भर्खरै :

डर त्रास देखाई गरिएका आन्दोलन आन्दोलन नभई केवल आतंक मात्र हो

देश निर्वाचनमय छ । उम्मेदवारहरुलाई मतदाताको घरघर पुगेर मतदाता रिझाउँदै फुर्सद छैन । मतदाताहरुलाई पनि आफ्नो घरको आँगनसम्मै मत माग्न आएका उम्मेदवारहरुलाई आफ्ना समस्या र गुनासाहरु पोख्दै फुर्सद छैन ।
निर्वाचन नजिकिँदै गर्दा ठाउँठाउँमा बम विस्फोटका समाचारहरुले पनि सञ्चार माध्यमहरुका पृष्ठहरुमा स्थान पाइरहेका छन् । सरकारले सुरक्षा कारण देखाउँदै निर्वाचन बहिस्कार गरेको विप्लव माओवादीका कार्यकर्ताहरुलाई पक्राउ गरेको समाचारहरु पनि प्रकाशित भइरहेका छन् ।
हरेक राजनीतिक दल र व्यक्तिहरुलाई निर्वाचनमा भाग लिने वा नलिने दुवै स्वतन्त्रता छ । त्यसरी नै मतदाताहरुलाई पनि निर्वाचनमा भोट दिने वा नदिने अधिकार हुन्छ । कुनै व्यक्ति वा राजनीतिक पार्टी मतदाताहरुलाई निर्वाचनमा मतदान गर्न र नगर्न दबाब दिनु दुवै नागरिक स्वतन्त्रता र अधिकारको हनन हो ।
निर्वाचन नजिकिँदै गर्दा देशका विभिन्न ठाउँहरुमा बम विस्फोटन गरेर जनताहरुलाई त्रसित बनाउनु अनि चुनाव विथोल्न खोज्नु जनताहरुको भोट खसाल्न पाउने अधिकारको हनन हो ।
त्यस्तै पूर्व माओवादी लडाकुहरुको नामबाट मंसिर ८ गते नेपाल बन्दको आह्वान गरेको समाचार पनि अहिले सञ्चार माध्यमहरुमा आइरहेका छन् । बन्द आह्वानकर्ताहरुले बन्दको समयमा अवज्ञा गर्ने हरेक व्यक्ति व्यक्तिलाई साँझ भौतिक कार्वाही गर्ने चेतावनी समेत दिएका छन् । बन्द त आह्वान गरे तर के कारणले बन्द आह्वान गरेका हुन् ? संघर्षका कार्यक्रम के के हुन् ? बन्द गर्नुको पछाडी के कस्ता कारणहरु छन् ? ती कुराहरु जनतालाई नबुझाई केवल डर, त्रास र धम्कीको बलमा गर्न खोजिएको बन्दलाई जनताहरुले कदाचित स्वीकार्ने छैनन् । चित्त नबुझेका विषयमा आन्दोलन एवं विरोधका कार्यक्रम गर्न सबै स्वतन्त्र छन् । तर डर त्रास देखाई, जनतालाई सशंकित तुल्याई गरिएका आन्दोलन आन्दोलन नभई केवल आतंक मात्र हो ।
त्यसकारण यस किसिमका सम्पूर्ण अराजक गतिविधिहरु बन्द गरी जनताहरुको भोट खसाल्ने अधिकारलाई सुनिश्चित गर्नु आजको आवश्यकता हो । सरकारले आवश्यक सुरक्षाको बन्दोबस्त गरी शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु आवश्यक छ ।
– राजन नेपाली, काठमाण्डौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *