भर्खरै :

पर्यटन व्यवसायको विकास भक्तपुरको हितमा

पर्यटन व्यवसायको विकास भक्तपुरको हितमा

भक्तपुर, २२ चैत । भक्तपुर नगरपालिकाको आयोजनामा खौमादेखि दूधपाटीसम्मका पसल व्यवसायीहरूको भेला बिहीबार भनपा सभाकक्षमा भयो ।
कार्यक्रममा बजार अनुगमन समितिका संयोजक एवम् वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराले भक्तपुरमा ठुलठुला उद्योग र कृषि उत्पादन व्यवसायको लागि पर्याप्त जमिन नभएकोले पर्यटन क्षेत्रलाई विकास गरी भक्तपुर नगरवासीहरूको हितमा काम गरिरहेको स्पष्ट पार्दै बाह्य तथा आन्तरिक पर्यटक बढाउन शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षण गरिरहेको बताउनुभयो ।
उहाँले अहिले भक्तपुर विश्वका पर्यटकहरूले प्रशंसा गर्न लायक सफा नगर बनेको बताउँदै भक्तपुर नगरपालिकाले सात वटा कलेज सञ्चालन गरी गुणस्तरीय शिक्षा प्रदान गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले ‘पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति’ भन्ने नाराअनुसार सम्पदा संरक्षण गरी पर्यटन क्षेत्रको सेवा गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं २ का सदस्य श्यामसुन्दर मातांले ख्वप अस्पताल र सहरी स्वास्थ्य क्लिनिक, सरसफाइ, पार्किङ समस्याबारे बताउँदै वैशाखमा गुँलाबाजा प्रतियोगिता हुने बताउनुभयो ।
कार्यक्रममा स्यानिटेसन उपशाखा प्रमुख दिलिपकुमार सुवालले साँघुरो बाटोमा पेटीमा सामान नराख्न, पहिलो तल्ला वा पसल माथि राखेको छत छजा हटाउन अनुरोध गर्दै भक्तपुरमा फोहर व्यवस्थापन पेचिलो बन्दै गएकोले फोहर उत्सर्जन कम गर्न र कुहिने र नकुहिने फोहर छुट्याएर कुहिनेको कम्पोस्ट मल र नकुहिनेको पुनः प्रयोग गर्न र बेचेर आय आर्जन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा वडा निरीक्षक रामकृष्ण प्रजापतिले फोहरले वातावरण प्रदूषणमा प्रभाव पार्ने भएकोले कुहिने र नकुहिने फोहर छुट्याएर कुहिनेको कम्पोस्ट मल उत्पादन गरी अर्गानिक खेती गरे शुद्ध खाद्य सामग्री उत्पादन भई दीर्घ रोगबाट बच्न सक्ने बताउनुभयो ।
कार्यक्रममा व्यवसायीहरू लक्ष्मीप्रसाद बोयजु, नेहा सितिखु, राजकुमार बोयजु, रामप्रसाद धवा, किरण दथेपुथे, बलराम श्यामा, वसन्त जोशी, घनश्याम पोखरेल र रीता साय्जुले आ–आफ्ना गुनासो र सुझाव प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *