भर्खरै :

सरकारी पदाधिकारीहरूको विदेश भ्रमणलाई देश हितको निम्ति कसरी उपयोगी बनाउने ?

सरकारी पदाधिकारीहरूको विदेश भ्रमणलाई देश हितको निम्ति कसरी उपयोगी बनाउने ?

केही समयअघिको कुरा हो, रुसी राष्ट्रपति एकैदिनमा दुई मुलुक संयुक्त अरब इमिरेट्स र साउदी अरबको भ्रमण गरी स्वदेश फर्केर भोलिपल्ट इरानको राष्ट्रपतिलाई स्वागत गर्न भ्याए । आ–आफ्नो देश हितको कुरा हो; उत्तर कोरियाका नेता किम जोङ उन रुस भ्रमणताका आफ्नो देशको आवश्यकताअनुसार रसियन लडाकु विमानको निरीक्षण गरे । चिनियाँ राष्ट्रपतिले ४ दिनमा ३ वटा अरब मुलुकको भ्रमण गरे । देशको स्वार्थ, राजनीतिक स्वार्थ र वैचारिक स्वार्थलाई नै सर्वोपरि राखेर यी नेताहरूले विदेश भ्रमण गर्छन्; सहरको सयर गर्ने वा सामान किन्न (सपिङ) गर्नको निम्ति विदेश भ्रमण गर्दैनन् ।
हाम्रा राष्ट्रपति र प्रधानमन्त्रीलगायत उच्च सरकारी पदाधिकारहरूका विदेश भ्रमण भनी देश हितभन्दा पनि सपिङ गर्ने, झरना अवलोकन गर्र्ने, सहर सयर गर्नेजस्ता पूरै मनोरञ्जनको रूपमा लिन्छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी माइती गएजस्तै १० दिने चीन भ्रमण गरेकी थिइन् । तर चीनका राष्ट्रपति नेपाल आउँदा २० घण्टाभन्दा कम समय बिताए । अहिलेको हाम्रा प्रधानमन्त्री प्रचण्डले त एउटै विदेश भ्रमणमा १४ दिन आफ्नो छोरीसँग देश बाहिर बिताएका थिए । छोरीसँग प्रचण्डले चीनमा मानसरोवर अवलोकन गरेर आए । हाम्रा देशका जनतामात्र फुर्सदिला होइनन् प्रधानमन्त्रीसमेत फुर्सदिला छन् । संसारका राष्ट्र प्रमुखहरूले यत्रो दिन विदेश भ्रमणमा बिताएको घटना सायदै होला । नेपालका सरकारी पदाधिकारी विदेश जान तँछाडमछाड नै गर्ने गर्छन् । सरकारको प्रतिनिधित्व गरी जाने पदाधिकारी विदेशमा देशको हितको लागि के बोल्ने र कसरी विदेशीसँग वार्ता गर्ने भन्ने सम्बन्धमा खासै गृह कार्य नभएको भन्ने भनाइ यदाकदा सुनिन्छ ।
कुनै पनि मुलुकको प्रतिनिधि भएर विदेश भ्रमण गर्नु भनेको विदेशी सरकार प्रमुखहरूसँग वार्ता वा छलफल गर्नु नै हो । वार्तामा आफ्नो देशले अर्को देशसँग विशेष मुद्दालाई सम्बोधन गर्ने तयारी गरिरहँदा धेरै कुराहरू ध्यानमा राख्नु नै हुन्छ । कूटनीतिक वार्तालाई सफलतापूर्वक निक्र्योलमा पु¥याउन पूर्ण गृहकार्य आवश्यक हुन्छ । राष्ट्रहरूबिचको कूटनीतिक वार्ताको सन्दर्भमा वार्ताको टेबुलमा आफ्ना उद्देश्यहरू प्राप्त गर्नको लागि राम्रोसँग तयारी र रणनीतिकरूपमा सुनिश्चित गर्न गृहकार्य महत्वपूर्ण हुन्छ । यसले राष्ट्रिय हितको पहिचान गर्ने, अर्को पक्षको मूल्याङ्कन गर्ने, रणनीति बनाउने र आकस्मिक परिस्थितिको लागि तयारी गर्ने आधार प्रदान गर्छ । यसमा वार्ताको क्रममा पार गर्न नसकिने सिमा रेखाहरू पनि पहिचान गर्नुपर्दछ । सम्भावित सम्झौताहरूको अल्पकालीन र दीर्घकालीन प्रभावहरूलाई ध्यान दिनुपर्छ । मुद्दाबाट प्रभावित हुनसक्ने सम्भावित सरोकारवालाहरूलाई पहिचान गरेर दृष्टिकोण र विशेषज्ञता सङ्कलन गर्न उनीहरूसँग परामर्श गर्नुपर्छ ।
कूटनीतिक वार्ताको समयमा एउटा देशले अर्को देशलाई धोका दिएका धेरै घटनाहरू छन् । नेपाल यसबाट अछुतो छैन । नेपाल र भारतबिच कोसी सम्झौता हुँदा नेपाल ठगिएको परिणाम अहिलेसम्म नेपालले भोग्दै छ । सम्बन्धित मुद्दाको बारेमा बढी जानकारी नहुँदा यस्तो हुन्छ । राम्रो जानकारी भएको देशले आफ्नो फाइदा हुने गरी वार्तालाई मोड्न सक्छ । त्यसैले सरकारको प्रतिनिधि भएर जाने पदाधिकारीहरू सम्बन्धित विषयका ज्ञाता हुनु आवश्यक छ, तर हाम्रो देशको सरकारी विदेश भ्रमणलाई प्रस्टरूपमा मनोरञ्जनको लागि बिदा मनाउन जानेजस्तो गरी तयारी गर्छन् । डलरको जोहो गर्ने, सपिङ लिस्ट बनाउने नै भ्रमणको तयारीको रूपमा लिन्छन् । यदि आर्थिक, सैन्य वा राजनीतिक रूपमा शक्तिशाली देशसँग वार्ता गर्नु छ भने झनै ठुलो गृहकार्यको आवश्यकता हुन्छ । हाम्रो देशको सन्दर्भमा भारत हामीभन्दा हरेक पक्षमा शक्तिशाली छ । त्यसैले भारतले हाम्रो देशमा अनावश्यक दबाब वा लाभ लिने प्रयासस्वरूप असमान सम्झौतालाई निम्त्याउँछ । वार्तामा फाइदा लिनको लागि गलत प्रस्तुति, जानकारी लुकाउने वा झूटा वाचाहरू गर्नेजस्ता भ्रामक रणनीति अपनाएको हुन्छ । जलस्रोतलाई उपयोग गर्ने सन्दर्भमा भारतसँग हुने हरेक वार्तामा नेपाल ठगिनुको प्रमुख कारण सम्बन्धित मुद्दाका विज्ञहरूबिच गृहकार्यको अभाव नै हो ।
कूटनीतिक वार्तामा विश्वास अपरिहार्य हुँदाहुँदै पनि विश्वासघात हुने सम्भावनालाई पनि ध्यान दिनुपर्ने जानकारहरू बताउँछन् । यदि एक देशले सम्झौता वा बाचा तोडेर अर्को देशको विश्वासलाई हनन गर्छ भने यस व्यवहारले दुई देशको सम्बन्धलाई चिसो पार्छ आ–आफ्ना लुकेका एजेन्डाहरू वार्ताको क्रममा खुलासा हुँदैनन् । यी एजेन्डाहरू सम्झौता भइसकेपछि प्रकाशमा आउँदा ढिलो भइसकेको हुन्छ । यसको ज्वलन्त उदाहरणको रूपमा रुस–युक्रनबिच भएको सम्झौतालाई लिन सकिन्छ । युक्रेनले बेलायत र अमेरिकासँगको गोप्य वार्तापछि युक्रेन सम्झौताबाट पछि हट्यो जसको परिणाम सबैको सामु छ । यहाँनिर युक्रेन पश्चिमी राष्ट्रसँग गोप्य वार्तासँगसँगै युक्रेनमा हतियार भित्रिरहेको जानकारी रुसले थाहा नपाउँदा युद्धको सुरुवाती चरणमा रुस अप्ठेरो स्थितिमा परेको थियो ।
एउटा देशले अर्को देशको स्थिति, प्राथमिकता र आन्तरिक गतिशीलतामा अन्तरदृष्टिको प्रयोग गरेर अर्को देशसँगको वार्तामा फाइदा लिन सक्छ । अनुकूल परिणाम प्राप्तिको निम्ति रणनीतिक योजना हुनुपर्छ । यसको निम्ति बलियो गुप्तचरको भूमिका महत्वपूर्ण हुन्छ । संवेदनशील जानकारी हात पारेर देशलाई सूचनाको प्रवाहलाई सजिलो बनाएर वार्ताका क्रममा रणनीतिक फाइदा हासिल गर्न सहयोग गर्छ । त्यसैले कुनै पनि मुलुकसँग हुने वार्ताबाट देश हित हुने गरी परिणाम ल्याउनमा गुप्तचरको पनि ठुलो भूमिका हुन्छ । तर, हाम्रो देशको गुप्तचरको सन्दर्भमा यो तहको गुप्तचरी कार्य भएको कम थाहा हुन्छ । उल्टै हाम्रा प्रधानमन्त्री भारत भ्रमणमा हुँदा भारतीय गुप्तचरको निम्ति काम गर्ने मान्छेहरू नै भ्रमण दलमा सामेल भएको बताइन्छ ।
कूटनीतिको क्षेत्रमा रहेका यी सबै सत्यतथ्यलाई बुझ्दा नेपाल सरकारको प्रतिनिधिको रूपमा विदेश भ्रमणलाई देश हितमा मोड्नको लागि कमसेकम यस्तो एउटा कानुन बनाउनु आवश्यक छ जसले सरकारी भ्रमणमा संलग्न हुने प्रधानमन्त्री, मन्त्रीदेखि लिएर पदाधिकारीसम्म पनि विदेश भ्रमणलाई मनोरञ्जन गर्न बिदा मनाउने रूपमा लिन नपाऊन् । सरकारी प्रतिनिधिको रूपमा विदेश भ्रमण गर्दा एक सिन्को पनि सामान ल्याउन नपाउने कानुनमै व्यवस्था हुनुपर्छ । किनभने, विदेश भ्रमणमा हुँदा यिनीहरूको पूरा ध्यान विदेशीसँगको वार्तामा बस्दा देश हितको बारेमा मात्र सोच्न बाध्य होस्, सपिङको लिस्ट बनाउँदा बनाउँदै आफ्नो जिम्मेवारी नै नबिर्सोस् । तर, रातो पासपोर्टको दुरुपयोग गर्ने सांसदको जमातले यस्तो कानुन बनाउला भन्नेमा शङ्का नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *