के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
‘पानीले भाँडोको आकार लिन्छ’ भनेजस्तै राजनीतिक दलहरूले इमानदारीपूर्वक काम गरे पनि, पुँजीवादी सरकारहरूले आ–आफ्नै घोषणापत्रअनुसार काम गरे पनि पुँजीपतिवर्गको हित बढी हुन्छ र कामदारवर्गको हित अत्यन्त थोरै हुन्छ ।
नेपालको सन्दर्भमा कुरा गर्दा हिजोको सरकारको नेतृत्व प्रचण्डले गरेका हुन् र भोलि पनि उनैले गर्ने हो र पुरानै घोषणापत्रअनुसार गर्ने हो भने फरक कसरी हुन्छ ? सरल जनतालाई भाषणमा आशलाग्दो कुरा गरे पनि व्यवहारमा लागु गर्न सकिएन भने जनताले प्रचण्डको मुखको अगाडि भन्न नसके पनि मनले त काम भएन भनी भन्नेछन् र अर्को भाषामा नेताहरू खालि फकाउने, मिठो आश्वासन दिने र काम नगर्ने नै भन्नेछन् ।
सत्य के हो भने केही नेताहरूले उत्तेजित भाषण दिएर एक–डेढ घण्टा आशा पलाइदिएर मनलाई आनन्द दिन सक्ला तर काम गर्न सकेन भने बुझ्ने कार्यकर्ताहरूले निश्चय पनि मनमनै भन्नेछन्, “नेताहरू मुखले एक थोक कुरा गर्छन् र काम भने अर्कै थोक गर्छन् ।” कसैले भन्नेछन्, “नेताहरू खालि आश्वासन दिन्छन्”, अझ त्यस्ता शब्द नजान्ने सरल मानिसले भन्नेछन्, “नेताहरू झूट बोल्छन् र नेताहरू ठग हुन् ।”
क्रान्तिकारी भन्ने दलहरूले समेत ‘तत्कालीन कार्य’ र ‘दीर्घकालीन कार्य’ हरू के के हुन् भन्नेबारे कामदारवर्गलाई शिक्षा तथा कक्षा सञ्चालन गरेकै छैनन्; गाउँपालिका र नगरपालिकाले के के काम कसरी गर्छन् भनी जनतालाई शिक्षा दिएकै छैनन् ।
त्यस्तै ‘प्रदेश र सङ्घीय वा केन्द्र सरकारले के के काम कसरी गर्छन् भनी कक्षा सञ्चालन गरेकै छैनन् । तिनीहरू राजनीतिक विद्यालय र कलेज जीवन नभएका जनतालाई जटिल कुराबाट झ्याउ मान्छन् ।
पार्टी, नेता र कार्यकर्ताहरूले के–कसरी कक्षा सञ्चालन गरेपछि व्यावहारिक होला ? निश्चय पनि स्कूल र कलेज जीवन भएका युवा जनतालाई शिक्षित गर्न तुलनात्मकरूपले सजिलो होला । गाउँका किसान दाजुभाइ र दिदीबहिनीहरूलाई खेतीपातीको काम नभएको बेला कक्षा सञ्चालन अत्यन्त हितकर हुनेछ । नेपाल विभिन्न जातजाति र भाषाभाषीहरू मिलेर बनेको हुनाले नेपाली भाषाबाट लिएका कति कक्षा धेरैले बुझ्दैनन् भन्ने कार्यकर्ताहरूको अनुभव छ । ‘समाजवाद’ र ‘साम्यवाद’ का शब्द धेरैले सुनेका छन्, केस्रा केस्रा गरी बताएका पनि छन्, तर सारमा जनताले भन्नेछन्, “हाम्रो निम्ति सबै राम्रो हुन्छ ।”
जगैदेखि कक्षा सञ्चालन नगरिएका गाउँ र सहरका कार्यकर्ताहरूले राम्रोसँग नागरिक भावना, मौलिक र राजनीतिक अधिकार, दास र दास व्यवस्था, सामन्त र सामन्तवाद तथा पुँजीपतिवर्ग र पुँजीवादबारे तस्बिरहरूसमेत राखेर कक्षा सञ्चालन गरिएन भने कक्षाका केही अंशमात्र कक्षाका शिक्षार्थीहरूले बुझ्नेछन् । तिनीहरूबाट नयाँ साथीहरूलाई कक्षा सञ्चालन गर्दा अझ थोरैमात्र बुझ्नेछन् ।
कसैले भन्नेछन्, “हामीले सारा जनता उठाएर आन्दोलनहरू ग¥यौँ; सङ्घर्ष जित्यौँ; चुनावमा हाम्रा प्रतिनिधिहरू जितायौँ र सरकार बनायौँ, त के हामीहरूले राम्रा बुझेनौँ ।” हाम्रा नेपाली सेनालाई पनि ब्यारेकमा कक्षा सञ्चालन गरिन्छ तर तिनीहरूको कापी हेर्न पाएकाहरूले बताउनेछन्, “जवानहरूले प्रश्नको उत्तर कापी र पुस्तकमा लेखिएकै कुरा जस्ताका तस्तै छन्, राम्रो बुझेर लेखेका होइनन् । माथिल्ला अफिसरहरू विश्वविद्यालयस्तरका हुन्छन् । तर, जवानहरू कार्यकर्ता बनाउन तयार गरेका होइनन् बरु लडाइँको निम्ति तयार गरेका हुन् ।”
कम्युनिस्ट कार्यकर्ताहरूलाई ‘लेखा’, कार्यालय र पार्टीको हिसाब कसरी लेख्ने भन्ने नियमहरू नबताएकै कारण जिल्ला जिल्लाका अस्पताल, स्कूल र कलेज तथा कार्यालयमा हिसाब राख्न नजानेर भ्रष्टाचार भएका छन् भने कति नियत राम्रा नभएरै भएका छन् । राम्रो शिक्षा र तालिम लिएको भए कम गल्ती हुने थियो र ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने भावना बिस्तारै नियन्त्रण हुने थियो ।
सरकार चलाउने नेताहरूले तल्ला स्तरका कार्यकर्ताहरूको समस्या बुझेर, तालिमलाई प्राथमिकता दिएमा व्यवहारिक र सैद्धान्तिक एवं राजनीतिक कक्षा सञ्चालन गर्नुपर्छ । नेपाली जनता मेहनती र इमानदार छन् । राम्रो तालिमले भाँडोअनुसारको पानीले आकार लिन्छ ।
Leave a Reply