भर्खरै :

बैङ्क तथा वित्तीय संस्थाहरू पुँजीपतिवर्गको स्नायु केन्द्र

बैङ्क तथा वित्तीय संस्थाहरू पुँजीपतिवर्गको स्नायु केन्द्र

भक्तपुर, २० चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले बैङ्क तथा वित्तीय संस्थाहरू पुँजीपतिवर्गको स्नायु केन्द्र भएको हुँदा ती संस्थाहरूले कामदारवर्गको भन्दा पुँजीपतिवर्गकै हितमा काम गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित प्रवचन कार्यक्रममा उहाँले सहकारी संस्थाहरूको प्रमुख समस्या त्यसमा व्याप्त भ्रष्टाचार र आर्थिक अनियमितता नै हो भन्नुभयो ।
सहकारी संस्थाको जगमा आजको चीनले आर्थिक र सामाजिक विकास गरेको बताउँदै उहाँले चीनका सहकारी संस्थाहरू खुला विश्वविद्यालयको रूपमा सञ्चालित रहेको, कृषि र उत्पादनमूलक क्षेत्रमा लगानी तथा व्यापक जनतालाई सचेत र सङ्गठित पार्ने काम गर्दै आइरहेको बताउनुभयो ।
सहकारीमा ठगिएकाहरूको रकम फिर्ता र धनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार चुक्दा लाखौँ सर्वसाधारणले आफूले बचत गरेको रूपैयाँ जोखिममा परेको बताउँदै उहाँले समुदायमा आधारित सहकारी संस्थाले पैसा लेनदेनमा मात्र सीमित नरही गरिब जनताको सहयोगीको रूपमा काम गर्नुपर्ने बताउनुभयो ।
कति सहकारीहरू सञ्चालकहरूको बदनियतकै कारणले डुबेको प्रस्ट पार्दै उहाँले भक्तपुरका सहकारी संस्थाहरूले सामाजिक गतिविधि सञ्चालनका साथै स्वास्थ्य, ज्येष्ठ नागरिक लक्षित आदर निकेतन सञ्चालन, गरिबलाई छात्रवृत्ति, पुस्तक प्रकाशन, तालिम आदि सञ्चालन गरी सदस्यहरूको हितमा काम गर्नु आफैँमा स्वागतयोग्य कदम भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाले बैङ्क तथा वित्तीय संस्थाले जस्तै काम गर्न नहुने बताउँदै समुदायको हित र सिङ्गो समाज उत्थानमा सहकारीको अह्म भूमिका हुनुपर्ने बताउनुभयो ।
उहाँले अधिकांश सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुभन्दा पनि घरजग्गाहरूमा लगानी गरेको पाइएको बताउँदै भक्तपुर नपाले जनताको बचत रकम सुरक्षित गर्ने विषयमा संवेदनशील भएर काम गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नपाले सङ्कटको समयमा सहकारी संस्थाहरूसँग समन्वय गरी काम गर्दै आएको बताउँदै उहाँले सहकारीले बालबालिका र ज्येष्ठ नागरिकलाई लक्षित गरी गतिविधिहरू सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले गरिब जनताको आशा र भरोसाको केन्द्रको रूपमा रहेका सहकारी संस्था आफैँमा सङ्कटग्रस्त हुँदा सहकारीप्रति जनताको विश्वास हट्दै गएको बताउनुभयो ।
समाजलाई बौद्धिकरूपमा माथि उठाउन साहित्यिक गतिविधिहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राजनीतिक र आर्थिक क्षेत्रमा आएको सङ्कटका कारण देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
सहकारी ठगी आरोपितहरूलाई उच्च ओहोदामा पु¥याउने राजनीतिक परिदृश्यले देशलाई झन् सङ्कटमा धकेलेको बताउँदै उहाँले सहकारीहरूले इमानदार र पारदर्शी ढङ्गले समाज उत्थानमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले सहकारी संस्थाले जनताको अभिभावकत्व ग्रहण गरी गरिब जनताको साथीको रूपमा काम गर्नुपर्ने बताउँदै सहकारी संस्था स्थापनाको ६ दशक पार गरिसक्दा पनि सहकारीका विकृति र व्याप्त समस्याहरू यथावत रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजूले सहकारी स्थापनाको इतिहासबारे प्रस्ट पार्दै वित्तीय तथा आर्थिक अनुशासन र सहकारी सिद्धान्त र मूल्य मान्यतामा सञ्चालित सहकारीहरूमा कुनै समस्या नभएको बताउनुभयो । सहकारी संस्था सुशासनमा सञ्चालन हुने संस्था भएको बताउँदै उहाँले सहकारी एकीकरणको नीति गलत भएको धारणा राख्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहकारी संस्थाहरू वित्तीय सङ्कटका असल साथीको रूपमा रहेको बताउँदै सहकारीमा देखिएको चुनौती र समस्याबारे प्रस्ट पार्नुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकला, सहकारी अनुगमन समितिका हरिरत्न गोर्खाली र नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *