यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका जनशक्तिलाई दक्ष र सीपयुक्त बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै प्रत्येक युवाहरूलाई विश्वविद्यालयको सर्टिफिकेटसँगै सीपमूलक ज्ञान दिने प्रयास गर्दै आएको बताउनुभयो ।
आधारभूत विद्यालय समिति भक्तपुरको २५ औँ वार्षिकोत्सव (रजत जयन्ती २०८०) को अवसरमा बुलेटिन विमोचन तथा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यार्थीहरूलाई स्थानीय विषयमा अध्ययन अध्यापन गराउँदै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले युवाहरूलाई रु.५ लाखसम्मको उद्यमशीलता ऋणको व्यवस्था गर्दै आएको चर्चा गर्दै उहाँले भक्तपुर नपाले शिक्षा सँगसँगै व्यवहारिक र सीपमूलक तालिमलाई जोड दिँदै आएको बताउनुभयो ।
आधारभूत विद्यालयलाई राम्रो बनाउन विद्यालयको आवश्यकताअनुसारको भौतिक विकासको लागि आर्थिक सहयोग गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुर नपा शिक्षामा धेरै लगानी गरेको नगरपालिका हो भन्नुभयो ।
आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा समितिले विद्यार्थीको रुचि र चाहनाअनुसारका गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
नगर शिक्षा शाखा भक्तपुरका प्रमुख साधुराम फुयालले भक्तपुरको शिक्षा विकासमा आधारभूत विद्यालयको उल्लेखनीय भूमिका रहेको स्पष्ट पार्दै भक्तपुरको शिक्षा प्रगतिउन्मुख हुँदै गइरहेको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय एकाइ समितिका कल्पना ज्ञवालीले भक्तपुरले शिक्षा रूपान्तरणमा धेरै फड्को मारिसकेको बताउँदै विद्यार्थीलाई किताबी ज्ञानसँगसँगै व्यवहारिक र सीपमूलक ज्ञान प्रदान गर्नु आजको आवश्यकता भएको बताउनुभयो । उहाँले विद्यार्थीहरूलाई श्रम गर्न र श्रमको सम्मान गर्न सिकाउनुपर्छ भन्नुभयो ।
उक्त कार्यक्रममा आधारभूत विद्यालय समितिका सञ्चालक सदस्य पुष्पलाल सुजखू, शिक्षक प्रतिनिधि नरेन्द्रप्रसाद जोशी, समितिका उपाध्यक्ष तीर्थलक्ष्मी धन्छा र समितिका सदस्य सूर्यबहादुर फोँजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले अवकाश प्राप्त शिक्षकहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । आधारभूत विद्यालय समितिको रजत जयन्तीको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थी र विद्यालयहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
Leave a Reply