भर्खरै :

‘भवन निर्माण र वास्तुशास्त्र’ पुस्तक विमोचन वास्तुशास्त्र अग्रजहरूका ज्ञानको स्रोत

‘भवन निर्माण र वास्तुशास्त्र’ पुस्तक विमोचन  वास्तुशास्त्र अग्रजहरूका ज्ञानको स्रोत

भक्तपुर, ४ चैत । ज्योतिष डा. वीरेन्द्रप्रसाद कायष्ठ लिखित ‘भवन निर्माण र वास्तुशास्त्र’ नामक पुस्तक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एक समारोहबिच शनिबार सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ज्योतिषशास्त्रका धेरै कुरा भविष्यवाणी नभएर अनुभवका आधारमा अग्रजहरूले आफूले सिकेका ज्ञानलाई तथ्यको रूपमा प्रस्तुत गरिएको हुनसक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “मानिस स्वभावैले जिज्ञासु हुने भएकोले हरेक घटना र परिघटना किन, कसरी भयो भन्ने कारणको उत्तर खोज्ने क्रममा हरेक कुराको कारण ईश्वरसँग जोडिएर व्याख्या गर्ने परम्परा रहेको मानवशास्त्रीहरूको ठम्याइ रहेको र वैज्ञानिक सोच र विचारको विकास भएपछिमात्र यस्तो परम्परा अन्त भएको हो ।”
वाग्मती प्रदेश सांसद सृजना सैँजुले पुस्तकमा उल्लेख विषय अहिलेको भाषामा इन्टेरिअर डिजाइन र डेकोरेसनसँग सम्बन्धित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुस्तकमा दिइएका तथ्यहरू अझ विज्ञानसम्मत ढङ्गले प्रस्तुत भएको भए सुनमा सुगन्ध हुने थियो ।”
इतिहास तथा सस्कृतिविद् डा.पुरूषोतमालोचन श्रेष्ठले पुस्तक समय सान्दर्भिक भएको र ज्योतिषशास्त्र र संस्कृतिका बारेमा डा. कायष्ठको पुस्तक प्रकाशित भइरहनु समाजकै लागि लाभदायक भएको बताउनुभयो ।
शिक्षक योगेन्द्रमान बिजुक्छेँले जोतिषशास्त्रमा विज्ञान र विश्वास दुवै भएकोले पुस्तकमा प्रस्तुत गरिएका अवधारणालाई विज्ञानसम्मत गर्न पाए पुस्तक बोझिलो हुने बताउनुभयो ।
भनपा वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले हाम्रा अग्रजले हामीलाई मौखिकरूपमा सुनाउँदै आएको इतिहासलाई हामीले सुन्यौँ र मान्यौँ† अब हामी पछिका पुस्तालाई हामीले अझ तथ्यपरक र विज्ञानसम्मत तरिकाले बताउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ज्योतिषशास्त्रमा आस्था राख्ने राजनीतिज्ञदेखि सर्वसाधारण तथा बुद्धिजीवीहरूको पनि सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *