भर्खरै :

सम्बन्ध : नेताहरूबिचको विश्वास र आर्थिक पक्ष

सम्बन्ध : नेताहरूबिचको विश्वास र आर्थिक पक्ष

हिजो संसद्बाट प्रचण्डले विश्वासको मत पाएको समाचारले सर्वसाधारण जनतालाई ‘रुनु कि हाँस्नु’ भनेजस्तै भएको हुनुपर्छ । संसद्मा विश्वासको मत दिने विश्वासघातको पर्याय रहेका सांसदहरूको अनुहार हेर्दा मनमा अविश्वासको हुण्डरी मच्चिरहेको अनुमान जो कोहीले लगाउन सक्छ । मन अविश्वासले भरिरहे तापनि अनुहारमा एकले अर्कोलाई कृत्रिम विश्वास देखाइरहेका थिए । कति नाटक र नौटङ्की !
कोही विश्वसनीय, इमानदार र भरपर्दो छ भने हामी उनलाई विश्वास गछौँ । विश्वास गर्नु भनेको उनले जे भन्छन् त्यही सही हुनुपर्छ भन्ने ठान्नु हो । मानिसहरूलाई सँगै काम गर्न, सम्बन्ध निर्माण गर्न र सुरक्षित महसुस गर्न मद्दत गर्ने भएकोले समाजमा विश्वास महत्वपूर्ण छ । समुदाय र सम्बन्धहरूलाई सँगै राख्न सिमेन्टले जस्तै जोड्ने भएकोले विश्वासले मानिसहरूबिच सामूहिकरूपमा अगाडि बढ्न सजिलो बनाउँछ ।
नेपाली राजनीतिक मञ्चमा देखिरहेको पछिल्लो घटनाक्रमलाई हेर्दा राजनीतिज्ञहरूबिच विश्वासको खडेरी भएको प्रस्ट हुन्छ । नेताहरूले आज बोलेको कुरा भोलिसम्म कायम नहुने हुँदा उनीहरूबिच एकआपसमा विश्वासको वातावरण बन्न सकेको छैन भने यसको दूरगामी प्रतिकूल असर देश र जनतामा परेको छ । अहिले अमुक नेताले अर्को नेतामाथि विश्वासघात गर्नुलाई गतिशील नेता भन्दै नेपाली राजनीतिमा विश्वासघातलाई वैधानिकता दिने चलन आइसकेको छ । भर्खरैमात्र माओवादी पार्टीका नेता प्रचण्डले खुलम खुला “म भएसम्म देशमा उथलपुथल भई नै रहन्छ” भनेर राजनीतिक अस्थिरतालाई आफ्नो नैसर्गिक अधिकारको रूपमा लिए । मूल्यमान्यता वा सिद्धान्तको विपरीत कार्य गर्न दलहरूबिच होडबाजी नै चलेको हुँदा नेताहरू एकले अर्काको मात्र नभई जनताको विश्वास पनि गुमाएका छन् । माओवादी र एमालेबिच सम्झौता तोडियो, काङ्ग्रेस माओवादी बिचको सम्झौता तोडियो वा तराईकेन्द्रित दलबिच सम्झौता तोडियोजस्ता समाचार बारम्बार जनताले सुनिरहनुपरेको छ । भनिन्छ, चोरहरूको पनि आचारसंहिता हुन्छ; एकले अर्कोलाई विश्वासघात नगर्ने ताकि तिनीहरूको कार्य भविष्यमा पनि जारी नै रहोस् । नेताहरूले एकले अर्कोलाई घात गरेको हेर्दा त यिनीहरू विश्वासै गर्न नमिल्ने भइसकेका छन् ।
राजनीतिज्ञहरूबिचको विश्वासको कमीले लोकतन्त्रको जगलाई कमजोर बनाउनुको साथै सामाजिक अशान्ति सिर्जना हुन गई सामाजिक चुनौतीहरूलाई सम्बोधन गर्नमा बाधा पु¥याउँछ । राजनीतिज्ञहरूले पारदर्शिता, जवाफदेहिता र इमानदारिताको सिद्धान्तलाई विश्वासको पुनर्निर्माण गर्न र स्वस्थ राजनीतिक वातावरण नहुँदा एकले अर्कोलाई शङ्काको नजरले लिने भए । राजनीतिज्ञहरूबिच विश्वासको कमी हुँदा समाजमा गम्भीर नकारात्मक प्रभाव पार्छ ।
अर्को महत्वपूर्ण कुरा के हो भने लोकतान्त्रिक प्रणाली सञ्चालनका लागि विश्वास आवश्यक हुन्छ तर नेता र संस्थाहरूमाथिको विश्वासमा कमी हुँदा कानुनको शासनको सम्मान, नागरिक स्वतन्त्रताको संरक्षण र निष्पक्ष निर्वाचन प्रक्रियाको पालनालगायत लोकतान्त्रिक मूल्य मान्यतामा चोट पुग्नेछ । यो वास्तविकतालाई पुष्टि गर्दै अहिले राजावादीहरू भनिरहेका छन्, “सरकारमा बस्ने राजनीतिक दलहरूबिच विश्वासको कमी हाम्रो लागि राम्रो वातावरण बनिरहेको छ ।”
नेताहरूले देखाएको धेरै यस्तै खाले व्यवहारले जनताबाट विश्वास गुमाइसकेका छन् । भ्रष्टाचार, पारदर्शिताको अभाव, पक्षपातपूर्ण राजनीति र स्वार्थपूर्ण कार्यजस्ता सार्वजनिक विश्वासलाई धोका दिने व्यवहारले राजनीतिज्ञ र सरकारी संस्थाहरूमाथिको घट्दो विश्वासको कारण बनेको छ । विश्वास पुनर्निर्माण गर्न राजनीतिज्ञहरूले पूर्ण इमानदारी, निष्ठा, जवाफदेहिता र सार्वजनिक हितको सेवा गर्ने प्रतिबद्धता प्रदर्शन गर्न आवश्यक छ । घुसखोरी, हिनामिनाजस्ता भ्रष्ट अभ्यासहरूमा नेताहरू संलग्न हुनुले सरकारी संस्थाहरूमा जनताको विश्वास कम हुन गएको हो । उदारहणको लागि सरकारी अस्पताल र सरकारी विद्यालयको बिजोग छ भने निजी क्षेत्रका अस्पताल र विद्यालयहरूहरू फलिफुलिरहेका छन् । सरकारबाट सञ्चालित उद्योग ध्वस्त हुँदै गएर निजी क्षेत्रका उद्योगले एकाधिकार कायम गरिरहेका छन् ।
त्यसैगरी आर्थिक गतिविधिमा सामूहिकरूपमा संलग्न हुन, लेनदेनमा संलग्न हुन र लगानी गर्न मानिसहरूको इच्छालाई नकारात्मक असर पार्ने भएकोले अर्थशास्त्रमा विश्वासको महत्व हुन्छ । जब क्रेता र बिक्रेता, ऋणदाता र ऋणी, रोजगारदाता र कर्मचारीहरूबिच विश्वास हुन्छ, यसले लेनदेन लागत घटाउँछ र आर्थिक गतिविधिलाई उत्प्रेरित गर्छ । विश्वासले सहयोगलाई बढावा दिन्छ, निष्पक्ष प्रतिस्पर्धालाई बढावा दिन्छ र अन्ततः आर्थिक वृद्धि र समृद्धिमा योगदान पु¥याउँछ । विश्वासबिना बजार अकुशल हुन्छ । कम लगानी, सुस्त आर्थिक गतिविधि र समग्र कल्याण कम हुनुमा विश्वासको कमीको कारण हुन्छ । विश्वासको कमीले लेनदेनमा बाधा पु¥याएर, लागत बढाएर, लगानी र नवप्रवर्तन घटाएर र संस्थाहरूलाई कमजोर बनाएर स्वस्थ अर्थतन्त्रको आधारलाई कमजोर बनाउँछ । जब मानिसहरूबिच विश्वासको कमी हुन्छ, यसले आर्थिक स्थितिमा धेरै नकारात्मक प्रभाव पार्छ । यदि मानिसहरू एकआपसमा विश्वास गर्दैनन् भने तिनीहरूसँग लेनदेन गर्न हिच्चकिचाउँ छन् । अर्को कुरा लगानीकर्ताहरू आफ्नो लगानी असुरक्षित हुने डरले विश्वासको कमी भएका क्षेत्रमा लगानी गर्न डराउँछन् । यसरी समग्र लगानी स्तर घट्दा आर्थिक वृद्धि रोकिन्छ । बैङ्कहरू, कानुनी प्रणालीहरू र सरकारी संस्थाहरू प्रभावकारीरूपमा काम गर्ने वातावरण विश्वासमा भरपर्छ । यी संस्थाहरूमा विश्वासको कमी हुँदा आर्थिक प्रणालीको स्थिरता र निष्पक्षतामा विश्वासको कमी भएर आर्थिक गतिविधिलाई अझ कमजोर बनाउँछ ।
यसरी नेताहरूबिच विश्वास र आर्थिक पक्षबिच गहिरो सम्बन्ध भएको हुँदा नेताहरूबिचको विश्वासले देशको आर्थिक पक्षमा महत्वपूर्ण प्रभाव पार्छ । उच्च विश्वास हुँदा नीति निर्माताहरूले प्रभावकारी आर्थिक नीतिहरू लागु गर्ने सम्भावना बढी भएर स्थायित्व, लगानी र आर्थिक वृद्धि हुन्छ । यसको विपरीत विश्वासको अभावले नीतिगत अनिश्चितता निम्त्याउँछ । निर्णय लिन ढिलो हुँदा लगानीमा बाधा पुग्छ र अन्ततः आर्थिक कार्यसम्पादनमा सुस्तता आउँछ । तसर्थ, नेताहरूबिचको विश्वासले आर्थिक समृद्धिको लागि अनुकूल वातावरण प्रवद्र्धन गर्न महत्वपूर्ण आधारको रूपमा काम गर्ने भएकोले नेताहरूले आफुले बोलेको कुराको ख्याल राख्नुपर्छ । अल्पकालीन हितलाई ध्यान दिनुभन्दा राजनीतिज्ञहरूले सार्वजनिक हितको सेवा गर्न, लोकतान्त्रिक मूल्य कायम राख्ने आफ्नो प्रतिबद्धता देखाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *