भर्खरै :

गाजाको विनाश : समस्या राजनीतिक होइन वैचारिक हो

गाजाको विनाश : समस्या राजनीतिक होइन वैचारिक हो

प्यालेस्टिनीहरूको देश वा राज्य छैन भन्नु समस्या होइन, समस्या यहुदीवाद स्वयम् हो ।
जातिवादी विचारधाराको रूपमा यहुदीवादले इजरायललाई परिभाषित गरेसम्म र प्यालेस्टिनीहरूमाथि त्यो परिभाषा लादेसम्म प्यालेस्टिनीहरूको अलग्गै राज्य भए पनि के काम ?
यस विचारधाराले प्यालेस्टिनमा यहुदीहरूको शुद्ध रगतको कुरा गर्छ र त्यहाँका भूमिपुत्र वा रैथाने जनताको घाँटी अचानोमा राख्दै आएको छ । यहुदी मात्रको राज्य बनाउनको लागि प्यालेस्टिनका लाखौँ जनतालाई निर्वासनमा पठाइयो; लाखौँलाई मारियो; घाइते र बन्दी बनाइयो ।
यहुदीवादलाई ‘सुधार्ने’ वा ‘टाल्ने’ होइन; त्यसलाई जरैबाट उखेल्नु र परास्त गर्नुपर्छ । त्यसो नगरेसम्म दुई राज्य समाधानमात्र होइन एक राज्य समाधान समेत सम्भव छैन ।
गाजामा इतिहासमै नगरिएको सङ्ख्यामा जनता मारिँदै छ । तर, पश्चिमा राजनीतिज्ञहरूले अहिले आएर अलग्गै प्यालेस्टिन राज्यको आवश्यकता महसुस गर्दैै छन् । तर, अहिले नै किन ? जब कि इजरायलले शान्तिपूर्ण सहअस्तित्वका प्रत्येक सम्भावनाको ढोका थुन्दा यिनै राजनेता र तिनका सरकारले मौन बस्ने वा इजरायललाई जोगाउने काम गरेका थिए ।
त्यसैले तिनीहरूको अनुभूति नैतिक छैन । बरु जनताको ध्यान मोड्न उनीहरू यस्तो कुरा गर्दै छन् । उनीहरू समस्या समाधानका लागि आफ्नो सक्रियता देखाउन चाहन्छन् । जब कि यही बेला इजरायलले व्यवस्थितरूपमा प्यालेस्टिनी जनतालाई नस्ट गर्दै छ ।
प्यालेस्टिनका लागि राष्ट्रसङ्घीय निकाय उन्राका पूर्व अधिकारी क्रिस गनेसले गाजाविरुद्ध इजरायली युद्धबारे भने, “टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको यो मानव इतिहासकै पहिलो जातिसंहार हो ।”
जातिसंहार अहिले झन्झन् विकराल बन्दै छ । प्यालेस्टिनीहरू इजरायली गोली र बमले मात्र मरिरहेका छैनन् । उनीहरू भोकले मर्न थालेका छन् । यसबाहेक रोग र दूषित पानीका कारण झन् धेरै मर्दै छन् ।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनजस्ता नेताहरू ‘दीर्घकालीन शान्ति’ का निम्ति प्यालेस्टाइनलाई एउटा राज्यको मान्यता दिनु ‘अत्यन्त महत्वपूर्ण’ भएको कुरा गर्दै छन् । गजब छ उनको भनाइ । दिनदिनै बाँच्नका लागि दौडधुप गरिरहेका प्यालेस्टिनी जनतालाई यस्ता रित्ता पश्चिमा वाचामा चासो छैन ।
गाजामा जारी जातिसंहारले समस्या राजनीतिकमात्र होइन, बरु विचारधारात्मक हो भन्ने बताइरहेको छ । यस्तो बेला पश्चिमा नेताहरू ‘दीर्घकालीन शान्ति’ को कुरा गर्दै छन् भने इजरायलले हिंसा र जातिभेदमा आधारित व्यवस्थाका जरा झन्झन् गाड्दै छ ।
“पर्खालबाट आइमाई र केटाकेटी घुस्ने स्थिति स्वीकार्य हुनसक्दैन । घुस्न सक्ने जोकोहीलाई गोली ठोक्नुपर्छ,” फेब्रुअरी १२ गते इजरायली राष्ट्रिय रक्षामन्त्री इतमार बेन–गभिरले भने ।
गाजामा हिंसाको ताण्डव छ । युरो–मेड मोनिटर नामक मानवअधिकारवादी संस्थाले फेब्रुअरी १२ मा एउटा प्रतिवेदन सार्वजनिक ग¥यो । प्रतिवेदनमा लेखिएको थियो – इजरायली नागरिकहरूको १०–२० जनाका विभिन्न टोलीलाई भित्री लुगा मात्र लगाएका प्यालेस्टिनी कैदी र बन्दीलाई खिसी गर्दै हेर्न र भिडियो बनाउन अनुमति दिइएको थियो । इजरायली सैनिकले ती प्यालेस्टिनीहरूलाई यातना दिइरहेको वा दुव्र्यवहार गरिरहेको बेला यस्तो काम हुन्थ्यो । यस्तो कर्तुतको कुनै सुसङ्गत राजनीतिक कारण हुनसक्दैन ।
जातिसंहार गर्न उक्साउने भाषा, जातिसंहार र अझ ठुलो जातिसंहार गर्ने धम्कीजस्ता कार्यहरूको जरा सुसङ्गत राजनीतिक सिद्धान्तमा छैन, बरु यहुदीवादमा छ ।
समस्या झन् कस्टकर हुँदै छ किनभने हामी समस्यालाई सिधै समाधान गर्न हिच्किचाइरहेका छौँ । वास्तवमा धेरै मानिसहरू उल्टो काम गर्दै छन् । उदाहरणको लागि, पश्चिमा सरकारहरूले यहुदीवादको आलोचना गर्नु समस्त यहुदीहरूकै विरोध गर्नु हो भन्ने कानुन बनाएका वा बनाउँदै छन् । फेसबुकसमेत इजरायलको आलोचनामा गरिने ‘यहुदीवाद’ शब्दको प्रयोगमाथि प्रतिबन्ध लगाउन चाहन्छ ।
इजरायली सम्पदामन्त्री एमिचे एलियाहुले नोभेम्बर ५ मा गाजामाथि एउटा आणविक बम खसाल्ने धम्की दिए । अनुचित भाषा प्रयोग गरेको हुनाले धेरैले उनको निन्दा गरे तर उनको विचारको विरोध गरेनन् । इजरायलको अन्तर्राष्ट्रिय छविलाई नोक्सान गरेकोमा केही इजरायली अधिकारीहरूले एलियाहुको आलोचना गरे ।
एलियाहुले आवेगमा बोलेका थिएनन् । उनले बुझेरै बोलेका थिए किनभने त्यसयता गाजामा इजरायली व्यवहार हेर्दा प्यालेस्टिनीहरूलाई ठुलो सङ्ख्यामा मार्ने यस्तो चाहना वास्तवमै छ भन्ने स्पष्ट हुन्छ ।
अस्तित्वका लागि यहुदीवादी जे पनि गर्न तयार छन् र तिनीहरूको अस्तित्व शत्रुको समूल अन्त्यमा छ । तिनीहरू आफूले मानिआएको शत्रुलाई बौद्धिक, राजनीतिक वा सांस्कृतिक अर्थमा मात्र ‘मेट्न’ चाहेका होइनन्, बरु भौतिकरूपमै तिनीहरू प्यालेस्टिनीहरूलाई नष्ट गर्न चाहन्छन् ।
यही उद्देश्यका लागि सन् १९४८ मा एउटा गम्भीर प्रयोग गरियो । प्यालेस्टिनमा जातीय सफाया मच्चाइयो र त्यसलाई नक्बा भनियो । तर, ‘शत्रु’ ठानिएको प्यालेस्टिनी राष्ट्र जीवित रह्यो र प्रतिकार गरिरह्यो । उसले आफ्नो साझा अधिकार मागिरह्यो । यसैकारण, प्यालेस्टिनी जनतालाई जातीय सफाया गर्नुपर्ने आवाज आज प्यालेस्टिनी राजनीतिक मुद्दाको मूलधारमा फर्केको हो ।

नेतन्याहुसँग बेलायती विदेशमन्त्री डेभिड क्यामरुन

गाजामा चलिरहेको युद्ध प्यालेस्टिनी जनतालाई नष्ट गर्ने आजसम्मकै सबैभन्दा घातक प्रयास हो । त्यसैले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारले यस युद्ध चलाइरहन चाहन्छ । एकातिर, तिनीहरू हत्याहिंसा निरन्तर चलिरहोस् भन्नेमा छन् । यसकारण, प्यालेस्टिनीहरू मारिरहन चाहन्छन् । अर्कोतिर, पहिलेका यहुदीवादी नेताहरूले ७५ वर्षदेखि गरिरहेको काम टुङ्ग्याउने यो सबैभन्दा ऐतिहासिक मौका हो भन्ने पूर्ण हेक्का उनीहरूलाई छ ।
वास्तवमा यो युद्धलाई इजरायलले खालि गाजापट्टीको साँघुरो सीमाभित्र समेटिएको ठान्दैन । ऊ यसलाई जहाँतहीँका प्यालेस्टिनीहरूविरुद्धको युद्ध ठान्छ । गाजामा खुट्टा जमाउँदाबित्तिकै इजरायलले पश्चिम किनारतिर आँखा लगाउनेछ । त्यसपछि उसले इजरायलभित्रै बसिरहेका लाखौँ प्यालेस्टिनीहरूलाई तारो बनाउनेछ ।
यो युद्ध सुरु हुनुअघि इजरायलले खासगरी पश्चिम किनारमा बसोबास गर्ने प्यालेस्टिनीहरूविरुद्ध विषवमन गरिरहेको थियो । त्यहाँको एकतिहाइ भूमि कब्जा गर्ने लक्ष्य घोषणा नै गरेको थियो । यो कुरा दिमागमा राखिरहन जरुरी छ ।
इजरायलभित्रै बस्ने प्यालेस्टिनी अरबहरूविरुद्ध घृणा फैलाउने र तिनको हकअधिकार घटाउँदै लग्ने उद्देश्यका साथ इजरायलले सरकारी तहमै एउटा बलियो अभियान चलाइरहेको थियो । यो अभियानका ऐतिहासिक जरा छन् । तर, सन् २०२१ को मे महिनामा प्यालेस्टिनीहरूले इन्तिफादा आन्दोलन चलाएपछि देखिने गरी यो अभियानले ठाउँ पाएको थियो । त्यति नै बेला इजरायलले प्यालेस्टिनीहरूको ‘विभाजन’ राजनीतिकमात्र भएको र एक राष्ट्रका रूपमा प्यालेस्टिनीहरूबिचको सम्बन्ध अझ प्रगाढ बनेको भेउ पाएको थियो ।
त्यसकारण, २०२२ डिसेम्बरमा मन्त्री पदमा दाबी गर्नुअघि बेन–गभिरले राष्ट्रिय गार्डको जिम्मा खोजेका थिए । त्यहाँ ‘सुशासन स्थापित गर्नुपर्ने आवश्यकता रहेको’ उनको भनाइ थियो ।
गाजा पराजित भएका खण्डमा प्यालेस्टिनका अन्य स्थानमा बसिरहेका समस्त प्यालेस्टिनीहरू इजरायली हिंसा, जातीय सफाया र आवश्यक परे जातिसंहारको नयाँनयाँ तारो बन्दै जानेछन् ।
यी सबै मुद्दालाई रचनात्मक राजनीतिक समाधानको खोजीमा मात्र सीमित गर्न खोजिन्छ र प्यालेस्टिनी जनतालाई आशाको झूटो पुरिया मात्र हुनेछ । यस्तो खोजी अवस्तुगत वा कुटिल मात्र होइन, वास्तविकताबाट मानिसहरूको ध्यान मोड्ने प्रयास पनि हो । समस्याको मूल जड इजरायलको यहुदीवादी विचारधारामा छ ।
अन्य सम्पूर्ण जातिवादी औपनिवेशिक विचारधाराजस्तै यहुदीवाद पनि आफूले उपनिवेश बनाएको भूमिका रैथाने जनतासँगको सम्बन्धमा कत्ति पनि उदार छैन । यहुदीवाद एउटै सूत्रमा चल्छ – जातीय सफाया र जातिसंहारको माध्यमबाट पूर्ण वर्चस्व कायम गर ।
‘दीर्घकालीन शान्ति’ का लागि यहुदीवाद खतम हुनुपर्छ ।
अनुवाद : सम्यक
स्रोत : एमआर अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *