यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वर्गमा विभाजित समाजमा कर्मचारी पनि विभाजित हुनु स्वाभाविक हो । एक थरी कर्मचारीहरू इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्छन्, देशभक्त र परिवर्तनकामी हुन्छन् भने अर्काे थरी कर्मचारीहरू यथास्थितिवादी हुन्छन्, देश र जनताको विषयमा वास्ता गर्दैनन् या चिन्तनमनन गर्दैनन् । देश बिग्रे पनि नबिग्रे पनि मतलब नराख्ने कर्मचारी र देशलाई आघात पर्दा, देशविरोधी ऐन कानुन बन्दा, देशघाती सन्धि सम्झौता गर्दा खबरदारी गर्ने कर्मचारीहरू पनि छन् । शासक या प्रशासकहरूलाई गलत सल्लाह दिने, फसाउने, झगडा गराउने, कमिसन र भ्रष्टाचार गर्न र गराउने तथा कसैले गर्न खोजेमा खबरदारी गर्ने र आफूबाट त्यस अपराधबाट अलग्ग रहेर काम गर्ने असल कर्मचारीहरू पनि हाम्रै समाजमा छन् । स्थानीयदेखि मन्त्रालय र गाउँदेखि केन्द्रसम्म नै यस्ता असल र खराब चरित्रका कर्मचारीहरू छन् ।
देशभरिका सबै कर्मचारीहरू इमानदार भएमा, सबैले आ–आफ्नो कर्तव्य पालना गरेमा र पदअनुसारको काम गरेमा देशमा धेरै हदसम्म भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती हट्छ र लक्ष्यअनुसारको विकास पनि यथासमयमा हुन्छ । गलत काम गर्ने, अनियमितता गर्ने र भ्रष्टाचार गराउने काममा संलग्न अधिकांश उच्चपदस्थ कर्मचारीहरू सत्तारुढ दल या ठुला दलमा आबद्ध देखिएका छन् । पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाउने, आफूले पनि भागबन्डा पाउन शासक या मन्त्रीहरूलाई अनियमित काममा संलग्न गराउने या पाठ सिकाउने काम मन सफा नभएका कर्मचारीहरूले नै गर्छन् । देशमा त्यस्ता धेरै कर्मचारी भएकाले पनि देशमा भ्रष्टाचार र अनियमितता बढी भएको हो; देश भ्रष्टाचारको सूचीमा परेको हो । जहिलेसम्म देशभर इमानदार र स्वच्छ छविका कर्मचारीहरू हुँदैनन् तहिलेसम्म भ्रष्टाचार, चुहावट र अनियमितता भइरहन्छ । जहिलेसम्म शासक र ठुला दलका नेताहरू गम्भीर, सचेत र जिम्मेवार हुँदैनन् तहिलेसम्म कर्मचारीहरू पनि सही ठाउँमा आउँदैनन् ।
कुनै कर्मचारी जब अविवेकी हुन्छ, देश र जनताको मतलब राख्दैन तब उनीहरूको विचार दूषित हुन्छ । दूषित विचारको कर्मचारीले हुने नहुने काम गर्न पछि पर्दैन । गलत काम गर्ने व्यक्ति असलमा गनिँदैन । यसकारण, कर्मचारीले चरित्रको ख्याल गर्नुपर्छ । आफूले काम गरेको सङ्घ संस्थामा आफू उदाहरणीय बन्नुपर्छ । आफ्नो संस्था र संस्थानमा आबद्ध व्यक्ति या जनताको विश्वास जित्नुपर्छ । खराब, घुस्याहा, चरित्रहीन, गाजा, चरेस, रक्सी खाने, काममा ढिलासुस्ती गर्ने, काममा आएका जनतालाई झपार्ने, काममा बेवास्ता गर्ने कर्मचारीलाई जनताले विश्वास गर्ने छैनन् । खराब काम गर्ने कर्मचारीहरू जनतासामु घृणित हुन्छन् । जनता पनि त्यस्ता कर्मचारीलाई थुक्छन् । यसकारण, कर्मचारीहरू जो जहाँ छन् तत्तत् स्थानमा इमानदारीपूर्वक आ–आफ्नो कर्तव्य पालना गर्नुपर्छ । आफू इमानदार, उत्तरदायी, जिम्मेवार, देशभक्त, अनुशासित, योग्य र स्वच्छ छविको हुनुपर्छ ।
आज देशमा असल नेता, असल मन्त्री, असल सांसद, असल जनप्रतिनिधि, असल कार्यकर्ता, असल कर्मचारीको खाँचो छ । असल कर्मचारी रहेको संस्थामा भ्रष्टाचार हुनेछैन, अनियमितता हुनेछैन । असल स्वच्छ र इमानदार कर्मचारीहरू लागूऔषधमा फस्ने छैनन्, दुव्र्यसनीमा फस्ने छैनन् । असल कर्मचारीहरू भ्रष्टाचारी, जालीफटाहा, ठग, अपराधीहरूको जालमा फस्ने छैनन्, तिनीहरूको वरिपरि घुमिरहने छैनन् । उनीहरू पदको दुरुपयोग गरी जसरी भए पनि कमाउने बानीमा पर्दैनन् । देशलाई सही दिशामा लान सही विचार आवश्यक हुन्छ । असल, इमानदार कर्मचारीहरू जनतामाझ भिज्छन् र देश र समाजप्रति पनि जिम्मेवार हुन्छन् । उनीहरू सङ्कीर्ण विचारका हुँदैनन्, फराकिलो मनका हुन्छन्; आफ्नो जिम्मेवारीबाट पछि हट्दैनन्; जीवनमा दाग लाग्ने, अरुले थुक्ने खालको काम गर्दैनन् । जनताप्रति सद्भाव, सहानुभूति राख्ने, जनताको पीडा र समस्या बुझ्ने, आपत्विपत्मा सघाउने, सामाजिक रुढीवादी र अन्धविश्वास चिर्दै समाज परिवर्तनको बाटोमा लाग्ने कर्मचारीको आवश्यकता छ ।
Leave a Reply