भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष तथा श्रीलङ्काका प्रधानमन्त्रीबिच भेटघाट

चिनियाँ राष्ट्राध्यक्ष तथा श्रीलङ्काका प्रधानमन्त्रीबिच भेटघाट

मार्च २७ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जनबृहत् सभाभवनमा चीनको भ्रमणमा आउनुभएका श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवर्दनासँग भेटघाट गर्नुभएको छ ।
चिनियाँ राष्ट्राध्यक्ष सीले चीन र श्रीलङ्काबिचको मित्रताको लामो इतिहास रहँदै आएको चर्चा गर्दै आपसी सम्बन्धलाई सुदृढ र विकसित गर्नु नै दुई देशका जनताका आधारभूत हित र साझा अपेक्षासँग अनुकूल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वतन्त्रता, आत्मनिर्भरता, ऐक्यबद्धता र पारस्परिक सहयोग भन्ने राइस एन्ड रबर सम्झौताको भावनालाई अगाडि बढाउँदै राजनीतिक पारस्परिक विश्वास तथा शासन अनुभवको आदानप्रदानलाई सुदृढ पार्ने, वस्तुगत सहयोगलाई विस्तार गर्ने, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहयोगलाई अघि बढाउने र पुस्तौंदेखि रहिरहेको इमानदार पारस्परिक सहयोग र मित्रताको रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ प्रगाढ बनाउने इच्छा चीनले लिएको छ ।”
श्रीलङ्काको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय गौरवको रक्षा गर्न, आफ्नो राष्ट्रिय अवस्थाअनुकूल आधुनिकीकरणको मार्ग पहिल्याउने क्षेत्रमा चीनले दृढताका साथ समर्थन दिँदै जानेछ । श्रीलङ्काको आर्थिक तथा सामाजिक विकासमा आफ्नो क्षमताले भ्याएसम्म चीनले सहयोग जारी राख्ने कुरामा पनि राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभयो । उहाँले भन्नुभयो, “दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा आपसी समन्वयलाई मजबुत बनाउने, चीन र श्रीलङ्काको साझा हित तथा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्ने र मानव जातिको संयुक्त भाग्य समुदायको निर्माणलाई बढाउनुपर्दछ ।”
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणावर्दनाले आपसी सम्बन्धबारे चर्चा गर्दै श्रीलङ्का र चीनबिच परम्परागत मित्रता रहिरहेको र श्रीलङ्काले स्पष्टरूपमा एक चीन भन्ने सिद्धान्तको पालना गरेको बताउनुभयो । आफ्नो वैदेशिक सम्बन्धमा चीनलाई सधैँ प्राथमिकताको स्थानमा राख्ने भन्दै उहाँले कोलम्बो पोर्ट सिटी र हम्बनटोटा मिश्रित विकास परियोजनाजस्ता कामबाट श्रीलङ्काको आर्थिक र सामाजिक विकासलाई ठुलो मात्रामा माथि उकासिएको र यस क्षेत्रको समग्र विकासमा पनि योगदान पु¥याइएको बताउनुभयो ।
बेल्ट एन्ड रोड अवधारणालाई अगाडि बढाउन, अर्थतन्त्र र व्यापार, शिक्षा, पर्यटन र गरिबी निवारणको क्षेत्रमा हुने सहयोगलाई विस्तार गर्न, अन्तर्राष्ट्रिय बहुपक्षीय सम्पर्क र सहयोगलाई सुदृढ पार्न र एसिया संयुक्त भाग्य समुदाय तथा मानवजातिको संयुक्त भाग्य समुदायको निर्माण गर्न चीनसँग काम गर्न श्रीलङ्का तयार भएको पनि उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *