भर्खरै :

नेपालले भियतनामबाट के सिक्ने ?

नेपालले भियतनामबाट के सिक्ने ?

भियतनाम यात्रा – ९

युद्धले ध्वस्त पारेको देश
सगरमाथाले नेपाललाई चिनाएजस्तै भियतनाम युद्धले भियतनामलाई संसारमाझ चिनायो । दोस्रो विश्वयुद्धपछि संसारमा हालिमुहाली चलाउँदै आएका युरोपेली देशहरूहरूको शक्ति कमजोर हँुदै गएपछि संयुक्त राज्य अमेरिका र सोभियत सङ्घ नयाँ विश्वशक्तिको रूपमा उदाए । सोभियत सङ्घको नेतृत्व र सहयोगमा संसारमा कम्युनिस्ट विचार फैलिने र समाजवादी व्यवस्था स्थापना हुने डरले अमेरिकाले संसारका धेरै देशहरूमा युद्ध थोपर्ने, सैनिक विद्रोह (कू) को माध्यमले सत्ता पल्टाउने, छद्म युद्ध चलाउनेजस्ता उपाय अपनाइयो । पूर्वी एसियाको एक गरिब देश भियतनाम पनि अमेरिकाको यस हत्कण्डाको सिकार हुनपुगेको थियो । सबै युद्धका नियमहरू उल्लङ्घन गरेर, भए–भरका नयाँ हतियारहरू प्रयोग गरे पनि अमेरिकाले २० वर्षमा पनि युद्ध जित्न सकेन । महाशक्ति अमेरिकालाई घुँडा टिकाउने देश भियतनाम साँच्चै भन्नुपर्दा युद्धले धुजाधुजा बनाएको देश हो भन्दा फरक नहोला । भियतनामी जनताका महान् नेता हो चि मिन्हको ‘युद्ध स्वीकार्ने तर स्वाधीनतासँग सम्झौता नगर्ने’ दृढ अठोटले भियतनाम एक स्वाधीन देशको रूपमा संसारसामु उभिन सफल भयो ।
युद्धको खरानीबाट माथि उठ्न सहज पक्कै थिएन । उक्त युद्धमा भियतनाले सैनिक र गैरसैनिक गरेर करिब ३० लाख जनता गुमायो, ३,६०,००० सदाका लागि अपाङ्ग भए, करिब ८,००,००० बालबालिका टुहुरा भए, करिब १० लाख जनताले देश छोडे । देशको एकीकरणको २÷३ वर्षमै सहयोगी मित्र चीनसँगको तिक्तता र आर्थिक र सैनिक सहयोग प्रदान गर्ने अर्को मित्र सोभियत सङ्घबाट ८० को दशकको मध्यतिरबाटै सहायतामा कमी हुन थालेपछि भियतनाम आर्थिकरूपमा कमजोर हुँदै गयो । तर, भियतनामी कम्युनिस्ट पार्टीको नेतृत्वले संयम गुमाएन । जून १९८५ मा भएको पार्टीको आठौँ विस्तारिक बैठक (प्लेनरी र छैटौँ केन्द्रीय समितिको बैठक) तथा त्यसपछिका बैठकहरूले व्यापक छलफल गर्दै डिसेम्बर १९८६ मा आर्थिक नीतिमा पुनःर्निर्माणको ऐतिहासिक निर्णय गर्यो । त्यस्तै, दक्षिण पूर्वी एसियाली देशहरूको सङ्घ (ASEAN), एसिया प्रशान्त आर्थिक सहयोग मञ्च (ASEAN) तथा संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठन (WTO) जस्ता क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूलाई भियतनामी जनताले आफ्नो आर्थिक उन्नतिमा उपयोग गर्दै गए । खाद्यान्न सङ्कट भोगिरहेको भियतनामले नयाँ आर्थिक नीति लागु गरेको तीन वर्षमै सन् १९८९ मा पहिलोपल्ट १४ लाख टन धान निर्यात गर्यो र सन् २००८ सम्ममा ४७ लाख टन निर्यात ग¥यो । सन् २००८ मा विश्व खाद्य सङ्कटको समयमा भियतनामको यस खाद्य निर्यातले विश्वलाई नै राहत दिइएको बारे धेरै प्राज्ञिक अध्ययनले देखायो ।
सन् २००८ मै भियतनामको प्रतिव्यक्ति आय एक हजार अमेरिकी डलर पुगेपछि उसलाई अति कम विकसित देशको सूचीबाट हटाएको थियो । आज भियतनाम संसारसामु एक आर्थिकरूपमा उदाउँदो देशको रूपमा परिचित हुँदै छ । हाम्रो देश नेपालले भियतनामले जस्तै सय वर्षसम्म उपनिवेशको सिक्रीले बाँधिनुपरेन, न त बिसौँ शताब्दीकै एक क्रूर, अमानवीय र भयङ्कर युद्धलाई भोग्नुपर्यो । युद्धपछिका वर्षहरूमा ७० प्रतिशत भियतनामी जनता गरिबी रेखामुनि थियो भने आज २० प्रतिशतमा झरेको विश्वास गरिन्छ । तर, विगत ७० वर्षदेखि विदेशी सहयोग, सल्लाह र शुभेच्छा प्राप्त गर्दै आएको नेपालको आफ्नो आर्थिक हविगतसँग हामी सबै नेपाली परिचित छौँ । त्यसैले भियतनामबाट हामीले सिक्न सक्ने धेरै कुराहरू हुनसक्छन् ।


आर्थिक नीतिसँगै अन्य क्षेत्रको पनि सुधार
सन् १९८६ मा नयाँ उदार आर्थिक नीति डोई मोइ लागु गरेपश्चात् विकाससँग अन्तरसम्बन्ध भएका अन्य धेरै क्षेत्रका नीतिहरूमा पनि सुधार वा पुनर्विचार गर्नु आवश्यक थियो । भौतिक पूर्वाधारको निर्माण, आवश्यक पुँजी निर्माण, कृषि तथा औद्योगिक उत्पादन, अन्य खनिज स्रोतको उत्पादन र व्यवस्थापन, शिक्षा र स्वास्थका नीतिहरूमा सुधार गर्नु उत्तिकै आवश्यक थियो । यिनीहरूभन्दा प्रमुख कुरा राजनैतिक स्थायित्व र इच्छाशक्ति र शान्ति सुरक्षाको प्रत्याभूति हो । यी सब कुराहरूलाई भियतनामी कम्युनिस्ट पार्टीले एक एक गरेर विश्लेषण गर्दै नयाँ नयाँ नीति अँगाल्दै अगाडि बढेको देखिन्छ ।
शिक्षा क्षेत्रको कुरा गर्दा सन् १९७५ मा देशको एकीकरणपश्चात् विश्वव्यापी प्राथमिक शिक्षा अनिवार्य अभियानको नीति अपनाउँदै आएको भियतनामले डोइ मोइपछि तल्लो तहदेखि उच्च शिक्षासम्म सबल र सुदृढ बनायो । नयाँ आर्थिक नीति लागु भइसकेपछि आवश्यक हुने जनशक्तिलाई ध्यानमा राखेर व्यावसायिक तथा अन्य शिक्षालाई पनि जोड दिई शिक्षा नीतिमा विस्तारै आवश्यकताअनुसार परिमार्जन र परिर्वतन गर्दै गएको देखिन्छ ।
त्यस्तै, स्वास्थ्य क्षेत्रको कुरा गर्दा भियतनामी कम्युनिस्ट पार्टीको नीतिअनुसार विशेष गरेर गाउँ, कुना–कन्दरा र विपन्न समुदायलाई निःशुल्क स्वास्थ्य सेवाको पहुँच पु¥याउँदै आएको सरकारको नयाँ आर्थिक नीतिले सहरी जनजीवनमा आएको परिवर्तनअनुसार त्यस्तै क्षेत्रहरूमा स्वास्थ सेवामा न्यून शुल्क लिँदै सरकारलाई पर्ने अत्यधिक भारलाई कम गर्दै विपन्न वर्गलाई दिनुपर्ने सुविधालाई निरन्तरता दिँदै गयो ।
सबभन्दा महत्वपूर्ण कुरा भियतनामी कम्युनिस्ट पार्टीले सोभियत सङ्घसँग आर्थिक, रणनैतिक तथा कूटनैतिकरूपमा निर्भर आफ्ना नीतिहरूमा साहसका साथ परिवर्तन गर्यो । चीनसँगको तिक्तताको अन्त्य गरी सन् १९९१ मा पुरानो सम्बन्धलाई नयाँ जगबाट सुरुवात गर्यो भने संयुक्त राज्य अमेरिकासँग नयाँ कूटनैतिक सम्बन्ध सन् १९९५ मा सुरु गर्यो । अमेरिकासँगको यो सम्बन्ध कायम गर्न अमेरिकाले सन् १९९४ मा भियतनाममाथि लगाएको नाकाबन्दी पनि अन्त्य गरेको थियो, यसको लागि बिल क्लिन्टन राष्ट्रपति हुँदा कूटनैैटिक काम (लबिङ) गर्ने दुई प्रमुख व्यक्तिहरूमा भियतनाम युद्धका युद्धबन्दीहरू थिए – जोन म्याकेन र जोन केरी । भियतनामलाई विदेशी लगानी मैत्री बनाउन पनि यी सब कुराको आवश्यकता थियो । यसरी विश्वका दुई आर्थिक शक्ति अमेरिका र चीन जसका बिच विगतका वर्षहरूमा प्रतिस्पर्धात्मक सम्बन्ध रहेको भए तापनि भियतनामले दुवैलाई आफ्नो राष्ट्रको हितमा उपयोग गर्न सफल देखिएको छ । अन्तर्राष्ट्रिय भूराजनीति र शक्ति राष्ट्रहरूको सम्बन्धको संवेदनशीलतालाई बुझेर आफ्नो देशको हितको लागि कसरी आफ्नो कूटनीतिमा समयानुकूल परिवर्तन गर्ने भन्ने कुरा पनि नेपालले भियतनामबाट सिक्न सकिने देखिन्छ ।
विदेशी लगानी, ऋण वा अनुदानका मामलामा भियतनामले सजगता अपनाउँदै अगाडि बढेको देखिन्छ । विदेशी ऋण कुनै देशले कतिसम्म लिन सकिन्छ भन्नेबारे अर्थशास्त्रमा एउटा सिद्धान्त छ – ऋण र कुल गार्हस्थ उत्पादनको अनुपात (Debt to GDP Ratio) । यस सिद्धान्तले भन्छ – यो अनुपात ५० प्रतिशतभन्दा बढी भएमा देशको आर्थिक अवस्था नकारात्मक प्रवृत्तिमा जान सक्छ । जस्तैः कुनै देशको विदेशी ऋण १०० युनिट छ र कुल गार्हस्थ उत्पादन २०० युनिट छ भने ऋण र कुल गार्हस्थ उत्पादनको अनुपात १००/२०० . १/२ अथवा ५० प्रतिशत हुन आउँछ । भियतनाम सरकारले यस कुरालाई मनन गरेको देखिन्छ भने बाह्य ऋणभन्दा बढी आन्तरिक ऋणलाई परिचालन गरिएको विभिन्न प्रतिवेदनले देखाउँछ ।


जनताले पत्याएको सरकार
देशलाई आर्थिक तथा सांस्कृतिकरूपमा अगाडि बढाउन अत्यन्त आवश्यक कुराहरूमध्ये सक्षम सरकार र इमानदार नेतृत्व एवम् राजनैतिक स्थायित्व पनि हो । राजनैतिक स्थायित्व र इमानदार नेतृत्वका कारणले नै आज भियतनाम नमुनाको रूपमा अगाडि बढेको देखिन्छ । सन् २०१४ मा वासिङ्टनस्थित स्वतन्त्र थिङ्क ट्याङ्क अनुसन्धान संस्था ‘प्यू रिसर्च केन्द्र Pew Research Center’ ले एउटा सर्भे गर्यो । सो सर्भेमा विकसित र विकासशील देश समावेश गरेर ४४ देशका जनतालाई सहभागी गरिएको थियो । सो सर्भेमा – तपार्इँका छोराछोरीहरूको आर्थिक अवस्था तपाईँको भन्दा राम्रो वा नराम्रो के होला भनी प्रश्न सोधिएको थियो । आर्थिक अवस्था भविष्यमा राम्रो हुने विश्वास गर्ने भियतनामीहरू ९५ प्रतिशत थियो । जबकि चीनमा यस्तो विश्वास राख्ने ८५ प्रतिशत, फिलिपिन्समा ५२ प्रतिशत, अमेरिकामा ३० प्रतिशत र सबभन्दा कम फ्रान्समा १३ प्रतिशत जनता थिए । यो सर्भेले आफ्नो सरकारप्रति जनताको आस्था र विश्वासलाई राम्ररी झल्काउँछ । सोही अध्ययनमा तपाईँ आफ्नै देशमा बस्नुहुन्छ वा विदेश जानुहुन्छ भन्ने प्रश्नमा पनि ८८ प्रतिशत भियतनामीहरू, ७५ प्रतिशत चिनियाँहरू, ६७ प्रतिशत केन्यालीहरू तथा ६५ प्रतिशत फिलिपिनोहरूले आफ्नै देशमा बस्ने विचार व्यक्त गरे ।
यो अध्ययनले भियतनामी जनता आफ्नो देश र सरकारप्रति कति आशावादी छन् भन्ने कुरा प्रस्ट्याउँछ । सरकारले आफ्नो जनतालाई यति विश्वास दिलाउन सक्नु सानो कुरा अवश्य होइन । नेपालको हकमा आफ्नो सरकारप्रतिको नेपाली जनताको विश्वासको अवस्था त राहदानी दिने त्रिपुरेश्वरको कार्यालय र त्रिभुवन विमानस्थलमा बिदेसिन बसेका युवाहरूको लामले प्रस्ट पार्छ ।
‘भियत किइउहरूको’ देश फिर्ती
सन् १९७५ मा भियतनामको पूर्ण एकीकरणपछि राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक कारणहरूले करिब २० लाख भियतनामीहरू देश छोडेर छिमेकी देशहरू, युरोपका विभिन्न देशहरू, अमेरिका र क्यानडामा समेत पुगेको तथ्याङ्कले देखाउँछ । ती डायस्पोरा भियतनामीहरूलाई भियतनाममा भियत किइउ (Viet kieu) भनिन्छ । देश छोडेर जाने ती भियत किइउहरूलाई आज पनि धेरै भियतनामीहरू राम्रो मान्दैनन् । उनीहरूको तर्क थियो– विदेशीको पञ्जाबाट देश भर्खरै मुक्त भएको अवस्थामा सबै जनता मिलेर देश बनाउनुपर्ने बेला देश छोडेका यिनीहरू भगुवा र देशद्रोही हुन् । आज भियतनाम एकीकरणपछि जन्मेका नयाँ पुस्ताको सङ्ख्या करिब ७० प्रतिशत छ, उनीहरूले हिजोका इतिहासलाई फरक ढङ्गले हेर्छन् । उनीहरू भन्छन्, “हामीले विगतलाई बढी कोट्याउनुभन्दा भविष्यलाई सोच्नुपर्छ ।”
देश छोडेकाहरू पनि आफ्नै तर्कअगाडि राख्छन् – हामीले बिरानो देशमा गएर धेरै दुःख भोग्यौँ । एक दुई लाख त गन्तव्य पुग्नुभन्दा अगाडि बाटामै वा डुङ्गामै मरे । जब नौलो देशमा पुग्यौँ, न त्यहाँको भाषा आउँथ्यो, न संस्कृति र परम्परा थाहा थियो, न हातमा केही सिप नै थियो । विदेशी भनेर कति कति छिः छिः र घृणा भोग्नुपर्यो । आफ्नो देश छोडेर जानेहरूले विदेशी भूमिमा सुरुका दिनहरूमा हातमुख जोर्न र अस्तित्वका लागि लड्नुपथ्र्यो । यस कुराबाट पार लागेपछि आफ्नो पहिचान र थातथलोको चासो गर्ने रहेछ । भियत किइउहरू पनि आज यस्तै अवस्थामा रहेको बताइन्छ । देश आर्थिकरूपमा सक्षम हुँदै आएको र विश्व मञ्चमा नयाँ रूपमा प्रस्तुत भएकोले देश फर्कनेहरूलाई पनि भियतनाम सरकारले प्रोत्साहन गर्ने नीति लिएको देखियो ।
शालिन र भद्र नवयुवाहरू
भनिन्छ, नयाँ पुस्ता पुरानाभन्दा फरक हुन्छ । हुनु पनि पर्छ, नत्र समाजले कसरी फड्को मार्छ ? नयाँ पुस्ताले पुरानालाई कसरी व्यवहार गर्नुपर्छ भन्ने सर्वव्यापी नियम कतै भेटिँदैन । यस्तो व्यवहारको ढाँचा (Pattern) सबै देश र महादेशमा एउटै नहुन सक्छ । देशका नियम कानुनदेखि त्यहाँको धर्म, परम्परा, संस्कृति र संस्कारले पनि यसलाई निर्धारण गर्छ । तर, सामान्यतया पश्चिममा भन्दा पूर्वीय देशहरूमा हिन्दू, बौद्ध वा कन्फ्युसियस दर्शनले आफ्नो अग्रज र पुर्खाको सन्मान र आदर गर भन्छ । भितयनाम, कम्बोडिया र लाओस, हिन्दू र चीनको प्रभाव भएका देशहरू भएकाले संयुक्तरूपमा ‘हिन्द चीन’ (IndoChina) भनिएको हो । यसरी हिन्दू र कन्फ्युसियस दर्शनबाट प्रभावित देश भएकाले यहाँ युवाहरू विदेशी र आफ्ना अग्रजहरूसँग आदरपूर्वक प्रस्तुत भएको भेटिन्छन् । हरेक पसल र कार्यालय, पैसा साट्ने (मनी एक्जेन्ज), रेस्टुराँदेखि हरेक ठाउँमा युवाहरू नै सक्रिय देखिन्छन् । उनीहरूमा हामीकहाँ जस्तै ख्याल ठट्टा (सेन्स अफ ह्युमर) पनि राम्रै देखिन्छ । एउटा पसलमा घुँडामा च्याटिएको पाइन्ट (आजभोलि यसलाई ग्रन्च फेसन भनिन्छ सायद) लगाएकी नानीलाई यस्तो च्याटेको लगाउनु हुँदैन भनेर जिस्किँदा हाँसेर जवाफ फर्काइन् – आइ एम पोर (म गरिब छु) ! एकजना ट्याक्सी चलाउने करिब २०/२२ वर्षको नवयुवाले तपार्इँहरू सामान किनेर आउनुस् म तपाईँहरूलाई यही पर्खि राख्छु र वेटिङ चार्ज लिन्नँ भन्दा मन नै भावुक भयो । उनको शालिनता र सोझोपन देखेपछि ६० हजार डोङ मागेकोमा हामीले १ लाख दियौँ र पैसा फिर्ता लिएनौँ । १ लाख डोङको हाम्रो नेपाली रु. ५५० हुन आउँछ । करिब एक घण्टाको समय उसले दिएर त्यति पैसा भनेको हाम्रोमा भन्दा निकै सस्तो थियो । इमानदार, अनुशासित, बलियो र जनताप्रति जवाफदेही सरकारको ज्वलन्त नमुना भियतनामजस्तै लाग्यो हामीलाई । भियतनामको सफलताका अन्य धेरै गुह्य कुरा जान्ने इच्छा र जाँगर हुँदाहुँदै पनि त्यसको लागि समयले नेटो काटिसकेको थियो । उत्तर भियतनामको हनोई र मध्य भागको दा नाङ सहरको ६ दिने भ्रमणलाई टुङ्ग्याएर हामीले भारी मन लिएर भियतनामसँग ‘अहिलेलाई बिदा भन्यौँ !’
सन्दर्भ सामग्री :
१. मजदुर किसान (नेमकिपाको केन्द्रीय समितिको मुखपत्र, वर्ष ३ अङ्क १, २०७०)
२. भियतनाम एक परिचय २०२३ साल, नारायणमान बिजुक्छेँ
३. Vietnam Tourist guide Book, Van Publication House, Vietnam ।
४. Hard Choice, Hilarry Clinton
५. गाईड, मिस्टर टुवान दिएका धेरै सूचनाहरू
६. अनलाइनमा उपलब्ध विभिन्न आलेख तथा रिपोर्टहरू
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *