यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
तराईमा दहेजको नाममा बढ्दै गएको विकृति तथा विसङ्गतिले गर्दा यहाँका अभिभावकहरू चिन्तित बनेका छन् । कानुनतः छोराछोरी समान हुन् । छोरीहरूलाई छोरासरह व्यवहार गर्नुपर्छ भने आम अभिभावकमा भावना जगाउन सरकारी र गैरसरकारी सङ्घ तथा संस्थाहरू लागे पनि सतहमा त्यस्तो देखिँदैन ।
पहिला पहिला भन्ने गर्थे, छोरी पराइ घर जाने हो किन शिक्षा, दीक्षा दिने ? उनीहरू पढाइमा लगानी गर्नुभन्दा पनि आफ्नो क्षमताअनुसार दाइजो (दहेज) दिएर बिहे गर्नु नै उपयुक्त ठान्दछन् ।
समयको विकास क्रमसँगै यहाँका अभिभावकहरूको सोच र चिन्तनमा पनि विकास भएको देखिन्छ । छोरीलाई पनि छोरासरह शिक्षादीक्षा दिएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने भावना लिएर हिजोआज छोरीहरूलाई पनि उच्च शिक्षासम्म अध्ययन गर्नमा लगानी गरेको देखिन्छ । छोरीहरूलाई पढाउनको लागि मधेस प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अगाडि सारेको देखिन्छ ।
तराईमा अधिकांश विवाह मागी विवाह हुने गर्दछ । केटी पक्षले केटा पक्षको घरमा गई केटा माग्ने गर्दछ । केटा पक्षले केटी पक्षसँग दहेज लिने दिने विषयमा सौदाबाजी हुन्छ । केटा पक्षले भने जति नगद र जिन्सी सामान केटी पक्षले दिन तयार भयो भने विवाह प्रक्रिया अगाडि बढ्छ । नत्र भने दुवै पक्ष आ–आफ्नो बाटो लाग्छन् ।
यदि केटा पक्ष र केटी पक्षबिच दहेज लिने दिने विषयमा सकारात्मक छलफल भयो भने बिहे हुनुअगाडि केटा पक्षले आफ्नो पारिवारिक क्षमताअनुसार २०–५० जना केटी पक्षको घरमा गएर केटीलाई छेक्ने अथवा बिहेको दिन निश्चित गर्दछ । केटा पक्षका मान्छेहरूलाई घरमा पुगेदेखि आदर सत्कारमा कुनै किसिमको कमीकमजोरी केटी पक्षबाट हुनुहुँदैन । उनीहरूलाई गएदेखि उच्चस्तरको खाना, नास्ता खुवाउनुका साथै बिदावारी हुने बेला सबैलाई कपडा दिई बिदाइ गर्नुपर्ने परम्परा छ ।
केटीको बिहे नहुञ्जेलसम्म केटा पक्षले जे भन्छ, त्यो केटी पक्षले स्वीकार्नुपर्ने हुन्छ । तराईमा हुने यस्तो परम्पराको विवाहले गर्दा यहाँका आमाबुबाहरूले छोरी पाउनु एक प्रकारको अभिशाप जस्तै मान्छन् । कतिपय आमाबुबाको घर खेत बन्धकी राखी छोरीको बिहे गर्ने गर्छन् ।
गएको फागुन २८ गते पर्सा, वीरगञ्ज, रानीघाट, निवासी सुरवल साहको बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ४ निवासी बच्चेलालको छोरासँग बिहे गर्ने समय निश्चित भएको थियो । केटा वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रूपमा कार्यरत रहेछन् । उनलाई दाइजोको रूपमा रु. १२ लाख, मोटरसाइकलबापत रु. ३ लाख २५ हजार, एक ल्यापटप र एक थान सुनको औँठी र हनुमानको माला दाइजोको रूपमा दिइएको थियो । केटी पक्षले थप सुनको सिक्रीको व्यवस्था नगर्दा केटी पक्षको घरमा पुगेको जन्ती बिहे नै नगरी फिर्ता भयो । यो एउटा प्रतिनिधिमूलक घटना मात्रै हो । कतिपयले बिहे भएपछि पनि केटीको ससुराली पक्षको समय–समयमा दजेह माग्ने गर्दछ । केटी पक्षले नदिएको खण्डमा केटीलाई माइतमा लगेर छोडिदिनुका साथै सम्बन्धविच्छेद भएको पनि सुनिन्छ ।
कतिपयले केटीको ज्यानसमेत लिने गरेको सुनिन्छ । यी सबै भावनाहरू केटी र केटी पक्षले छोरीको खुसीको लागि सहेर बस्नुपर्ने हुन्छ ।
हिजोआज शिक्षित परिवारमा नै दहेजको बढी मोलमोलाइ हुने गर्दछ । सरसामान किन्नु जति तनाव हुँदैन, छोरीको बिहे गर्दा त्यति तनावमा बस्नुपर्ने हुन्छ । कतिपय अभिभावकले भन्ने गर्छन् कि पैसा खर्च गरेर छोरीलाई पढाइयो, छोरीको स्तरअनुसारको केटा खोजेर बिहे गर्नु हाम्रो लागि फलामको चिउरासरह नै हुने भयो । किनभने, केटा र केटा पक्षको स्तरअनुसार दाइजो दिनसक्ने अवस्था नभएपछि गाउँघरमा चर्काे ब्याज तिर्ने गरी ऋण लिनुपर्ने अवस्था छ ।
तराईमा दाइजोको नाममा दिन प्रतिदिन बढ्दै गएको विकृतिले गर्दा अहिलेको युवा पुस्ताले छोरी नै जन्माउन मान्दैन । प्रविधिको विकासले गर्दा गर्भमा लिङ्ग जाँच गरिएको हुन्छ । यदि छोरी रहेको छ भने गर्भपतन गराइन्छ । पछिल्लो समयमा तराईमा यो प्रवृत्ति बढ्दै गएको छ ।
तराईमा बढ्दै गएको दहेज प्रथालाई निर्मूल गर्न ती नै तहको सरकार कडाइका साथ लाग्नुपर्दछ । बाल विवाह र दहेज प्रथाविरुद्ध कडा कानुन बनाई कार्यान्वयनतर्फ लाग्नुपर्दछ नत्र यसले भोलिको दिनमा समाजमा झन् विकृति र विसङ्गति बढाउनेछ । यसतर्फ समयमै सबै पक्षको ध्यान पुगोस् ।
Leave a Reply