भर्खरै :

आधुनिक जीवनशैली र खानपिनले नसर्ने रोगको जोखिम बढ्दै

आधुनिक जीवनशैली र खानपिनले नसर्ने रोगको जोखिम बढ्दै

भक्तपुर, १४ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले धूमपान र मद्यपानले क्यान्सरजस्ता घातक रोगका बिरामीहरूको सङ्ख्या बढ्दै गइरहेको बताउँदै आधुनिक जीवनशैली र खानपानले अहिले सर्नेभन्दा नसर्ने रोगको जोखिम बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागको प्रवीणता प्रमाणपत्र तह नर्सिङ पहिलो वर्षको २० औँ ब्याचमा अध्ययनरत विद्यार्थीहरूद्वारा भक्तपुर नपा वडा नं. ९ मा गरेको समुदाय नर्सिङअन्तर्गत ‘तथ्याङ्क प्रस्तुतीकरण तथा स्वास्थ्यसम्बन्धी नाटक प्रदर्शनी’ मा बुधबार उहाँले महिला र पुरुषहरूलाई समान ढङ्गले व्यक्तित्व विकास गर्ने अवसरहरू प्रदान गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट प्रसूति सेवा प्रदान गरेसँगै नगरवासीहरूलाई निकै सहज भएको बताउँदै उहाँले जनतालाई सस्तो र सुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धता पूरा गर्ने क्रममा काम गर्दै आइरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले भक्तपुर नपाले सञ्चालन गरेको नर्सिङ क्याम्पसबाट २० वटा ब्याचलाई नर्सिङ विषय अध्ययन गराइसकेको जानकारी गराउँदै देशको लागि दक्ष नर्स उत्पादनमा यस कलेजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभागको प्रवीणता प्रमाणपत्र तह नर्सिङ पहिलो वर्षका विद्यार्थीहरूले वडा नं. ९ मा गरेको अध्ययनअनुसार सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, रोजगारी, फोहोर व्यवस्थापन, परिवार योजना, जनसङ्ख्या आदि विषय समेटेर तथ्याङ्क प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले स्वास्थ्यसम्बन्धी नाटक प्रदर्शनी र सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *