यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वडाध्यक्षको डायरीबाट
प्रथम प्रहरको समय चलिरहेको थियो । वडा कार्यालयमा अलि बढी सेवाग्राहीहरूको भीड थियो । म सेवाग्राहीहरूसँग छलफल गर्दै थिएँ । सेवाग्राहीहरूमध्ये एकजना कृष्ण सुवाल (नाम परिवर्तित) भन्ने व्यक्ति पनि थिए । उनीसँग म पहिले नै परिचित थिएँ किनकि उनी मेरा सहकर्मी थिए । एक हिसाबले हामी साथी थियौँ । त्यसकारणले मैले उनीसँग आत्मीयरूपमा बोलेँ । उनको पालो आएपछि कृष्णलाई आफ्नो समस्या तथा वडामा आउनुको कारण सोधेँ । त्यसपछि उनले मलाई भने, “मलाई धेरै समस्या प¥यो । २०७२ साल वैशाख १२ गते आएको भूकम्पले मेरो घर भत्कियो । त्यसैले हालसम्म टहरामा बसिरहेको छु । घरमा वृद्ध आमा, श्रीमती र छोरा छन् । टहरामा बसेको वर्षौँ भयो । आफ्नो जागीर छैन, आम्दानी पनि केही छैन । छोरा पढिरहेको हुँदा कमाइ केही छैन । घरको आर्थिक अवस्था निकै नाजुक छ । त्यही भएर नयाँ घर बनाउन सकिएको छैन । टहरामा बस्नुपर्ने बाध्यता छ । अहिले बसिरहेको टहरा भत्काएर फलामको टहरा बनाउन खोजेको छु । नक्सा बनाउनु आवश्यक छ कि छैन ? नक्सा दर्ता गर्छ कि गर्दैन ? तपाईँँसँग एकपटक बुझ्न आएको हुँ ।” हुन्छ भने नक्साबिनै फलामको संरचनाले टहरा बनाउन वडाले अनुमति दिनुप¥यो ।
फेरि उनले भने, “तपार्इँले मलाई सहयोग गर्नुप¥यो । तपाईँँ एकपटक मेरो टहरामा आएर निरीक्षण गरिदिनुप¥यो ।”
मैले जवाफमा कृष्णलाई भनेँ, “फलामको संरचनाले बनाएको नक्साको मापदण्डबारे मलाई जानकारी छैन । वडामा प्राविधिक हुनुहुन्छ । उहाँलाई अहिले बोलाएर कुरा गर्छु । अनि उहाँसँग परामर्श गर्नुपर्ला ।” यत्ति भनेर मैले वडा प्राविधिकलाई अफिसमा बोलाएँ । त्यसपछि मैले वडा प्राविधिकलाई कृष्णको समस्याबारे बताएँ ।
वडा प्राविधिकले भने, “नगरभित्र फलामबाट बनाएको संरचनाको नक्सा पास गर्ने प्रावधान छैन । त्यसैले फलामको संरचनाले टहरा बनाउन पाउँदैन । त्यसैले माटो जोडाइ वा ढलान गरी घर बनाउन पाइन्छ । नक्सा दर्ता हुँदैन ।” प्राविधिकको सल्लाह स्पष्टरूपमा आएपछि कृष्णलाई भनँे, “फलामको संरचनाले घर नबनाउनुस् । ढलान गरेरमात्र घर बनाउनुहोला । नक्साविपरीत घर बनाएमा कानुनी तथा व्यवहारिक समस्या धेरै आउँछ । अझ नगर क्षेत्रमा घर बनाउँदा पुरानो संरचना भएकोले छिमेकी बिचमा अलि बढी किचलो आउँछ । त्यस अवस्थामा झनै समस्या आउने भएकोले नक्सा पास गरेरमात्र घर बनाउनुस् ।”
कृष्णको मुख अलि अँध्यारो देखियो । अलि सानो स्वरमा उनले भने, “गरिबहरूले घर नै बनाउन नसक्ने भयो त ? मजस्ता गरिबले ढलान घर बनाउन कहाँ सक्छ ? त्यसैले फलामको संरचनाले टहरा बनाउन लागेको हुँ । छोरा ठुलो हुँदै आयो । एउटै टहरामा सबै एकै ठाउँमा सुत्ने अनि खानुपर्ने बाध्यता छ । तपार्इँले यो मेरो समस्यालाई बुझ्नु नै भएन । मलाई मौखिकमात्र भए पनि टहरा बनाउन स्वीकृति दिनुप¥यो । यो संसारमा गरिबले बाँच्नै नपाउने रहेछ । मेरो वृद्ध आमा त टहरामै मर्ने भयो । घर बनाउन मसँग पैसा छैन । टहरा बनाउन अलि पैसा जम्मा गरेको थिएँ । अब कसरी नक्सा पास गरेर मैले फलामको टहरा बनाउने होला ?”
कृष्णको कुराले वडा कार्यालयमा अलि निस्तब्धता छायो । वडा प्राविधिक केही नबोली बसे । एकछिनपछि मैले कृष्णलाई भनेँ, “नगरभित्र घनाबस्ती भएकोले फलामको संरचनाले घर बनाउँदा कमजोर हुने सोचले नगरपालिकाले बनाउन नदिने नीति लिएको हुनुपर्दछ । नगरपालिकाले लिएको नीति भनेको जनताको भलाइको लागि नै हो । नगरपालिकाको मापदण्डलाई हामीले मान्नैपर्छ । तपाईँँले पनि मान्नुपर्छ । त्यसैले नक्सा पास गरेरमात्र ढलान घर बनाउनुहोला ।” कृष्णले जवाफमा यत्ति मात्र भने, “तपार्इँहरू एक पटक निरीक्षणमा आउनुस् । मेरो अवस्थाबारे अनि थाहा हुन्छ ।” त्यत्ति भनेर अलि निराश हुँदै उनी वडाबाट बाहिर निस्के ।
आफ्नो र प्राविधिकको व्यस्तताले गर्दा हामी निरीक्षणमा जान सकेनौँ । कृष्णसँग कुराकानी भएको करिब एक हप्तापछि उनी फेरि वडामा आए । मैले उनलाई बस्न अनुरोध गरेँ । उनले आफ्नो विवशता र बाध्यताबारे दुःखेसो पोख्न थाले । उनले निराश र मलिन स्वरमा भने, “यो संसारमा गरिब मान्छेलाई सबैले हेप्दो रहेछ । गरिब भए पनि कसैले नगन्ने रहेछ । गरिब भएपछि मानिसजस्तो व्यवहार नगर्ने रहेछ । गरिबलाई बाँच्ने अधिकार पनि नहुने रहेछ । छोरा ठुलो हुँदै आयो । श्रीमती सधैँ किचकिच कराइरहन्छिन् । वृद्ध आमालाई कति टहरामा राख्ने ? मलाई जहाँ गए पनि चैन छैन । घरमा गए पनि किचकिच, बाहिर आए पनि सबैले हेप्ने रहेछ । नगरपालिकामा नक्सा दर्ता गर्न गएँ र नक्सा दर्ता गर्नै मानेन । यहाँ तपाईँँलाई दिएको निवेदन तपाईँँ दर्ता गर्न नमान्ने अनि टहरा बनाउन स्वीकृति नदिने । म के गरूँ । मलाई केही न केही उपाय दिनुस् । ढलान घर बनाउन मसँग पैसा छैन । अनि कसरी मैले ढलान घरको नक्सा बनाउने ? तपाईँँले मौखिक टहरा बनाउने स्वीकृतिमात्र दिनुस् । म भोलिपल्टबाट बनाउन सुरु गर्छु । तपार्इँ स्वीकृति नदिने अनि म के गरूँ ? तपार्इँ एकपटक त कमसेकम फिल्डमा आएर हेर्नुस् । हाम्रो भोट लिएर जितेको मान्छेले हाम्रो दुःख एकपटक हेर्न मिल्दैन र ? तपाईँँको भोटर कुन अवस्थामा र कसरी बसिरहेको छ भनेर त हेर्नुस् ।”
मैले कृष्णलाई भनेँ, “तपार्इँको दुःख, पीडा र गरिबीबारे मलाई जानकारी छ । तपार्इँको आर्थिक अवस्था नाजुक छ भन्ने कुरा पनि मलाई थाहा छ । तपाईँँको भोट लिएर मैले जितेको पनि हुँ । तपाईँको बुढी आमाको पीडा, श्रीमतीको कचकच र छोराको रिसबारे पनि मलाई जानकारी छ । मलाई दुःख पनि लाग्छ । तर, सबै समस्याको समाधान वडाध्यक्षसँग हुँदैन । तपाईँको सबै समस्या समाधान गर्नसक्ने क्षमता मसँग कहाँ हुन्छ र ? तपाईँलाई मापदण्डविपरीत टहरा बनाउन म कसरी मौखिक सहमति दिन सक्छु र ? त्यसमाथि छिमेकीसँग तपाईँको राम्रो बोलचाल नभएपछि त झन् गा¥हो हुन्छ । तपाईँले टहरा बनाउनेबित्तिकै उजुरी आउन थाल्छ । अनि हामीले त्यस्तो उजुरी नसुनी बस्न सकिँदैन । तपाईँले नक्साविपरीत टहरा बनाए पनि तपाईँलाई हामीले साथ दिन कदापि सक्दैनौँ । तपाईँका भोट लिए भन्दैमा गैरकानुनी काम गर्न र मापदण्डविपरीत घर बनाउन कहाँ अनुमति दिन मिल्छ र ? तपाईँले भोट दिनुको अर्थ वडाध्यक्षले नियमानुसार काम गर्न दिने स्वीकृति प्रदान गर्नु हो । भोट लिँदैमा सबै काम र सिफारिस दिन मिल्छ भन्ने सोच गलत छ । भोटको मूल्य त अमूल्य हुन्छ । त्यो अमूल्य मतको अर्थ अनियमित काम र मापदण्डविपरीत घर बनाउन दिन होइन ।” मेरो कुरा सुनेर उनी वडाबाट निराश भई फर्के ।
त्यसपछिका दिनमा कृष्णको छोरा वडामा आए । त्यसपछि भोलिपल्ट श्रीमती वडामा आइन् । त्यसपछि वृद्ध आमा पनि वडामा आइन् । उनीहरूको एउटै माग थियो – मौखिकरूपमा टहरा बनाउने सहमति चाहियो र मेरो सहमति भए तीनतले टहरा बनाउँछौँ । कृष्ण पनि पटकपटक वडामा आइरहे । छोरा र श्रीमती पनि पटकपटक वडामा आइरहे । तापनि, म फिल्ड निरीक्षणमा गइनँ । प्राविधिक पनि फिल्डमा गएनन् किनभने वडाध्यक्ष र प्राविधिक फिल्ड गएपछि कृष्णले वडाको सहमतिमा टहरा बनाएको प्रचार गरी संरचना बनाउने सम्भावना थियो । त्यसकारण, म, कृष्ण र उसको परिवार धेरैपटक वडामा आउँदा पनि फिल्डमा गएनौँ । त्यसैले उनीहरू लगातार पाँच ६ महिनासम्म वडामा आइरहे ।
वडा कार्यालयमा धेरै आएको कारण एकदिन मैले अचानक फिल्ड निरीक्षण गरेँ । वडा कार्यालयबाट अलि पर उनीहरूको घर थियो । तर, पनि निरीक्षणमा जान त्यत्ति गा¥हो कुरा थिएन । तर, मैले निरीक्षण गरिसकेपछि कृष्णले वडाको सहमतिले टहरा बनाएको प्रचार अवश्य गर्थे । मलाई त्यही कुराको डर थियो । फिल्ड निरीक्षण गर्दा मैले छिमेकीसँग पनि कुराकानी गरेँ । कृष्ण, उसकी श्रीमती र छोरासँग पनि छलफल गरेँ । साँच्चै नै कृष्ण र उसको परिवारको अवस्था निकै नाजुक थियो । तापनि, मैले फिल्डमा छिमेकीहरूको अगाडि कृष्णलाई भनेँ, “मैले फिल्ड निरीक्षण गरेँ । स्थिति नाजुक त छ नै । तापनि, नक्सा पास गरेरै मात्र टहरा बनाउनुस् । नक्सा पास नभएपछि कानुनी कारबाही गर्नुपर्ने बाध्यता हुन्छ । भोट दिँदैमा सबै काम वडाध्यक्षले गरिदिनुपर्छ भन्ने छैन ।” कृष्णले प्रतिउत्तरमा केही भनेनन् । त्यसपछि म त्यहाँबाट फर्केँ । म गएको एक हप्तापछि कृष्णले टहरा धमाधम बनाउन थालेको सूचना निरीक्षकले दिए । निरीक्षक निरीक्षण गर्न जाँदा कृष्णले वडाको रोहवरमा टहरा बनाएको जानकारी दिए । निरीक्षकले त्यस विषयमा मलाई प्रश्न गर्दै भने, “सरले मापदण्डविपरीत यसरी टहरा बनाउन स्वीकृत दिन मिल्दैन । नक्सा शाखा प्रमुखले दिनुपर्ने स्वीकृति तपाईँले दिएर यसरी टहरा बनाउन दिन मिल्दैन । नगरपालिकाको कानुन ठाडो उल्लङ्घन भयो सर । फिल्डमा जाँदा कृष्णको स्वर नै एकदम चर्को थियो । वडाध्यक्ष फिल्डमा नै आएर टहरा बनाउने आदेश दिएर गएको भन्छ सर । मोबाइलमा रेकर्ड नै छ भन्छ सर । यसरी अलि मिल्दैन सर । हामीलाई त काम गर्नै गा¥हो हुन्छ ।” निरीक्षकलाई आफूले टहरा बनाउन स्वीकृति नदिएको जानकारी गराएँ । टहरा बनाउन दिन र आवश्यक कानुनी कारबाही गर्न निर्देशन दिएँ । साथै कृष्णलाई फोन गरी टहरा नबनाउन अनुरोध गरेँ । तर, उनी मानेनन् । निर्माण रोक्न कर्मचारी पठाउँदासमेत राति राति निर्माण सुरु गरेको खबर आइरह्यो । हाल यो टहरा निर्माणमा एक छिमेकीले आफ्नो जग्गा मिचेर नक्साबिना नै निर्माण गर्न खाजेकोले अतिक्रमित जग्गाबाट टहरा हटाई पाऊँ भनी उजुरी आएको छ र उक्त उजुरीमाथि नगरपालिकाले छानबिन गरिरहेको छ ।
Leave a Reply