भर्खरै :

अभाव भोग्नु परे पनि स्वाभिमान बेच्न नहुने

अभाव भोग्नु परे पनि स्वाभिमान बेच्न नहुने

अभाव भोगिन्छ, गरिबी सहिन्छ तर स्वाभिमान बेच्नुहुन्न, यो एक देशभक्तिपूर्ण अभिव्यक्ति हो । यसलाई देशभक्त जनताले स्वीकार्नुपर्छ । देशभक्त जनताले देशको स्वाधीनता र सार्वभौमिकता काँधमा बोकी निरन्तर अगाडि बढ्छ । भीमसेन थापा, भक्ति थापा, अमरसिंह थापा, बलभद्र कुँवरजस्ता वीर नेपाली जनताले गरिबी सहे, अभाव भोेगे तर स्वाभिमान बेचेनन्; देशको स्वाधीनता र सार्वभौमिकता त्यागेनन् । त्यसको रक्षार्थ उनीहरूले जीवन त्यागे, बलिदान दिए । त्यसले देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता जोगियो । यदि हाम्रा ती वीर योद्धा, जनतामा देशभक्तिको भावना नभएका भए, विदेशी सेनामाथि आक्रमण, प्रत्याक्रमण नगरेको भए, जीवन उत्सर्ग र बलिदान नदिएको भए, आज हाम्रो देशको न स्वाभिमान, स्वाधीनता र सार्वभौमिकता नै बाँकी रहन्थ्यो न त देश नै रहन्थ्यो । हाम्रो देश विदेशीको हातमा गइसकेको हुन्थ्यो । हामी पनि सिक्किमेली जनताजस्तै विदेशी नागरिक हुन्थ्यौँ । हाम्रो देश र हामी नेपाली विदेशका गुलाम हुन्थ्यौँ । स्वाभिमान, स्वाधीनता र सार्वभौमिकताबिनाको देश र जनता स्वतन्त्र हुनसक्दैन ।
सित्तैमा दियो भनेर विष खानु बुद्धिमानी होइन । तर, बारम्बार देश जोगाउँछु, देश बचाउँछु, देशलाई आफ्नै खुट्टामा उभ्याएर विकास गर्छु, देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई बन्धकमा राख्दिन, बेच्दिन भनी कसम खाएर सत्तामा गएका शासक दल र त्यसका नेताहरूले अहिलेसम्म त्यस्तो अडानबाट पाठ सिकेका छैनन् । नेपाल सरकारका कर्मचारीहरूले पनि शिक्षा लिएका छैनन् ।
यदि उनीहरूको देशभक्ति भावना र अडानबाट शिक्षा लिएको भए हाम्रा नेता, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरूले विदेशमा होस् या स्वदेशमा विदेशीसित सन्धि सम्झौता गर्दा देशको हितमा अडान राख्थे र तर्क राख्थे । उनीहरूले आफ्नो देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतामा आँच आउने, ठाडो हस्तक्षेप गर्ने खालका सर्तहरू भएको सम्झौता र सन्धिमा आँखा चिम्लेर सही गर्दैनथे । उनीहरू त्यस्तो देशघाती सर्त र कुरा ठाडै अस्वीकार गर्थे । बरु दुःख पीडा र अभावलाई गर्वका साथ स्वीकार्थे । देश बनाउनको लागि स्वाभिमानका साथ आफ्नै खुट्टामा उभेर रगत पसिना बगाउँथे । विदेशीको गुलाम बन्दैनथे । विदेशीको अगाडि रतिभर झुक्दैनथे । नेपाल सरकारका देशभक्त कर्मचारीहरूले पनि त्यस्तै गर्थे । यदि यसो भएको भए, शासक दलका नेताहरूले सिधै देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतामाथि, देशको संविधान र कानुनमाथि ठाडो हस्तक्षेप र वकालत गर्ने देशघाती एमसीसी, एसपीपी सम्झौता गर्दैनथे, नागरिकता विधेयक पास गर्दैनथे; बिप्पा सम्झौता गर्दैनथे । आज त्यस्ता गलत तत्वहरू नेपालको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, उद्योग, कृषि क्षेत्रको बारीमा पसेर सबै सखाप पारेका छन् । गरिबहरू भोकभोकै र औषधि नपाएर मरिरहेका छन् । देशको सुन्दर भविष्य बोकेका ७०/८० लाख युवा विद्यार्थीहरूलाई घर खेत बेचाएर विदेश जान बाध्य पार्ने थिएन । उनीहरूलाई बिदेसिनबाट रोक्थे । उनीहरूलाई देशमा रोजगारी, विद्यालय, कलेज र विश्वविद्यालयको राम्रो व्यवस्था गर्थे । अनि कर्मचारीहरू कुनै लोभलालचमा नफसी नेता, प्रधानमन्त्री, मन्त्रीहरूहरूलाई देश अहित, देशघाती काम गर्नबाट रोक्थे । तर, त्यसो भइरहेको अवस्था देखिँदैन ।
देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरू विभिन्न देशको भ्रमणमा जानु स्वाभाविक हो । उनीहरू पूरा तयारी गरेर जानु आवश्यक छ । त्यस्तो भ्रमण देशको पैसा या आफ्नो पैसामा नगइकन विदेशी पैसा र सुविधामा जानु देशघात हुन्छ । विदेशीको नुन खाएपछि देशको हितमा उनीहरूसँग आफ्नो देशको कुरा राख्ने आँट हुँदैन । विदेश जाँदा सिकेको राम्रो ज्ञान, सीप, अनुभव देशको हितमा गरी लगाउन प्रयोग गर्नुपर्छ । त्यस्तो ज्ञान, सीप, अनुभव लेखेर पत्रपत्रिकामा छाप्नुपर्छ, किताब लेख्नुपर्छ । विदेशमा देशको प्रतिनिधित्व भएर जाने हुँदा विदेशमा पुग्दा वार्ता, छलफल, सन्धि, सम्झौतामा देशको हितमा के कस्तो अडान, बुँदा, तर्क राख्ने हो त्यसको तयारी गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *