भर्खरै :

मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनबारे छलफल

मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनबारे छलफल

काठमाडौँ, २२ चैत । खानेपानी मन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा ‘मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापन’ बारे बिहीबार सिंहदरबारमा अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा सरोकारवालाहरूबिच मेलम्ची खानेपानीको हाल कायम भएको हेडवर्कभन्दा ९०० मि. माथि सार्कथलीमा नयाँ हेडवर्क निर्माण गर्ने विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मेलम्ची खानेपानी आयोजना ढिलाइ हुनुका कारण र आयोजना निर्माणको क्रममा देखिएको भ्रष्टाचारबारे छानबिन हुनुपर्ने बताउनुभयो ।
देशकै गौरवको आयोजनाको रूपमा सञ्चालनमा भएको मेलम्ची खानेपानी आयोजनाको वैकल्पिक स्रोतहरूको खोजी हुनु आवश्यक भएको स्पष्ट पार्दै उहाँले खानेपानीको स्थानीय स्रोत उपयोग गर्ने विषयमा धेरै छलफल भए पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
देश निर्माणका स–साना आयोजनाहरू विदेशको भर पर्दा नेपाल उपनिवेश हुने खतरा बढ्ने उल्लेख गर्दै उहाँले खानेपानीको दिगो समस्या समाधानको लागि स्थानीय पालिकाहरूसँग समन्वय गरेर अगाडि बढ्नु उचित हुने बताउनुभयो ।
काठमाडौँकेन्द्रित विकासले गर्दा यहाँ धेरै प्रदूषण, ट्राफिक जाम, अपराध, खानेपानी समस्या, अव्यवस्थित आवास योजना सञ्चालन भइरहेको औँल्याउँदै उहाँले काठमाडौँ उपत्यकामा बसाइँसराइ रोक्नुपर्ने र सरकारले देशको सन्तुलित विकासतर्फ ध्यान दिन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशी लगानी, ऋण र अनुदानबाट देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउँदै देशका गौरवका आयोजनाहरूमा राज्यले नै लगानी गर्नुपर्ने बताउनुभयो ।
उहाँले स्थानीय स्रोतहरूको संरक्षण गर्नुपर्नेमा जोड दिँदै विदेशी बैङ्कहरूबाट ऋण लिएर नेपाल विदेशीको अधीनमा जानेतर्फ सचेत गराउनुभयो ।
भक्तपुरमा पुरानै पाइपलाइनबाट मेलम्चीको पानी वितरण भइरहेको अवगत गराउँदै उहाँले खानेपानीको वैकल्पिक स्रोत संरक्षण र नयाँ स्रोतको खोजी अपरिहार्य भएको बताउनुभयो । उहाँले उपत्यकाकेन्द्रित विकासले ट्राफिक जाम, अपराधको सङ्ख्या वृद्धि, खानेपानी समस्या, फोहोर व्यवस्थापन चुनौती भएकोले उपत्यका बाहिर स–साना सहरहरू निर्माण गरी जनसङ्ख्या विकेन्द्रित गर्नमा जोड दिनुपर्छ भन्नुभयो ।
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले मेलम्ची खानेपानी आयोजनाप्रति जनताको विश्वास घट्दै गएको बताउँदै खानेपानीसम्बन्धी अध्ययन समिति गठन गरी मेलम्ची आयोजनाले अहिलेसम्म गरेको कार्य प्रगतिबारे विस्तृत अध्ययन हुनु आवश्यक भएको बताउनुभयो । मेलम्चीको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मो सार्कथलीमा हेडवर्क निर्माण गर्ने विषयमा आपत्ति जनाउँदै सार्कथली आफैँमा जोखिमयुक्त ठाउँ भएको बताउनुभयो । मेलम्चीमा पूर्वाधार तथा बाटो निर्माण गर्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउँदै उहाँले उक्त क्षेत्रमा पहिलो नियन्त्रण गर्ने विषयमा पहलकदमी आवश्यक भएको बताउनुभयो ।
रास्वपाका सांसद तोसिमा कार्कीले खानेपानीको दिगो समस्या समाधानको लागि मेलम्चीको विकल्पहरूको खोजी हुनुपर्ने बताउँदै उपत्यकामा रहेका खानेपानीका मुहान र स्रोतहरू सङ्कलन गर्नुका साथै आकासे पानी सङ्कलनबाट पनि खानेपानी समस्या समाधान हुने धारणा राख्नुभयो ।
रास्वपाका शिशिर खनालले जनतासँग प्रत्यक्ष सरोकार राख्ने आयोजनाहरू सञ्चालन गर्दा स्थानीय तहहरूसँग समन्वय र सहकार्य आवश्यक भएको बताउँदै चक्रपथ बाहिर पनि खानेपानी व्यवस्थापनतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले कार्यक्रमको उद्देश्यमाथि प्रस्ट पार्दै मेलम्ची खानेपानी आयोजनालाई दिगो व्यवस्थापन गर्ने हेतुले सरोकारवालाहरूसँग छलफल कार्यक्रम गरिएको बताउनुभयो ।
मेलम्चीमा भएको लगानी फलदायी रहेको उल्लेख गर्दै उहाँले काठमाडौँ उपत्यकामा स्थायीरूपमा पानी पठान्तरणको व्यवस्थामा मन्त्रालयले जोड दिँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर अछामी, नेपाली काङ्ग्रेसका राजेन्द्रकुमार केसी, राप्रपाका दीपकबहादुर सिंह, नेकाका प्रदीप पौडेल, सार्वजनिक लेखा समितिका सभापति ऋषि पोखरेल, मेलम्ची खानेपानीका विकास समितिका कार्यकारी निर्देशक अहमद अन्सारीलगायतले मेलम्ची खानेपानी आयोजनाको दिगो व्यवस्थापनका लागि रायसुझावहरू प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानको विज्ञ टोलीले मेलम्ची खानेपानी आयोजनाको प्रगति र हेडवर्क सार्ने विषयमा आफ्नो प्रस्तुतीकरण देखाएको थियो भने एडीबीका विज्ञ तथा इन्जिनियरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *