भर्खरै :

रुसलाई कसैले धम्क्याउन नसक्ने पुनःनिर्वाचित रुसी राष्ट्रपति पुटिनको भनाइ

रुसलाई कसैले धम्क्याउन नसक्ने पुनःनिर्वाचित रुसी राष्ट्रपति पुटिनको भनाइ

मस्को, १८ मार्च (एएफपी) । रुसी नेता भ्लादिमिर पुटिनले चुनावी जीतको प्रशंसा गर्दै रुस ‘धम्कीबाट डराउन नहुने’ बताउनुभएको छ । निर्वाचनले पूर्व जासुस पुटिनका लागि दुई सय वर्षभन्दा अधिक समयमा सबैभन्दा लामो समय सेवा गर्ने रुसी नेता बन्न मार्गप्रशस्त गरेको छ ।
मतदान समाप्त भएको केही घन्टापछि सोमबार बिहान मस्कोमा आफ्नो निर्वाचन अभियान मुख्यालयमा पत्रकार सम्मलेनमा पुटिनले भन्नुभयो, “म तपाईँको समर्थन र यो विश्वासका लागि तपाईँ र मुलुकका सबै नागरिकलाई धन्यवाद दिन चाहन्छु । जसले जति धम्की दिन वा हाम्रो इच्छाशक्ति र हाम्रो चेतनालाई दबाउन चहेको भए पनि यसबाट कुनै फरक पर्दैन, इतिहासमा कोही पनि यस्तो तरिकाले सफल भएको छैन, यसले अब काम गर्दैन र भविष्यमा पनि कहिल्यै गर्नेछैन ।”
सरकारी समाचार एजेन्सी आरआइएका अनुसार आधिकारिक निर्वाचन निर्वाचन आँकडाले ९९ प्रतिशतभन्दा बढी मतदान केन्द्रले दिएको परिणाममा पुटिनले ८७ प्रतिशत मत प्राप्त गर्नुभएको छ । कुनै पनि वास्तविक प्रतिस्पर्धाको सामना गर्नु नपरेको राष्ट्रपति निर्वाचनमा यो उहाँको रेकर्ड जीत हो ।
तीनदिने निर्वाचनमा घातक युक्रेनी बमबारी, किभ समर्थक तोडफोड समूहहरू र मतदान केन्द्रहरूमा तोडफोडले रुसी क्षेत्रमा घुसपैठमा वृद्धि भएको थियो । क्रेमलिनले निर्वाचनलाई रुसीहरूका लागि युक्रेनमा पूर्णस्तरको सैन्य अभियानपछाडि आफ्नो समर्थन दिन एउटा अवसरका रूपमा लिएको थियो । रुस नियन्त्रित क्षेत्रमा पनि मतदान भएको थियो ।
पुटिनले मस्कोमा निर्वाचनपछि आफ्नो भाषणमा युक्रेनमा लडिरहेका रुसी सैनिकहरूलाई विशेष धन्यवाद दिनुभयो । साथै उहाँले एक सातापछि पनि युक्रेनले रुसमाथि आफ्ना केही सबैभन्दा महत्वपूर्ण हवाई हमला र युक्रेन समर्थक मिलिसियाले रुसी सीमावर्ती गाउँहरूमा सशस्त्र हमला सुरु गरे पनि आफ्नो सेनालाई युद्धको मैदानमा ठुलो फाइदा भएको बताउनुभयो ।
किभ र उसका सहयोगीहरूले मतदानलाई नाटक भनेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले पुटिनलाई ‘सत्ताको नशामा डुबेको तानाशाह’ भन्दै आलोचना गर्नुभयो । “आफ्नो व्यक्तिगत शक्ति बढाउनका लागि प्रतिबद्धता गर्नु कुनै खराबी होइन,” उहाँले भन्नुभयो ।
मतदानको पहिलो दिन शुक्रबार युरोपेली सङ्घ (ईयू) का प्रमुख चार्ल्स मिसेलले पुटिनलाई उहाँको ‘प्रचण्ड जीत’ मा व्यङ्गयात्मक तरिकाले बधाई दिनुभएको थियो । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले विरोध प्रदर्शनमा आफ्नो आवाज थप्दै भन्नुभयो, “यो स्वतन्त्र र निष्पक्ष निर्वाचन जस्तो देखिँदैन ।” अमेरिकाले मस्कोले कब्जा गरेका युक्रेनी क्षेत्रहरूमा मतदान गराएकामा आलोचना गरेको छ ।
भेनेजुएला, निकारागुवा, क्युवा र बोलिभियाका नेताहरूले पुनः राष्ट्रपतिमा निर्वाचित भएकामा पुटिनलाई बधाई दिएका छन् ।
पुटिनले अर्को एक पूर्ण क्रेमलिन कार्यकाल पूरा गर्नुभयो भने उहाँ १८ औँ शताब्दीमा क्याथरिन दि ग्रेटपछि कुनै पनि रुसी नेताको तुलनामा उहाँ सबैभन्दा लामो समय सत्तामा रहनुहुनेछ ।
पुटिनलाई चीनको बधाई
यसैबिच रुसको प्रमुख सहयोगी चीनले सोमबार राष्ट्रपति पुटिनलाई चुनाव जितेकामा बधाई दिएको छ । नियमित पत्रकार सम्मेलनमा मतदानका बारेमा सोधिएको प्रश्नमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भन्नुभयो, “चीन यसका लागि बधाई व्यक्त गर्दछ । चीन र रुस नयाँ युगमा एकअर्काका सबैभन्दा ठुलो छिमेकी र व्यापक रणनीतिक सहयोगी साझेदार हुन् ।”
यस वर्ष दुवै मुलुकबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाउने उल्लेख गर्दै प्रवक्ता लिनले भन्नुभयो, “राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति पुटिनको रणनीतिक मार्गनिदेर्शनमा चीन–रुस सम्बन्ध अगाडि बढिरहनेछ भन्ने हाम्रो दृढ विश्वास छ । दुवै राष्ट्राध्यक्षले घनिष्ठ आदानप्रदान जारी राख्न, दुवै मुलुकबिच लामो समयदेखिको असल छिमेकी मित्रतालाई कायम राख्न, व्यापक रणनीतिक समन्वयलाई गहिरो बनाउन र नयाँ युगमा चीन–रुस सम्बन्धको निरन्तर विकासलाई प्रवद्र्धन गर्न नेतृत्व गर्नुहुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *