यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
देशमा रोजगारी छैन भनी लाखौँ युवाहरू वैदेशिक रोजगारीमा लामबद्ध छन् । वैदेशिक रोजगारीमा जानु बाध्यतामात्र होइन, उनीहरूको जीवन कसरी हुर्कियो ? पढाइ कस्तो रह्यो ? पारिवारिक वातावरण के कस्तो छ ? वैदेशिक रोजगारीमा गएकाहरूको औकात कस्तो छ आदिमा भरपर्छ ।
देशमा गाउँले जीवन सहरिया बन्दै छ । कोही भन्छन्, गाउँमा रोजगारीको सम्भावना छैन । गाउँमा सुविधा र अवसरको कमी देखिन्छ । स्थानीय तहका मुख्य मानिसहरू जिम्मेवार छैनन् । सरकार चलाउनेहरूसँग पनि देशको आम्दानी बढाउने, युवाहरूलाई रोजगारी दिने, प्राकृतिक स्रोत साधन उपयोग गर्ने, बसाइँसराइ रोक्ने कुनै दीर्घकालीन सोच र चाहना छैन । यसकारण, जनता निराश हुँदै आफ्नो देश छाड्दै छन् ।
सरकारमा बस्नेहरू विभिन्न निहुँमा युवाहरूलाई विदेश पठाउने, मानव तस्करहरूसँग मिलेर कमिसन खाने र रेमिट्यान्सबाट देश चलाउन लागिपरेका छन् । देशमा भ्रष्टाचारी, बिचौलिया, तस्कर, कमिसनखोर, लागूऔषध, व्यापारी, कालाबजारी, भू–शिक्षा, स्वास्थ्य माफियाहरू, प्राकृतिक स्रोत र साधनमाथि दोहन गर्ने गराउनेहरू देशको विभिन्न निकायमा काम गरिरहेका छन् ।
देशका मन्त्री अनि प्रधानमन्त्रीहरू आफ्नै पार्टीका मान्छेलाई फलानाको नातेदार, ठेकेदार, माफिया, बिचौलिया, सीआईएको, रअको, कमिसनखोर, मानव तस्करी गर्ने भनेर परिचय दिने गर्छन् । यस्तो अवस्थाको अन्त्य देश चलाउनेहरूबाट आशा गर्नु बेकार छ । सदरमुकाम नजिकका गाउँहरूले नजिकको बजारलाई पाल्ने गर्छन् तर त्यस्ता मान्छेलाई पनि बिचौलिया र कमिसनखोरले दुःख दिने गरेका हुन्छन् ।
हरेक सहर बजारनजिक रहेका गाउँहरूले उनीहरूको सेवा गर्ने गर्छन् । विशेष गरेर कृषि क्षेत्रमा फलफुल, तरकारी, अन्न, तेलहन, गोरस, सागपात, मासुजन्य वस्तुहरू बजारमा बेच्न ल्याउँछन् । आयातीत वस्तुभन्दा गाउँबाट आउने वस्तु ताजा र अर्गानिक हुने गर्छ ।
जुम्ला जिल्लाको पातरासी गाउँअन्तर्गत वडा नं. ४, ५, ६ र ७ वडा पर्छन् । त्यसमा पनि नजिक ६ र ७ वडा पर्छन् । त्यहाँबाट प्रत्येक बिहान तरकारी, फलफुल, मासुजन्य पदार्थ, गोरस, अन्नपात आदि र फलफुलका बिरुवा मौसमअनुसार आउने गर्दछन् । तर, किसानहरू प्रविधि, प्राविधिक बीउ, मल र भण्डारणको उचित व्यवस्था नहुँदा पीडित छन् ।
उर्थु गाउँ चन्दननाथ नगरपालिका अर्थात् जुम्ला नगरको नजिक पर्छ । उर्थुबाट दैनिक उपभोग्य वस्तुहरू सधैँ बिहान आइपुग्छन् । तरकारी, गोरस, गेडागेडी, सागपात, अन्नबाली, फलफुल, समयअनुसार बोटबिरुवा आउने गर्छन् ।
बजारमा घरको सङ्ख्या बढ्दै गएका कारण खेतीयोग्य जमिन मासिँदै गएको छ । नगर बनिसकेपछि घर, सडक, सरकारी भवन, खेल चौर, विमानस्थल आदि बन्दै जाँदा जमिन मासेर किसानहरू पनि सकिँदै छन् । बजारको पेसा व्यवसायमा फेरिँदै छ । किसानहरू अन्य पेसाबाट जीवनयापन गर्ने दौरानमा छन् । सरकारी नोकरी, निजी नोकरी, विभिन्न व्यवसाय र व्यापार ठेक्कापट्टा, निर्माण कार्य, यातायातका काम आदि गर्छन् । सदरमुकाम नजिकका किसानका उत्पादनले बजार पाइरहेका छन् ।
पङ्क्तिकार माघ २२ गते उर्थु गाउँमा पुग्दा किसान भीमबहादुर बिस्ट आलु बेच्दै थिए ।
हाम्रो कार्यक्रम भएकोले गाउँभरिका किसान उपस्थित थिए । तर, भीमबहादुर बिस्ट आलु बेच्दै थिए । कति रूपैयाँमा बेचेको भनी सोध्दा उनको जवाफ थियो, प्रतिकेजी १६ रूपैयाँ । त्यो आलु बजारमा रु. २५ प्रतिकेजीमा बिक्री हुन्छ । बजारभन्दा १ घण्टा २० मिनेट पैदल यात्रा र यातायातबाट २० मिनेट टाढा हो । किसानहरू सस्तो मूल्यमा उत्पादन बेच्न बाध्य छन् । किसानले भने, “हामी कृषि उत्पादनबाट धेरै नाफा लिन सक्दैनौँ ।”
अर्का किसान मुनबहादुर बुढाले स्याउ, ओखर, आरु, नासपाती आदिका बिरुवा उत्पादन गरेर बेच्ने रहेछन् । उनले सरकारी निकायप्रति धेरै गुनासो पोखे । उत्पादन गर्ने बिरुवाको मूल्य सरकारी कार्यालयले कम मूल्यमा लिने र बढी मूल्यको बिल बनाउने, बढी मूल्यको बिलबाट आफूले खाने गरेको उनले सुनाए ।
“कृषिका कर्मचारीहरू किसानको खेतबारी र फर्महरूमा कहिले पनि आउँदैनन् । तर, बिक्री गर्ने बेला कमिसन खान आउँछन्,” उनले भने ।
गत वर्ष स्याउ र ओखरका बिरुवा धेरै खेर गए । लगानी उठेन । यस वर्ष पनि धेरै बिकेका छैनन् । हामीलाई जिल्ला, स्थानीय तह र सङ्घसंस्थाले कहिल्यै सहयोग गर्दैन भन्ने दुखेसो उनले पोखे । उनले भने, “हामीलाई सरकारले हेरेको खण्डमा जुम्लामा हुने कृषि क्षेत्रको आयात धेरै घट्नेछ ।”
उनी बिरुवाहरूको अलावा बजारमा हरियो तरकारी, सागपात, फलफुल आदि बेच्न लान्छन् । त्यही कमाइबाट उनी नुन, तेल, पढाइलेखाइ, लत्ताकपडा गर्ने गर्छन् ।
अर्का किसान चन्द्रवीर बिस्टले भने, “उर्थुलगायत पातरासी र गोठीचौर गापाका किसानहरूले सरकारी प्रविधि, प्राविधिक, बीउ, यातायात, बजार र भण्डारणको उचित व्यवस्थापन भए कर्णालीलगायत सुर्खेतसम्म हाम्रो उत्पादन पु¥याएर अर्गानिक उत्पादन खुवाउने छ । उनले स्याउ, ओखर, नासपाती, आरुका बिरुवा, मौरीको मह, स्याउ, ओखर, तरकारी, आलु, सिमी, कर्कलो, काँक्रा, फर्सी आदि प्रशस्त उत्पादन गरेर बजारमा बेच्छन् र जीविका चलाउँछन् । तर, वास्तविक किसानले सरकारी सहुलियत पाउँदैनन् । जसले खेती गर्दैन त्यसले सस्तो ब्याजमा ऋण, कृषि अनुदान, बीउ, बिरुवा पाएको हामी सुन्छौँ र देख्छौँ । गाई, भैँसी, भेँडा, बाख्रा, खरायो, कुखुरा आदि पनि यस क्षेत्रमा खेती हुने र बजारको मागलाई पूर्ति गर्ने गर्छ ।
चौघविस क्षेत्रका किसानहरू भन्ने गर्छन्, हाम्रो उत्पादन बजारमा गएन भने बजारमा भोकमरी र अभाव बढ्छ । चन्दननाथ नगरपालिकाले बजारको कृषियोग्य भूमि मासिएका कारण हाम्रो क्षेत्रका किसानहरूलाई सहयोग गरेर बचाउनुपर्छ । नगरले हामीलाई उन्नत बीउ, बजार, यातायात, भण्डारण आदिमा सहयोग गर्नुपर्ने किसानहरूको माग छ ।
जुम्ला बजारमा नगरपालिकाका १० वडा छन् । तर, बजार क्षेत्र १, २, ३, ४, ५ र ६ वडामा धेरै सरकारी कार्यालय कर्मचारी, व्यापारी, विद्यार्थी आदि गरेर दैनिक हजारौँ मान्छेको आवतजावत हुन्छ† बजार व्यवसाय हुन्छ । सेना, प्रहरी, विद्यार्थी आदिको पनि त्यतिकै आवतजावत हुन्छ । सबैको भार थाम्न बजारलाई उपभोग्य वस्तुको माग धेरै आपूर्ति गर्नुपर्ने हुन्छ । त्यसकारण, बजार क्षेत्रले पनि चौघविस क्षेत्रका किसानलाई सहयोग पु¥याई जुम्लामा हुने आयातलाई विस्थापन गर्नुपर्छ भन्ने जनताको माग छ ।
जुम्लामा कृषि अनुसन्धान केन्द्र, बागबानी फारम, कृषि अनुसन्धान केन्द्र राजिकोट, भेँडाबाख्रा अनुसन्धान केन्द्र गोठीचौर छन् । तर, ती सरकारी निकायले पनि किसानलाई नयाँ प्रविधि, प्राविधिक र उन्नत कुरा दिनसकेका छैनन् । अनुसन्धान केन्द्रहरू जागिर खाने संस्था बनेका छन् ।
जुम्लाको मार्सी धान, सिमी, दलहन, मासु, फापर, आलु, मह, स्याउ, ओखर विश्वभरि जहाँ जहाँ जुम्ली या नेपाली पुग्छन्, त्यहाँ त्यहाँ जुम्लाको खाद्यान्न वस्तुहरू पुगेको रेकर्ड विदेशबाट फर्कनेहरू भन्ने गर्छन् ।
२०६७ सालबाट जुम्ला अर्गानिक क्षेत्र घोषणा भएको हुँदा रासायनिक औषधि, मल प्रयोग गर्ने गरिँदैन । तर, धान खेतीमा किसानले भारतबाट ल्याएर झारनियन्त्रक औषधि ब्युटा कलर बालुवासँग लुकाएर छर्ने गरेको सुनिन्छ तर कममात्र ।
जुम्लामा उत्पादन कम, समय बढी लाग्ने भए पनि यहाँको उत्पादित वस्तु स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ भन्ने सुनिन्छ ।
जुम्लामा धेरै थोरै उत्पादन हुने अन्न बाली मार्सी धान, गहुँ, जौ, मकै, कोदो, फापर, चिनु, कागुनु आदि छन् ।
फलफुलहरूमा स्याउ, ओखर, आरु, अङ्गुर, अनार, नासपाती आदि फल्ने गर्छन् ।
तरकारी बालीमा काउली, बन्दा, ब्रोकाउली, प्याज, आलु, काँक्रा, फर्सी, झुसेकरेला, च्याउ, भिन्डी आदि हुन्छन् ।
सागपातमा रायो, धनियाँ, मेथी, कर्कलो, खुर्सानी, चम्सुर, पालुङ्गो आदि हुन्छ भने पशुपन्छीमा गाई, भैँसी, भेँडा, बाख्रा, खरायो, कुखुरा, हाँस, कालिज, बट्टाई, लौकाट र टर्की आदि पाल्ने गर्छन् ।
वनमा पाइने ढँटेलो, चुत्रो, निगाली, साग, राताडाङला, रूधासाक, भदुरी, भट्टेउला, किरकिला, लसुन, च्याउ, ढोकायो, पाते वरको, लिगुडो, पिडारा, संहले, चाल्ने, भाँडे, पाल्ता, चरिअमिलो, गलकाउडी, ऐंसेलु आदि जङ्गलमा प्रशस्त मौसमअनुसार पाइन्छन् ।
जुम्ली जनताले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ कर्मचारीहरूसँग जुम्लामा उत्पादन खाद्य वस्तुसँग आधारित उद्योगहरू खोल्न अनुरोध गरे । तर, कसैले पनि चासो देखाएनन् ।
जुम्लामा पानी प्रशस्तै छ । सिँचाइको अभाव छैन । आकासे पानीको भर पर्नुपर्दैन । तर, शासकहरूमा विकास गर्नुपर्छ भन्ने कुरा अहिलेसम्म छिरेको छैन । अन्य जिल्लाको विकास हेर्ने हो भने नेपालका शासकहरूले कर्णाली नेपाल होइनजस्तो व्यवहार गरेको पाइन्छ ।
राम्रो शिक्षा, स्वास्थ्य उपचार, रोजगारी पाउन जिल्ला छाड्नुपर्ने बाध्यता छ । एकमात्र खाद्य प्रशोधन उद्योग खोलेको खण्डमा जुम्ली जनताको उत्पादनले बजार पाउने र आर्थिक कमाइ हुनेछ । जसले देशलाई आत्मनिर्भर र जनतालाई सक्रिय बनाउनेछ ।
जुम्लावासी तथा कर्णालीवासीहरू रोजगारी नपाउँदा भारतको काला पहाड, नेपाल–भारतका घरघरमा सामान बेचेर पैसा कमाउन जान्छन् । घरमा बुढा आमाबुबा, बच्चा, स्वास्नी आदि छाडेर पैसा कमाउन हिँड्नु रहर होइन, बाध्यता हो । सरकारलाई चेतना भया ।
Leave a Reply