अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
कैलाली, ३० फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार बोराडाँडी, कैलालीमा कार्यकर्ता भेला तथा छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुँजीवादी शासक दलहरूको विरोधमा कामदार वर्गले राजनीति सुरु नगरेसम्म यथास्थितिमा परिवर्तन नहुने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “हामीलाई दुःखको दलदलमा धकेल्ने शासक दलहरू हाम्रा शत्रु हुन्† त्यो दलबाट निकाल्न लागिपर्ने नेमकिपा जनताको साँचो मित्र हो ।”
शत्रु र मित्र चिनेर पनि शत्रुको विरोध र मित्रलाई साथ नदिँदा देश नरहने अवस्था आए आफू पनि भागीदार हुनुपर्ने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले भन्नुभयो, “जनतालाई चुनावमा पटक पटक धोका दिने दलहरूले संसद्मा विदेशीका इसारामा आफ्नो स्वार्थ पूरा गर्न विश्वासको मत मागिरहेका छन् । बोली र व्यवहार उल्टो देखाउने, देश र जनताको अहितमा काम गर्ने दलहरूलाई नेमकिपाले विश्वासको मत नदिने निर्णय गरेको छ ।”
“नाम फरक भए पनि पुँजीवादी सरकारमा जाने दलहरूको काम एउटै छ । जनताको राजनीतिक चेतनाले नै त्यस्ता विश्वासघाती दलहरूलाई किनारा लाउनेछ”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपा कामदार जनताको भविष्य सुनिश्चित हुने समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत रहेको बताउनुभयो ।
पुँजीवाद र समाजवादको भेदबारे जनतालाई स्पष्ट पार्नुपर्ने आवश्यकता औँल्याउँदै समाजवादी व्यवस्थामा उत्पादनका मुख्य मुख्य साधन र स्रोत सार्वजनिक हुने, शिक्षा–स्वास्थ्य निःशुल्क हुने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने, रोजगारीको सुनिश्चितता हुने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले विद्यालयमा पाठ्यपुस्तकको पढाइ हुन्छ तर समाजबारे नपढाइनाले नयाँ नयाँ समस्या आइरहेको बताउनुभयो ।
नेक्राविसङ्घ शिक्षा, स्वास्थ्य निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षाको बन्दोबस्त गर्न र शिक्षालाई उत्पादन श्रमसँग जोड्ने व्यवस्था ल्याउन सङ्घर्षरत रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मी रविना सुवालले महिलाको स्वास्थ्य राम्रो भए परिवारलाई कम दुःख हुने भएकोले रोग लाग्नुभन्दा पहिले नै सतर्कता अपनाउन नियमित स्वास्थ्य परीक्षण गराउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका अध्यक्ष रमेश रावल र बोराडाँडी नेक्रामसङ्घका नन्दा रानाले पनि बोल्नुभएको थियो ।
Leave a Reply