यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
बिहानीको सुभप्रभात सँगै सरसफाइ तथा शनिबारका नियमित कार्य सकेर निर्धारित योजनाअनुसार शङ्कर आचार्य र म लिबाली भक्तपुरतिर लाग्यौँ । आज बाल विकास सेकेन्डरी स्कूलको छत्तिसौँ वार्षिकोत्सव समारोह थियो । भक्तपुर नगरपालिका वडा नं. ८ लिबालीमा २०४४ सालमा निजी शैक्षिक गुठीको रूपमा स्थापना भएर सञ्चालित यस विद्यालयले न्यूनतम शुल्कमा उच्चस्तरीय र गुणस्तरीय शिक्षा दिएर आफ्नो विशिष्ट पहिचान प्राप्त गरेको रहेछ । भक्तपुर आएको बेला बाल विकास स्कूलको ३६ औँ वार्षिकोत्सवमा उपस्थिति हुन पाएकोमा गर्व महसुस गर्दै स्कूल पुगियो । आजभन्दा ३६ वर्ष पहिले शिक्षाप्रेमी अग्रज बुद्धिकुमार गोसाईको अगुवाइमा स्थापना भएको यो स्कूल स–साना घरको कोठाबाट पठनपाठन सञ्चालन गरेर अगाडि बढेको रहेछ । इतिहासले ३३ वर्षलाई एक पुस्ता भन्छ । यसरी हेर्दा दोस्रो पुस्ताको नेतृत्वमा स्कूल चलिरहेको देखिन्छ । नेपाल मजदुर किसान पार्टीका नारायणमान बिजुक्छेँले ‘सय वर्षपछिको भक्तपुर’ मा १५ वर्षपछि ‘एक घर एक स्नातक’ बनाउने अभियानलाई सार्थक बनाउने उद्देश्यले यो स्कूल अगाडि बढेको देखिन्छ । भक्तपुरले विगतदेखि नै शिक्षाको क्षेत्रमा नेतृत्व गरेको कुरा २६०–७० वर्ष पहिले तात्कालिक गोरखाका राजकुमार पृथ्वीनारायण शाहले समेत पाँच वर्षसम्म भक्तपुरमै लालनपालन र शिक्षादीक्षा लिएको कुरा इतिहासकारहरू बताउँछन् । गौरवमय इतिहास भएको भक्तपुर मध्यावधि समयमा शिक्षा क्षेत्रमा खस्किएर ‘एसएलसी पास नभए भक्तपुर जानू’ भन्ने बदनाम र कलङ्क लाग्ने अवस्थामा समेत पुगेको देखिन्छ । विगतको शैक्षिक विरासत कायम राख्न तत्कालीन समयमा देखिएका कलङ्कलाई मेट्न भएका अनेकौँ प्रयासहरूमध्ये एउटा बाल विकास स्कूलको स्थापना पनि देखिन्छ । “शिक्षा समाजको ज्योति, चेतना, परिवर्तन, व्यवहार हो, समाजको आशा, विश्वास, भरोसा र भविष्य हो भने शिक्षक धैर्य, सङ्घर्ष, सेवा, त्याग, समर्पण र इमान हो” भन्ने आदर्शलाई आत्मसात गर्दै यो स्कूलको स्थापना भएको देखिन्छ । गरिब तथा कामदार जनताको लागि सेवामूलक नाफारहित निजी गुठीको रूपमा सञ्चालित यो स्कूल शिक्षा क्षेत्रको नविनतम नयाँ मोडलको हो । अति महँगो निजी शिक्षा र थला परेको लथालिङ्ग सार्वजनिक शिक्षाको बिचको बाटो वा सबै पक्षको साझा मोडेलको रूपमा बाल विकास स्कूललाई लिन सकिन्छ । यो मोडेलका बारेमा थप बहस र छलफल आवश्यक देखिन्छ ।
चिनियाँ भनाइ छ, यदि एक वर्षको योजना बनाउने भए धान रोप्नु, दस वर्षको योजना बनाउने भए रुख रोप्नु र यदि सय वर्षको योजना बनाउने भए बालबालिकालाई शिक्षा दिन । छत्तीस वर्षपहिले रोपेको बिरुवाले अहिले शीतल छहारी र फल दिइरहेको प्रस्टै देखियो ।
वार्षिकोत्सवको तयारी हुँदै थियो, विभिन्न प्रकारका सङ्गीतले आनन्द दिइरहेको थियो । कार्यक्रम सुरु हुनुपूर्व स्कूलको भौतिक अवस्थाको अवलोकन गरियो । तहगत छुट्टाछुट्टै सुविधा सम्पन्न भवन, पर्याप्त मात्रामा आधुनिक फर्निचर, खेलकुदका लागि उमेरअनुसारका अलगअलग खेल मैदान, केटाकेटीलाई प्ले स्टेसन, खेलकुद र मनोरञ्जनका पर्याप्त साधनहरू, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी, सङ्गीत कक्षा, स्वास्थ्य उपचार कक्ष, प्रतिभा पहिचान कक्ष भएको पाइयो । नेपाल सरकारले तोकेको भन्दा थप विद्यालयले दैनिक लागु गरेका विषयमा अङ्ग्रेजी भाषा, चिनियाँ भाषा, स्थानीय पाठ्यक्रम, अतिरिक्त गणित विषय, नृत्य तथा सङ्गीत कक्षा, नियमित खेल प्रशिक्षण, नियमित फिल्ड भिजिट, हरेक शुक्रबार सृजनात्मक क्रियाकलाप, कक्षा पाँचभन्दा माथिकाले कम्तीमा महिनामा एउटा किताब लाइब्रेरीबाट पढ्नैपर्ने, नियमित हस्तलेखन तालिम, समय–समयमा कक्षागत अभिभावक भेला, अन्तरक्रिया सञ्चालन, शिक्षकहरूको लागि नियमित तालिम, प्रत्येक शिक्षकले कम्तीमा बा¥ह महिनामा बा¥ह किताब पढ्नैपर्ने, हरेक हप्ता पुस्तक अध्ययन तथा अन्तरक्रियात्मक गोष्ठी, प्रशिक्षणलगायतका शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमहरू हुने गरेको बुझियो । समयको मागसँगै शिक्षकले आफूलाई अद्यावधिक गराई अघि बढ्नुपर्ने कुरामा विद्यालय सचेत पाइयो । विद्यार्थीको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउन उपयुक्त वातावरण सृजना गर्न हरेक कक्षामा निश्चित विद्यार्थी सङ्ख्या राखेर सेक्सन विभाजन गरिएको, प्रत्येक सेक्सनबाट अझै अनेकौँ सदनमा विभाजन गरी सबैलाई क्षमता र रुचिअनुसार सहभागी बनाउन अनेकौँ क्रियाकलाप गर्ने गरेको देखियो । प्रायः सबै विद्यालयमा सेक्सनका नाम अक्षर वा अङ्कमा राखेको पाइन्छ । तर, यो स्कूलका सेक्सनको नामकरण गर्ने तरिका मलाई मनपर्याे । जस्तैः कक्षा ९ र १० मा सेक्सनको नाम अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको नामबाट राखिएको पाइयो । जस्तैः दस कक्षामा माक्र्स र माओ, नौ कक्षामा चे र फिडेल, आठ कक्षामा राष्ट्रिय विभूति बुद्ध र अरनिको, सात कक्षामा वैज्ञानिक आइन्स्टाइन र न्युटन, छ कक्षामा साहित्यकार देवकोटा, गोर्की, सिद्धिचरण, हृदयचन्द्र, पाँच कक्षामा सहिद धर्मभक्त, गङ्गालाल, शुक्रराज, दशरथचन्द, चार कक्षामा स्थानीय सम्पदा स्वयम्भू, न्यातपोल्हँ, पशुपति, तलेजु, तीन कक्षामा हिमालको नामबाट सगरमाथा, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरीको नाम राखेको देखियो । यस्तै अन्य कक्षाका सेक्सनको नाम नदिनाला, ताल, चराचुरुङ्गी, विभिन्न फूलहरूको नामले नामकरण गरेको देखियो । हाल यो विद्यालयमा १२०० विद्यार्थी र १०० शिक्षक तथा कर्मचारी गरेर करिब १३०० जनाको विद्यालय परिवार रहेछ । सम्पूर्ण विद्यार्थी र अभिभावकलाई शैक्षिक क्रियाकलापमा प्रत्यक्षरूपमा सरिक गराउन एकैपटक असजिलो हुने भएकोले चार कक्षासम्मका अभिभावक तथा विद्यार्थीहरूको लागि एकपटक र कक्षा पाँचभन्दा माथि अर्कोपटक वार्षिकोत्सव मनाउने गरेको पाइयो । वार्षिकोत्सवमा विद्यालयको स्मारिका प्रकाशित गरियो, जसले विद्यालयको लक्ष्य, उद्देश्य के छ, अहिले कुन अवस्थामा छ र भविष्यमा कहाँसम्म पुग्न खोजेको छ भन्ने कुरा स्पष्ट गरेको छ ।
कार्यक्रम स्थल अभिभावक, विद्यार्थी तथा अतिथिहरूले भरिने क्रम जारी थियो । विद्यालय प्रवेशद्वारहरू रङ्गीचङ्गी थिए । अतिथिहरूको स्वागतमा लाइनमा मुस्कानसहितको टीमले झुकेर अभिवादन गर्दै थियोे । वरिपरिको वातावरण रङ्गीन थियो, सङ्गीतमय थियो । धेरै अतिथिको उपस्थिति भइसके जस्तो थियो । यत्तिकै सुमधुर स्वरमा सम्पूर्ण वातावरणलाई मन्त्रमुग्ध बनाउँदै अनेकौँ साङ्गीतिक बाजागाजाहरूको धुनसँगै गीत गुञ्जियो । सानासाना बालबालिकाहरूको समूहले मसिनो सुमधुर स्वरमा ‘बाबा, तपाईँ विदेश हिँडे मेरो देश कता हिँड्ला ? बाबा नबस्ने देशमा, मलाई कसले माया गर्ला ?’ भन्ने बोलको गीतले सबैलाई भावुक बनायो । हरेकका आँखा रसाएका थिए, धेरैले आँसु पुछ्दै थिए । यो गीतले अहिलेको हाम्रो देशको परिस्थिति छर्लङ्ग पारेको थियो । यत्तिकैमा औपचारिक कार्यक्रम सुरु भयो । प्रमुख अतिथिमा राजनैतिक आन्दोलनका हस्ति निष्कलङ्क र अनुकरणीय व्यक्तित्व नारायणमान बिजुक्छे (रोहित) हुनुहुन्थ्यो । अन्य अतिथिमा वरिष्ठ मनोरोग विशेषज्ञ डा. विश्वबन्धु थापा, प्रा. डा. रामप्रसाद ज्ञवाली, उपप्राध्यापक डा. गङ्गाराम फैजु, डा. केपी कर्मचार्य, वाग्मती सभाका सभासद्द्वय सुरेन्द्रराज गोसाई, सृजना सैंजूलगायतका धेरै महत्वपूर्ण व्यक्तिहरूले आतिथ्य ग्रहण गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले सभापतित्व गरेको उक्त वार्षिकोत्सवमा सबै अतिथिबाट शुभकामना मन्तव्य व्यक्त भएको थियो ।
शुभकामना मन्तव्यपछि कार्यक्रमको दोस्रो चरणमा विद्यार्थीका प्रतिभाहरूको प्रस्फुटन थियो । ‘पाउना आउँदा घरको दैलो खोल्ने कोही छैन’ भन्ने गीतमा देखाएको गीति नाटकले युवाको विदेश पलायन, नेताको बेतिथि, चुनावमा हुने अनियमितता, विदेशी हस्तक्षेप, दलालीका विरुद्धमा नयाँ मानिसको खोजीमा लागेको प्रस्तुतिले देशको वर्तमान अवस्था झल्कन्थ्यो । ‘पैसा होइन विदेशमा पासो छ’ भन्ने नृत्यले सबै अभिभावकका आँखा रसाएका थिए । चिनियाँ भाषाका सङ्गीत र सामूहिक नृत्यहरू अति आकर्षक थिए भने गुरुआमाहरूका राष्ट्रिय गीतहरू, छात्राहरूको ‘रेलैको बाटोमा’ भन्ने गीतमा भएको नृत्य, अनुकरणीय रहे, अङ्ग्रेजीमा फ्रि प्यालेस्टिन गीतसँगै नृत्यले हजारौँ बालबालिकाहरूलाई इजरायलले नरंसहार गरेको, अस्पतालका नवजात शिशुसमेतलाई सामूहिक हत्याको विरुद्धमा ऐक्यबद्धता देखाएर शिक्षाको अन्तर्राष्ट्रिय दायित्व पूरा गरेको देखियो । नेपाली, नेवारी, अङ्ग्रेजी, तामाङ, मगर, खस, चिनियाँ, थारु, भोजपुरी भाषामा नेपालीको मौलिकता झल्काउने विद्यार्थीका अनेकौँ प्रतिभाहरूको प्रस्तुति थियो । तेक्वान्दो, उस्सु, कराँते, बक्सिङलगायतका खेलका प्रस्तुतिले विद्यार्थीको सर्वाङ्गी विकासमा विद्यालयले खेलेको भूमिका प्रस्ट झल्किन्थ्यो । विद्यालयको वातावरण निकै शान्त र रमणीय देखिन्थ्यो । वरिपरि हरियाली, प्रशस्त खुला ठाउँ, रङ्गरोगन, सायदै काठमाडौँका ठाउँमा यति धेरै फराकिलो ठाउँ कमै स्कूलमा हुन्छ होला ! मैले काठमाडौँका थुप्रै महँगा स्कूल घुमेको छु । तर, यस्तो सुविधा र वातावरण पाइन्न तर शुल्क भने २०/३० गुणा बढी । न्यून शुल्कमा यस्तो वातावरण उपलब्ध गराउन सकेकोमा विद्यालय परिवारलाई बधाई तथा शुभकामना ! बाल विकास सेकेन्डरी स्कूल एउटा स्कूलमात्रै नभएर विशिष्ट पहिचानसहितको उदाउँदो विश्वविद्यालयजस्तो लाग्यो ।
Leave a Reply