भएपछि अध्यक्ष माओ र कम्युनिस्ट पार्टीको नेतृत्वमा भूमिसुधार भयो । यहाँका सबै किसानहरूले जग्गा पाए । १९५२ मा पारस्परिक सहयोग दलको स्थापना भयो र १९५४ मा प्राथमिक खेती उत्पादक सहकारी संस्थाहरूको स्थापना भयो । १९५६ मा कम्युनिस्ट पार्टी र अध्यक्ष माओकै आह्वानमा अगाडि बढेको खेती सहकारी संस्थाहरूको स्थापना भयो, जो पूर्ण समाजवादी ढङ्गको थियो ।
खेती सहकारी संस्थाहरूले मात्रै ठुलठुला पानी पोखरी (रिजरभायर), ठुलठुला नहरहरू वा ठुलठुला योजनाहरू बनाउन सक्दैनथे । सहकारी संस्थाहरूसँग आवश्यक पुँजी, श्रमशक्ति र साधनहरूकोकमी हुनथ्यो । १९५८ भन्दा अघि नै देशभर राजनैतिक सुद्धीकरण आन्दोलन चलायो । त्यस आन्दोलनमा पुँजीवादी अथवा समाजवादी कुन बाटो देशले अङ्गाल्ने हो भन्नेबारे व्यापक छलफल भयो । त्यस राजनैतिक शुद्धीकरण आन्दोलनले जनतामा राजनैतिक चेतना बढायो र खेतीमा समाजवादीकरण गर्ने प्रेरणा पनि दियो । तर, सहकारी संस्थाहरूले मात्रै ठुलठुला योजनाहरू लागू गर्न र खेतीमा समाजवादीकरण गर्न नसक्ने हुँदा अध्यक्ष माओको समर्थनमा स्थापना भएको हुनानको ‘स्पुत्नीक कम्युन’ बाट प्रेरणा पाएर यहाँ पनि १९५८ को सेप्टेम्बर महिनामा कम्युनको स्थापना भयो । त्यसमा अध्यक्ष माओको बलियो समर्थन थियो ।”
का. च्याइङ मिङ बिचबिचमा टिपोट हेर्दै भन्दै जान्थे र मि. ली र मिस लि वाँ शाले अनुवाद गर्दै जान्थे । हामी आफ्नो टिपोट कापीमा लेख्दै जान्थ्यौँ र चिया पनि बिचबिचमा पिउँदै गयौँ । उनले आफ्नो कम्युनको प्रगतिको विषयमा भन्दै गए, कम्युनको स्थापनापछि यहाँ सा¥है स–सानामात्रै बाढी आयो । तर, पनि एक वर्षमा एक माऊ (मू) मा ४३ क्याटीज उत्पादन बढ्यो । क्रान्तिभन्दा पहिले यो ठाउँमा ३ माऊ (मू) मा १ औस मात्र उत्पादन हुन्थ्यो । यहाँको जग्गा धान र तोरीको लागि धेरै उपयुक्त छ । क्रान्तिपछि उत्पादन बढ्दै गयो र १९५७ मा एक माऊ (मू) मा ९० क्यारीज धान उत्पादन भयो । कम्युनको स्थापनापछि श्रम, जल, मल, हलको सुव्यवस्थित प्रयोग र व्यवस्थित प्रवन्धले उत्पादन झन्झन् बढ्दै गयो । कम्युन स्थापनाको सुरुको वर्षमा अर्थात् १९५८ मा एक माऊ (मू) मा ११८ क्याटीज उत्पादन भयो र १९५९ मा ११८ क्याटीजबाट २५१ क्याटीजसम्म पुग्यो । यसरी क्रान्तिभन्दा अघि र क्रान्तिभन्दा पछिको उत्पादनमा धेरै फरक देखियो र कम्युनको स्थापनापछि त उत्पादमा झन् तीव्रगतिले वृद्धि भयो । पहिले यो ठाउँको उत्पादन आफ्नो लागि मात्रै पुग्थ्यो । तर, अहिले आफू (स्थानीय जनता) लाई राखेर पनि २ करोड क्याटीज धान सरकारलाई दिन समर्थ भयो । खेतीको उत्पादनमा जस्तै पशुपालन र हाँसकुखुरा पाल्ने काम (पोल्ट्री फार्म) मा पनि कम्युनले धेरै प्रगति गरेको छ । १९५९ भन्दा अहिलेसम्ममा सुँगुर दुगुना बढेको छ र कुखुरामा १९५८ भन्दा १९५९ मै तीन गुणा बढेको थियो ।
यस्तै तरकारी खेतीमा पनि यस कम्युनले धेरै राम्रो प्रगति गरेको छ । यस प्रकारको प्रगति यो ठाउँको इतिहासमा कहिले पनि भएको थिएन । तरकारीको उत्पादनमा भएको प्रगति देखेर स्थानीय ज्येष्ठ नागरिकहरू आश्चर्य मानेर भन्छन्, “यस्तो उत्पादन हामीले आफ्नो जीवनमा कहिले पनि देखेका थिएनौँ, न त कहिले सुनेकै थियौँ ।”
“फलफुलको लागि कम्युनले यस साल १५०० माऊ (मू) जग्गा बढाएको छ । त्यसले उत्पादनमा धेरै गुणा वृद्धि गर्नेछ र अर्को साल हामी तपाईँहरूलाई फलफुलले मात्रै स्वागत गर्नसक्नेछौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *