नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भियतनाम यात्रा – ५
पर्यटन क्षेत्रलाई पनि जोड
भियतनाम आकारमा विशाल नभए पनि प्राकृतिकरूपमा सुन्दर देश हो । अङ्ग्रेजी अक्षरको S आकारमा उत्तर दक्षिण फैलिएको देशमा समुद्री किनारका मैदानी फाँट र होचा डाँडादेखि अग्ला पहाडसम्मका विविध भूस्वरूप छ, उष्णीय जङ्गल र विशाल बाँसघारीहरू, स्थानीय पहाडबाट मैदानी भागमा झर्दै गर्ने साना खोल्साखोल्सीदेखि चीनको तिब्बत र हिमालबाट बग्दै आउने विशाल नदीहरू र त्यसका शाखा प्रशाखाले सिञ्चित विशाल उर्वर फाँटमा विकास भएको प्राचीन मानव सभ्यता, विविध भूस्वरूपमा विकास भएको सभ्यताले भियतनामलाई सांस्कृतिकरूपमा पनि धनी तुल्याएको छ । दक्षिण–पूर्वी एसियामा इन्डोनेसियापछि युनेस्कोको विश्व सम्पदा सूचीमा धेरै पर्ने भियतनाम दोस्रो ठुलो देश हो । इन्डोनेसियामा जम्मा १० वटा विश्व सम्पदाहरू छन् भने भियतनाममा ८ । ती आठमध्ये पाँचवटा सांस्कृतिक सम्पदा, दुईवटा प्राकृतिक हुन् भने एउटा सांस्कृतिक तथा प्राकृतिक मिश्रण छ ।
प्राकृतिक र सांस्कृतिकरूपले धनी भियतनाममा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाहरूको सङ्ख्या थपिँदै जानुले विश्व पर्यटनको नयाँ गन्तव्यको रूपमा विकास हुन टेवा पुगेको देखिन्छ । विश्व पर्यटन उद्योगमा पर्यटकको सङ्ख्या यस दशकमा अझ ४ प्रतिशतले बढ्ने आकलन गरिएको छ । विश्व पर्यटन गन्तव्यमा प्रख्यात हुँदै गएको यस दक्षिण–पूर्वी एसियाले यस दशकमा बढ्दो पर्यटकको आवागमनले अझ लाभान्वित हुने निश्चित छ । यही मेसोमा भियतनामको आर्थिक सुधारले बढ्दो मध्यम वर्गीय सङ्ख्याको कारणले पनि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको देखाउँछ । साथै, अन्तर्राष्ट्रिय पर्यटकहरूको चाख पनि भियतनामतिर बढ्दै गएको देखाउँछ । भियतनामको पर्यटन प्रशासनको तथ्याङ्कअनुसार सन् १९९० मा दुई लाख पचास हजार विदेशी पर्यटक भित्याउने भियतनामले १९ वर्षपछि अर्थात् सन् २००९ मा ३८ लाख पर्यटकलाई भित्याउन सफल भयो । त्यसरी नै आन्तरिक पर्यटकको सङ्ख्या नै दुई करोड पचास लाखसम्म पुग्यो । यो सङ्ख्या अझ बढ्दै जाने देखिन्छ ।
हनोई अन्तर्राष्ट्रिय विमान स्थलमा राखिएका सरकारी स्वामित्वका भियतनाम एअरलाइन्सका जहाजहरू ।
हनोई सहरको सेरोफेरो
भियतनामको राजधानी सहर हनोईको आकाशमाथि उड्दै गर्दा मनमा डर र उमङ्ग एकैपल्ट महसुस भयो । उमङ्ग यस अर्थमा कि मन नै उद्वेलित गर्ने भियतनामको माटोमा टेक्न पाउने भयो, डर यसले कि बाक्लो हुस्सुले गर्दा कहीँ जहाजले अवतरण गर्न नसकी अन्तै लाने त होइन भनेर । बाक्लो हुस्सुलाई जहाजले छिचोल्दै गर्दा माथि आकाशबाट हनोई सहर छ्याङ्ग त देखिएन, तर बिस्तारै असङ्ख्य राता राता र गुलाफी रङ्गका घरका छानाहरू देखिन थालेपछि ढुक्क भएँ, अब हो चि मिन्हको देशमा आजै पाइला टेक्न पाउने भयो । जहाजको पाङ्ग्राले भुइँ छुन नपाउँदै धावन मार्गको छेवैमा लहरै राखिएका गाढा नीला रङ्गहरू माथि सेता रङ्गले (Vietnam Airlines) भियतनाम एअरलाइन्स र पुच्छरमा कमलको फूल कोरिएका जहाजहरूको सङ्ख्या र धावन मार्गहरूको लाइनहरूले हनोई अन्तर्राष्ट्रिय हवाई अड्डाको आकार र भियतनाम सरकारको स्वामित्वको एरअलाइन्सको आकार हाम्रो त्रिभुवन विमानस्थल र नेपाल एअरलाइन्सको तुलनात्मक आकारको अनुमान लगाउन गा¥हो भएन । टर्मिनल भवनको लम्बाइ, चौडाइ र अन्य साजसजावत र उपलब्ध सेवाहरूले हाम्रोभन्दा हनोई हवाई अड्डा आधुनिक र ठुलै देखियो ।
अपन आरिभल भिसा प्रणालीले (Upon Arrival Visa अथवा पर्यटक भियतनाम पुगेपछि एअरपोर्टमै भिसा लगाउने) व्यवस्थाले अन्तर्राष्ट्रिय पर्यटकको आवगमनलाई सहज बनाएको प्रस्ट हुन्छ । सुरक्षाकर्मीहरूको सजगता र जागरुकता यी कार्यहरूमा फितलो थिएन । हरेक कुरामा कम्प्युटराइज्ड प्रणाली भइसकेकोले चेकआउटको काममा ढिलासुस्ती देखिएन । ग्राउड ह्यान्डलिङको सेवाका लागि भियतनाम सरकारबाहेक अन्य दुई चारवटा फरक कम्पनीहरू उपस्थिति देखिए । भियतनाम सरकारले निजी कम्पनीहरूसँग सहकार्य गरेको रहेछ । विमानस्थलबाट बाहिर आउन नपाउँदै झमक्क साँझ परिसकेकोले हनोई सहरको रूपरङ्ग कस्तो छ, अनुमान लगाउन सजिलो भएन । तर, बसमा बसेर एअरपोर्टबाट बाहिरिँदै गर्दा उज्यालो सडक बत्तीसहितको चौडा फराकिलो बाटो, अग्ला गगनचुम्बी भवनहरूले हनोई सहर आधुनिक चोलामा फेरिसकेको भान भयो । तर, सहरको भित्री भाग अथवा कोर (भित्री भागमा) एरियामा पुगेसँगै भिडभाड, गुच्चमुच्च बस्ती, चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधनहरूको धक्कम धक्काले हाम्रो असन र भोटाहिटीको सम्झना भयो ।

हनोई सहरको प्रख्यात त्रुक बेक ताल
हनोई सहरको इतिहास र नामकरण
भियतनामका प्रमुख ठुला सहरहरू मानिने उत्तरको हनोई र दक्षिणको हो चि मिन्ह (पुरानो नाम साइगन) सहर क्षेत्रफल र जनसङ्ख्याको आधारमा साँच्चिकै ठुला सहरहरू हुन् । करिब ३३६० वर्ग किमिमा फैलिएको हनोई सहरको हालको जनसङ्ख्या करिब ८५ लाखको हाराहारीमा रहेको तथ्याङ्कले देखाउँछ । क्षेत्रफलको हिसाबमा हनोई काठमाडौँ उपत्यकाभन्दा पाँच गुणा ठुलो र जनसङ्ख्याको हिसाबमा तीन गुणाभन्दा ठुलो हो । रेड रिभर अथवा रातो नदी र थाई विन नदीले सिञ्चित हनोई करिब एक हजार वर्षको इतिहास बोकेको पुरानो सहर हो । भियतनामी भाषामा ‘ह’ को अर्थ नदी र ‘नोइ’ को अर्थ भित्रपट्टिले नदीको डेल्टा अथवा नदीको भित्री भागमा अवस्थित सहर भन्ने बुझिन्छ । हनोईको पुरानो नाम ‘डाई ला’ थियो तर ‘लाई वंशका’ का राजालाई थाईले सन् १०१० तिर एक दिन रातो नदीबाट एक भीमकाय ड्राइगनमाथि उठ्दै गरेको देख्यो । यस घटनालाई शुभलक्षणको संज्ञा दिँदै राजा थाईले सहरको नाम डाई लाबाट ‘थाङ लङ’ मा परिणत गर्ने आदेश दिएको विश्वास गरिन्छ । थाङ लङको अर्थ हुन्छ – माथि उठ्दै गरेको ड्राइगन ।
हनोई सहर नदीले मात्र घेरिएको छैन, सहरको विभिन्न भागहरूमा बीसवटा भन्दा ठुला साना तालहरू अवस्थित छन् । हाम्रोजस्तो प्राकृतिक तालहरूको दृश्यावलोकन गर्न सहरबाट धेरै टाढा जानुपर्दैन । सहरका यी तालहरू पर्यटकीय दृष्टिकोणले मात्र महत्वपूर्ण होइनन् बरु यिनीहरूलाई सहरको फोक्सो पनि मानिन्छ । सहरको बिचमा रहेको एउटा ताल ‘त्रुक बेक लेक’ पनि हो । यस ताललाई हालका दिनहरूमा राजनैतिकरूपले पनि प्रचारप्रसारमा ल्याइएको देखिन्छ ।
भियतनाम युद्धताका सन् १९६७ मा एक अमेरिकी बमवर्षक विमानलाई हनोईको आकासमा मिसाइल प्रहार गरी भियतनामी सेनाले खसालेको थियो । विमानलाई बचाउन नसकिने भएपछि पाइलटले आफ्नो कक्षबाट आफूलाई इजेक (हवाईजहाज दुर्घटनामा परेपछि आफू बच्न पाइलटले आफूलाई जहाजबाट अलग्ग गरेर प्यारासुटबाट सुरक्षित अवतरण गर्ने कार्य) गरेर आफू प्यारासुटबाट यही ‘त्रुक बेक’ तालमा अवतरण गरेका थिए । दुश्मन सैनिक पाइलट त्यो पनि भियतनामलाई बमवर्षा गर्ने सेनालाई स्थानीय जनताले बाँकी राख्ने कुरै भएन । लात मुका हान्दै तालबाट निकाल्दै उनलाई युद्धबन्दी बनाइयो । बन्दी बनाइएका पाइलट अमेरिकी नौ सेनाका एक एडमिरल भएकाले उनलाई विशेष निगरानीमा राखे पछि युद्ध बन्दीको साटासाटमा पछि अमेरिका फर्काइएको थियो । सन् २००८ मा रिपब्लिकन पार्टीका उम्मेदवार भई अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्राय्ट उम्मेदवार बाराक ओबामाबाट हराइएका व्यक्ति जोन म्याकेन नै ती पाइलट थिए । म्याकेनको देहावसान सन् २०१८ भएको थियो । आज त्रुक बेक तालको एक किनारमा जोन म्याकेनको सम्झनामा एउटा स्मृति शिला राखिएको छ जसमा अमेरिकी नेताहरू वा राष्ट्रपतिहरूको भ्रमण भियतनाममा हुने बेला त्यस स्मृति शिलामा श्रद्धासुमन अर्पण गर्ने गरिन्छ ।

जोन म्याकेन

अमेरिकी राष्ट्रपति बाइडेन (सन् २०२३ मा) त्रुक बेक तालमा राखिएको जोन म्याकेनको स्मृति शिलामा श्रद्धासुमन अर्पण गर्दै । (इन्सेटमा जोन म्याकेन)
सिङ्गो भियतनामको मीयो हनोई
ऐतिहासिक र सांस्कृतिकरूपमा जति हनोईको महत्व छ, राजनैतिकरूपमा अझै यसको महत्व धेरै भएको मानिन्छ । आधुनिककालमा फ्रान्स, जापान र अमेरिकाको आक्रमण र हस्तक्षेपको विरोधमा मात्र होइन ते¥हौँ शताब्दीमा तीन तीनपटक उत्तर दिशाबाट युआन मङ्गोलको आक्रमणको विरुद्ध लडेर देशलाई जोगाउने श्रेय पनि हनोईलाई दिइन्छ । सन् १९४७ मा भियतनामको स्वतन्त्रताको घोषणापछि पनि फ्रान्स र अमेरिकाले भियतनामको दक्षिण भागलाई कब्जा गरी देशलाई दुई टुक्रामा विभाजन गर्दा भियतनामको एकीकरणका लागि साम्राज्यवादी शक्तिहरूविरुद्ध द¥होसँग मुकाबिला गर्ने जस पनि उत्तरी भियतनाम तथा हनोईलाई जान्छ । यसरी इतिहास, संस्कृति र राजनैतिक पृष्ठभूमिका कारण पनि स्वदेशी एवं विदेश पर्यटकहरूको गन्तव्य हनोई सहर हुन गएको हो । यसबाहेक सन् १९४५ सेप्टेम्बर २ मा हो चि मिन्हले भियतनाम स्वतन्त्र भएको घोषणा गरेको विशाल चोक ‘बा डिन चोक’, सोही चोकमै अवस्थित रहेको हो चि मिन्हको समाधि भवन, हो चि मिन्ह सङ्ग्रहालय, सन् १९५८ देखि १९६९ सम्म हो चि मिन्ह कार्यरत रहेको काठको भुइँ नछुन्ने दुईतले घर (नेपालको झापा जिल्लामा पनि डुबान र सर्प तथा अन्य कीरा फट्याङ्ग्राबाट जोगिन बनाइएका काठका घरहरू पाइन्छन्), पुरातात्विक महत्वको सङ्ग्रहालय, फ्रान्सको राजधानी पेरिसको प्रख्यात नोट्रेड्याम गिर्जाघरको नमुनाको रूपमा सन् १८८७ मा बनाइएको सेन्ट जोसेफ क्याथ्रेडल, भियतनामको सैनिक सङ्ग्रहालय, हनोई अपेरा हाउस (नाट्यशाला), सहरको एक मध्य भागको साँघुरो गल्ली बाटोबाट दगुर्ने पुरानो रेल र अन्य थुप्रै स्मारकहरूले गर्दा हनोई सहर पर्यटकको लागि केन्द्र नै बनेको छ । हनोईवासी भियतनामीहरू भन्छन्, भियतनामलाई बुझ्न र वास्तविक भियतनामलाई चिन्न हनोई चहार्नुपर्छ, हनोईको खाना चाख्नुपर्छ र स्थानीय जनजीवनलाई चियाउनुपर्छ ।
Leave a Reply