भर्खरै :

“भारतले नेपालको राजनीतिलाई धमिलो र अस्थिर बनाइरहेको छ”

“भारतले नेपालको राजनीतिलाई धमिलो र अस्थिर बनाइरहेको छ”

भक्तपुर, २७ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित) ले चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगरेको भनाइ राख्नुभएको छ ।
नेपाल कर्मचारी समाजको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीको आइतबार भएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष रोहितले भारत र संरा अमेरिकाले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको तर्क गर्नुभयो ।
उहाँले माओवादी पार्टीलाई ट्रोजन हर्सको संज्ञा दिँदै भारतले नेपालको राजनीतिलाई धमिलो बनाएको र भारतले नेपालको राजनीतिलाई अस्थिर बनाइरहेको बताउनुभयो ।
अध्यक्ष रोहितले एमाले र माओवादीले कम्युनिस्टको सिद्धान्त त्याग गरेको भन्दै ती पार्टी कर्तव्यच्युत भएको विचार राख्नुभयो ।
उहाँले कम्युनिस्ट पार्टीका नेताहरूले नै किसानलाई मोहियानी हकबाट वञ्चित गरेको प्रस्ट पार्नुभयो ।
उहाँले कम्युनिस्टहरू मजदुर र किसानको वकिलजस्तै बन्नुपर्ने धारणा राख्दै कम्युनिस्टहरू शत्रुभन्दा हरेक कुरामा अगाडि हुनुपर्ने विचार राख्नुभयो ।
अध्यक्ष रोहितले तल्लो वर्गका जनता सचेत र सङ्गठित नभएसम्म परिवर्तन नहुने तर्क गर्दै तल्लो तहका कर्मचारी, किसान र मजदुरलाई शिक्षित गर्नुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपाका सचिव प्रेम सुवालले देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भएकोले कर्मचारीहरूलाई स्थायी सरकार भनिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सङ्घीय निजामती कर्मचारीहरू काज र कार्यालयको कामको निहुँमा कुल सङ्ख्याको आधाभन्दा बढी काठमाडौँमा रहेको बताइन्छ । कतिपय स्थानीय तहमा जिम्मेवार कर्मचारी नहुँदा सरकारको उपस्थिति नै भएन । स्थानीय जनतालाई दुःख भयो ।”
सिद्धान्ततः सङ्घीय कर्मचारीमा देशभरिका नागरिक, प्रदेश कर्मचारीमा प्रदेशका नागरिक र स्थानीय तहमा स्थानीय तहका नागरिक नियुक्ति हुने कानुन व्यवस्था उपयुक्त हुन्छ । यसले स्थानीय तहमा अहिले भइरहेको कर्मचारीको अनुपस्थिति अन्त्य गर्नेछ, उहाँले बताउनुभयो ।
सचिव सुवालले इलाम र झापाका नागरिकलाई कञ्चनपुर र बैतडीमा नियुक्ति दिएर तलबले कर्मचारीको परिवार पाल्न सजिलो नहुने धारणा राख्दै भन्नुभयो, “स्थानीय तहको विकेन्द्रीकरण र स्वायत्त हुने गरी कानुनी व्यवस्था भए देशको छिटो विकास हुनेछ । विकास निर्माणको काम तीन तहको सरकारको अमानत वा स्थानीय जनताको उपभोक्ता समितिमार्फत गर्नु गराउनु उपयुक्त हुनेछ । सरकार र स्थानीय जनताले गर्न नसकेको काम एउटा निजी कम्पनीले गर्लान् भनी जिम्मा लगाउनु गलत हो ।”
कर्मचारीहरूले कानुनभित्र आफ्नो स्वार्थ कहाँ छ भनी खोज्नुभन्दा कानुनभित्र देशको स्वार्थ कहाँ छ खोज्नु जरूरी रहेको र आफू र परिवार रहने देश नरहने स्थितिबारे कर्मचारी सचेत हुनु जरूरी भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “एक सरकारी सचिवले सिंहदरबार भ्रष्टाचारको अखडा भएको बताए । यसको अर्थ सिंहदरबारको नेतृत्व गर्नेले सिंहदरबारलाई फोहोर बनायो भनेको हो । सिंहदरबार फोहर भए देशको अवस्था कति राम्रो होला ? सिद्धान्तहीन राजनीतिक दलहरूले सिंहरदबार कब्जा गरेसम्म देशको सङ्कट समाधान हुनेछैन । यसबारे कर्मचारी चनाखो हुनु आवश्यक छ ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले का. रोहितको पुस्तक नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन र इन्जिनियर समाज नेपालका उपाध्यक्ष नरेश खत्रीले माक्र्स र एङ्गेल्सको कम्युनिस्ट घोषणापत्रबारे प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *