यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिमा फरकफरक ढङ्गले जन्मदिन मनाउने गर्छन् । धेरैले खुसी भएर आ–आफ्ना बुबा–आमा, दिदी–बहिनी र दाजु–भाइको आफ्नै संस्कृतिअनुसार मनाउने गर्छन् । उपत्यकाका नेवारहरू सानो उमेरमा जोड जन्म दिन (२, ४, ६, ८, १०, १२) वर्षसम्म ‘योमरी’ (चामलको पिठोबाट बफाएर बनाउने विशेष खालको परिकार) को माला लगाउन दिई जन्म दिन मनाउँछन् । कोही विभिन्न पीठमा पूजा लगाई जन्मदिन मनाउँछन् भने कोही तलेजुको फूल र प्रसादबाट जन्मदिन मनाउँछन् ।
ज्येष्ठ नागरिकहरूको जन्मदिन मनाउँदा साहुमहाजन, प्राध्यापक, डाक्टर र साहित्यकारहरू आ–आफ्ना नजिकका नाता र साथीभाइहरूलाई भोज बोलाएर ‘आशीर्वाद’, ‘सुस्वास्थ्य र दीर्घजीवनको शुभकामनासहित बधाई’ को आदानप्रदान गर्छन् । त्यो भोजमा तःलासी (तील र चाकुको लड्डु) स्वगं (फुल र अण्डा), मासु, माछा, बारा, तारेको लसुन, अदुवा र खोल्चा (सानो बटुकोे) मा तीन पटक रक्सी राख्छन्, पिउँछन् । अचेल भाँडोलाई ढोगेर परम्परा पूरा गर्छन् ।
केही भावुक मानिसहरू ‘जन्म दिनले यमराजको सम्झना आउँछ’ भन्दै जन्म दिन नमनाउनेहरू पनि छन् । केहीले औपचारिकरूपमा जन्मदिन नमनाए पनि जन्मदिनमा सम्झनाका विषय, कविता र अनेक जन्मदिनका संस्मरणहरू दैनिकी (डायरी) मा लेख्छन् ।
आधुनिक र सदाचारबारे सचेत केही मानिसहरू आफ्ना प्रियजनको जन्म ‘उत्सव’ मा नटुटाइकन बिहानै ‘बधाई’ दिन्छन् र केहीले पुस्तक, कापी, डायरी र प्रिय सामान उपहारहरू दिन्छन् । एकै ठाउँमा बस्ने पुराना मानिसहरू जन्मदिन परम्पराअनुसार मनाउने गर्छन् ।
केही आ–आफ्नो धर्म र संस्कृतिअनुसार ‘नयाँ शिशुको जन्म हुँदा आमाहरू रोएर यो दुःखको संसारमा जन्म्यौ’ भनी दुःख प्रकट गर्छन् र मर्दा त्यस संस्कृतिका मानिसहरू पान खाएर खुसी हुन्छन्, “अब तिमीले यो संसारमा दुःख भोग्नुपर्ने छैनौ” भनी अन्तिम क्रिया अथवा समाधिस्थलमा पु¥याउँछन् ।
XXX
मृत्यु संस्कारबारे हिन्दूहरूमै पनि फरक फरक परम्परा छन् । अन्तिम स्नान वा नेवारहरूको ‘म्हा गेकिगु’ मा भन्ने चलन छ –
‘तिमीसँग अब कोही जाने छैन
बरू तिमीसँग तिमीले गरेका
राम्रा र नराम्रा कामहरू गयौ
जानेछन्, सबै एक दिन यही बाटो !’
सायद अङ्ग्रेजी कवि शेक्सपियरले लेखे मृतकलाई –
‘अब तिमी आकाशमा चम्किने
बिजुलीको चमक र मेघ गर्जनबाट
डराउनु पर्दैन, न त अब
तिमी घाम र पानीसँग नै डराउनु पर्नेछ !’
युरोपको मजदुर आन्दोलनमा एक सहिदको लासलाई सम्बोधन गरी लेखे –
‘साथी, अब तिमी कारखानाको घडीको
आवाजसँग डराउनु पर्दैन, निश्चिन्त होऊ,
कारखानाका जाँचकीको कोर्दासँग पनि तिमी
डराउनु पर्दैन, तिमी मुक्त भयौ शोषणबाट पनि !’
जन्म र मरण निरन्तर भइरहन्छ – गाजाका प्यालेस्टिनहरूको मृत्यु, हत्या र विध्वंश यसको अपवाद हो, इजरायली नेतन्याहु र अमेरिकी बाइडेन यस ‘अपराध’ बाट पन्छिन पाउने छैनन्, संसारमा भर्खर जन्मेका, हरेक बाँचेका र बाँच्ने युवाहरूले यी दुवैलाई माफी दिनेछैन !
xxx
१५ मार्च १९४९ मा ‘पार्टी समितिहरूको कार्य शैली’ शीर्षकमा अध्यक्ष माओ त्सेतुङले लेख्नुभयो, “पार्टी नेताहरूको जन्म दिनको उत्सव मनाउनु निषेध गरिएको छ । पार्टी नेताहरूको नाममा ठाउँ, सडक र उद्योग–कारखानाहरको नाम राख्न निषेध गरिएको छ । हामीले सादा जीवन र कडा परिश्रमको शैलीलाई कायम राख्नुपर्छ; तारिफ एवं अतिशयोक्ति प्रशंसालाई बन्द गर्नुपर्छ ।”
Leave a Reply