भर्खरै :

अध्यक्ष बिजुक्छेँसँग महिला कबड्डी प्रतियोगिताका खेलाडीहरूको भेट : खेलाडीहरूद्वारा ख्वप कलेज र ख्वप अस्पतालको अवलोकन

अध्यक्ष बिजुक्छेँसँग महिला कबड्डी प्रतियोगिताका खेलाडीहरूको भेट : खेलाडीहरूद्वारा ख्वप कलेज र ख्वप अस्पतालको अवलोकन

भक्तपुर, १ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले खेलकुदलाई अतिरिक्त क्रियाकलापसँग मात्र नजोडी देशको शिक्षा, स्वास्थ्य र संस्कृतिसँग पनि जोड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरनगर महिला कबड्डी प्रतियोगिताका सहभागी खेलाडीहरूसँग भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेँले खेलकुदमा महिलाहरूको प्रस्तुति रोचक भएको बताउँदै महिलाहरूले खेल जीवनलाई निरन्तरता दिनुपर्छ भन्नुभयो ।
विकसित देशहरूले खेलकुदको विषयमा विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्ने व्यवस्था गरेको प्रसङ्ग जोड्दै उहाँले नेपालमा पनि बिस्तारै खेलकुद विषयको अध्ययन अध्यापन र उच्च शिक्षा पाउने बन्दोबस्त हुँदै जाने विश्वास दिलाउनुभयो ।
खेल शारीरिक र मानसिक स्वास्थ्यको लागि आवश्यक विषय भएको उल्लेख गर्दै उहाँले अनुशासन, समय परिपालना खेलाडीहरूको राम्रो र स्वागतयोग्य पक्ष भएको बताउनुभयो ।
प्रतियोगिता अवधिभर खेलाडीहरूलाई उत्साहित बनाइराख्नुपर्ने भन्दै अध्यक्ष बिजुक्छेँले विद्यार्थी जीवनमा सिकेको ज्ञान र सिप जीवनभर अङ्गीकार गर्नुपर्ने बताउनुभयो ।
खेलकुद देश विदेशको राजनीति र लडाइँसँग पनि जोडिएको विषय भएको स्पष्ट पार्दै उहाँले अन्तर्राष्ट्रिय जगतमा खेलाडीहरूले आफूलाई देशको राजदूतको रूपमा प्रस्तुत गर्नुपर्छ भन्नुभयो ।
देशको रक्षा गर्न र शत्रुमाथि हमला गर्ने भावनाले खेलकुदलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले खेलाडीहरूले नागरिक भावनाले प्रतियोगितामा सहभागी हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर क्षेत्रफलको आधारमा सानो नगर भए पनि कला संस्कृतिले समृद्ध र संसारकै जीवित सङ्ग्रहालयको रूपमा परिचित नगर भएको बताउनुभयो ।
प्रतियोगितामा सहभागी खेलाडीहरूलाई भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पताल अवलोकनको उद्देश्यमाथि प्रस्ट पार्दै उहाँले जनताको अझ बढी सेवा गर्ने उद्देश्यले भक्तपुर नपाले काम गरिरहेको बताउनुभयो ।
मेडिकल कलेज सञ्चालन गर्ने उद्देश्यअनुरूप ख्वप विश्वविद्यालय सम्बन्धनको लागि भक्तपुर नपाले निरन्तर पहल गर्दै आएको स्मरण गराउँदै उहाँले भक्तपुर नपालाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्ने नगरपालिकाको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला कबड्डी सङ्घ दार्चुलाका प्रशिक्षक श्यामराजा अवस्थीले भक्तपुर नपाको आयोजनामा भएको महिला कबड्डी प्रतियोगिता निकै उत्साहपूर्वक सञ्चालन भइरहेको र प्रतियोगिताका सहभागीहरूलाई नपाले खान र बस्ने व्यवस्थाले खेलाडीहरूलाई धेरै सहजता प्राप्त गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विभिन्न नगरपालिकाबाट उपस्थित खेलाडीहरूलाई खेलमार्फत जोडिएको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लानुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर महिला कबड्डी प्रतियोगितामा १५ वटा नगरपालिकाबाट सहभागी खेलाडीहरूले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेजसहित सातवटा संस्थाहरूको स्थलगत अवलोकन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *