हिमाल–पहाड–तराई बुझ्ने सरकारमा पुगेकै छैन
- चैत्र ६, २०८१
काठमाडौँ, २२ चैत । फेरि उथलपुथल हुन बेर लाग्दैन भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिले एकातिर एमालेका नेताहरू झस्किएका छन् भने अर्कोतिर राजनीतिक विश्लेषक, लेखक र बुद्धिजीवीहरूले यो सरकारको आयु पनि छोटिंदै छ भनी टिप्पणी गर्न थालेका छन् । हुन पनि यो सरकार पूरा कार्यकाल चल्ला भन्ने कुरामा शासक दलका नेताहरू नै विश्वस्त छैनन् । चैत २१ गतेको ‘अन्नपूर्ण पोस्ट’ दैनिकमा अतीन्द्र दाहालको ‘सरकार : ढल्छ कि चल्छ ?’ भन्ने शीर्षकको समाचार छापियो । देशमा नढल्ने सरकार बन्दैनन्, ढल्ने सरकार चल्दैनन् भन्ने उनको निष्कर्ष रहेछ । हुन पनि सरकार ढल्छ कि चल्छ ? निश्चित छैन । छिनछिनमा बोली वचन फेरेर क्रमभङ्ग गर्ने र उथलपुथल गर्ने प्रम दाहालको अभिव्यक्तिले पनि यो सरकार कुनै बेला ढल्न सक्छ है भन्ने सन्देश प्रवाह गरेको छ ।
देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सरकार प्रमुखहरूको कमीले गर्दा सरकार स्थिर भएन । सरकार बारम्बार फेरिरहनु पनि राजनीतिक बेथितिको एक दृष्टान्त हो । देश हाँक्ने र दलको नेतृत्व गर्ने नेता, प्रम, मन्त्री, सांसदहरूको नै कमिसन या नीतिगत भ्रष्टाचारमा पल्केर देशको राजस्वमा आँखा गडेको छ । पदको दुरुपयोग गरी अकुत सम्पति कमाइएको छ । देशमा शासक र मन्त्रीहरू इमानदार र निःस्वार्थी नभएको कारण यो समस्या देखिएको हो । अतः त्यस्ता नेताहरूलाई तह लगाउन जनता पनि राजनीतिकरूपमा सचेत हुनुपर्छ । जनता कुनै शासक, नेता या मन्त्रीको आकर्षक भाषण र लोभलालचमा नफसी पदलोभी र स्वार्थीहरूविरुद्ध जाग्नुपर्छ । जनता त्यस्ता शासक र अपराधीहरूको पछि लागेसम्म जनताले दुःख पाइरहने छन् । देश पनि पछि नै रहनेछ ।
राजनीतिक विश्लेषकहरूले प्रश्न गर्न थालेका छन्–राजनीतिक अस्थिरता निम्त्याउने, गठबन्धनमा लागेर दलगत र व्यक्तिगत स्वार्थ खोज्ने राजनीतिलाई कमाउने धन्दा बनाउनेहरूको विरोधमा जनता किन नउठ्ने ? नागरिक समाज र बुद्धिजीवीहरू किन मौन ? राम्रो काम गरेर मुलुकमा छवि बढाउनुको सट्टा देशको छवि बिगार्ने, देशमा सङ्कट निम्त्याएर डलरमा डकार्ने शासक र मन्त्रीहरूको विरोधमा जनता उठ्ने कि नउठ्ने ? शासकहरूले इमानपूर्वक राजनीति गरिरहेका छैनन् । नेताहरू विभिन्न काण्डमा फसिरहेका छन्; फसिरहेको समाचार सञ्चारमाध्यममा आइरहेको छ । अकुत सम्पत्ति कमाउने होडबाजीले यहाँ भ्रष्टाचार बढिरहेकोमा शङ्का छैन । एकातिर सत्तासीन दलका नेता र मन्त्रीहरू भ्रष्टाचारमा संलग्न जो कसैलाई कारबाहीको घेरामा ल्याउने, कारबाही गरेर छाड्ने उद्घोष गर्छन् भने अर्कोतिर तिनीहरू आफू आफू मिली उन्मुक्ति दिने बाटो तयार गर्छन् ।
सिद्धान्त र विचारबाट चल्नुपर्ने राजनीति पैसा, डर धम्की र बलको भरमा हुन थालेको छ । राजनीति कमाउधन्दा गर्ने व्यवसायको रूपमा शासकहरूले हेरिरहेका छन् । राज्यबाट दण्डित गर्नुपर्ने नेता, मन्त्री र सांसदहरू राजनीतिमा हाबी भएपछि, सिद्धान्तहीन, विचारहीन र भ्रष्टीकरणको राजनीति दल या सरकारमा छिरेपछि देशको राजनीति बिग्रिनु स्वाभाविक हो । यही कारण जनता राजनीतिप्रति उदासीन भएका हुन् । देशमा बेथिति बढेको हो । गलत मनसायका नेताहरू राजनीतिमा लागेपछि, उनीहरूको चलखेल बढेपछि राजनीतिप्रति वितृष्णा बढ्छ । राजनीतिमा वितृष्णा बढाउने, जनतालाई निरास बनाउने काममा सत्तासीन दलका नेताहरू नै जिम्मेवार छन् । अतः यसतर्फ सरकार र दलको नेतृत्व गर्ने पक्ष नै गम्भीर र संवेदनशील हुनुपर्छ ।
Leave a Reply