भर्खरै :

श्रमिक महिला दिवसमा ‘केटीहरू’ बुलेटिनको अन्तरक्रिया

श्रमिक महिला दिवसमा ‘केटीहरू’ बुलेटिनको अन्तरक्रिया

सुर्खेत, ३० फागुन । नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति सुर्खेतको आयोजनामा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ‘केटीहरू’ बुलेटिन अङ्क १६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले समाजवादी व्यवस्थामा मात्र महिलाहरूले अधिकार पाउने भएकाले सम्पूर्ण कामदार महिला सचेत र सङ्गठित हुनुपर्ने बताउँदै भियतनाम, कोरिया, क्युवा र चीनलगायतका देशमा भएको क्रान्तिमा महिलाहरूको योगदान महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
आज प्यालेस्टिनमा इजरायलले अस्पतालमा उपचार गरिरहेका सुत्केरी महिला, निर्दोष बालबालिकाहरूलाई हत्या गरिरहेको छ, त्यो साम्राज्यवादीहरूको मानवीय काम नभएको भन्दै उहाँले सम्पूर्ण कामदार महिलाहरू एक भई अधिकारका लागि सङ्घर्ष गर्ने बेला आएको छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले कामदारवर्गका महिलाहरूको वास्तविक स्वतन्त्रता समाजवादी व्यवस्थामा मात्र हुने बताउँदै आदिम साम्यवादमा सबै समान रहेको तर सामन्तवाद र पुँजीवादले श्रमिक महिलालाई दास बनाएको चर्चा गर्नुभयो । विभिन्न अन्धविश्वासका कारण महिलालाई दमन र शोषण गर्दै आइरहेको उल्लेख गर्दै उहाँले आज पनि कामदार महिलाले पूर्ण अधिकार पाएका छैनन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका जिल्ला अध्यक्ष तुलसी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर समितिका अध्यक्ष शेरबहादुर शाही, नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापा, नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेम थापा, नेक्रामजदुरसङ्घका केन्द्रीय सदस्य अकल राना, नेपाल मजदुर किसान पार्टी चामुण्डा दैलेख नगर समिति अध्यक्ष निरकबहादुर शाही, नेपाल क्रान्तिकारी मजदुर सङ्घका जिल्ला संयोजक निरक शाही, नेपाल क्रान्तिकारी किसान सङ्घका पुष्पा राना, शिक्षक सङ्घका इन्द्रप्रसाद न्यौपाने, महिला सङ्घका बिजुकला राना, जानकी सुनार, कल्पना शाह, सपना शाही र अङगबहादुर शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *