भर्खरै :

जीवनदायी अल–शिफा अस्पतालको हत्या

जीवनदायी अल–शिफा अस्पतालको हत्या

गाजापट्टीकै सबैभन्दा ठुलो अस्पताललाई इजरायलले डढालेर उजाड खण्डहर, बधशाला र चिहानमा परिणत ग¥यो ।
अल–शिफा अस्पतालमा दुई सातासम्म बसेको इजरायली सेनाले कुनै भवन र विभाग बाँकी नराखी ध्वस्त पा¥यो । गाजा सरकारको सञ्चार कार्यालयले यो कुकार्यलाई ‘मानव जातिलाई नै लज्जित तुल्याउने अपराध’ भन्यो ।
अप्रिल १ गते सोमबारको दिन एकाबिहानै इजरायली सेना त्यहाँबाट फिर्ता गएको छ । प्यालेस्टिनीहरूको प्रतिरोध समूहसँगको भिषण भिडन्तपछि ऊ फर्किन बाध्य भएको हो ।
बिरामी, मेडिकल स्टाफ र विस्थापित व्यक्तिका परिवार अस्पतालमा छोडेर गएका आफन्तजनको खोजीमा अस्पताल फर्के । इजरायली सेनाले अस्पतालमा छापा मार्दा र हत्याकाण्ड मच्चाउँदा तिनका आफन्तहरू अस्पतालभित्रै थुनिएका थिए । फर्केर आउँदा तिनले आफ्ना प्रियजनका शरीरका टुक्रामात्र भेटे । ती लासलाई इजरायली सेनाले बुलडोजर लगाएर धुलोपिठो पारेको थियो ।
बालबालिकाको लास चिन्नै नसक्ने भएको थियो ।
सन् २०२४ अप्रिल १ का दिन नूर नाइमले ट्वीट गरिन्, “परिवारजनलाई गहिरो धक्का लाग्यो । आज बिहानैदेखि तिनीहरूले गाजास्थित अल–शिफा अस्पतालमा आफ्ना प्रियजनलाई खोज्न आएका थिए । तर, यहाँ सयौँ लासहरू कुहिएको अवस्थामा भेटियो । महिला, बालबालिका र बुढापाकाको लास चिन्नै नसकिने अवस्थामा छ । गाजा जातिसंहार ।”
सन् २०२४ अप्रिल १ कै दिन होसाम सबातले ट्वीट गरे, “हामीले आफ्नै जातिसंहारको प्रत्यक्ष प्रसारण गर्दै आएका छौँ । आज अल–शिफा अस्पतालमा जाँदा मैले लिएको भिडियो फुटेज प्रसारण गर्दै छु । यसका केही लास मात्र देखाइएको छ । धेरै लासका टुक्रा मात्र भेटिएका छन् । हामी तिनलाई जम्मा गर्न खोज्दै छौँ । पछि अरू भिडियो पनि प्रसारण गर्नेछु ।”
“अस्पताल र त्यसको हातावरपर इजरायलको कब्जाकारी सेनाले ४ सत्न्दा बढी मानिसलाई मारेर सहिद बनायो । त्यसपछि अल–शिफा अस्पतालको पर्खालभित्र रहेका सयौँ सर्वसाधारण, घाइते र सिकिस्तहरूको हत्या गरेर आफ्नो जघन्य अपराधलाई ढाकछोप गर्ने प्रयास ग¥यो,” एक प्यालेस्टिनी मिडिया कार्यालयले लेख्यो ।
२०२४ अप्रिल १ कै दिन होसाम सबातले ट्वीट गरे, “तिनीहरूले लासहरूमाथि बालुवा खन्याएर ढाके, त्यसमाथि बुलडोजर लगाए र पुगे । त्यसपछि अस्पतालअगाडिको माटो निकालेर त्यसलाई छोपे । ३०० भन्दा बढी बन्दीहरूलाई पक्राउ गरिएको छ भने १०० भन्दा बढी प्यालेस्टिनी सर्वसाधारण अझै पनि बेपत्ता छन् । यो कब्जाकारी सेनाको विभत्स अपराध हो ।
गाजामा भइरहेका घटनाको खबर बाहिर ल्याउन ६ महिनायता म निरन्तर खटिएको छु । तर, आज अल–शिफा अस्पतालमा जाँदा मैले जे देखेँ त्यस्तो नृशंसता यसअघि कहिल्यै देखेको थिइन – इजरायलको कब्जाकारी सेनाले अस्पतालभित्र र आसपास गरी ३०० भन्दा बढी प्यालेस्टिनीहरूलाई मारेको थियो ।”
२०२४ अप्रिल १ गते नै जेनिभामा मुख्यालय रहेको युरो–मेडिटरेनियन मानवअधिकार पर्यवेक्षक समूहले लेख्यो, “अल–शिफा अस्पतालभित्र र बाहिर गरी सयौँ लास भेटिए । धेरै लास जलेको र चोक्टाचोक्टा पारिएको अवस्थामा थिए । केही लासको टाउको फोरिएको थियो भने कसैको हातखुट्टा चोइटिएको थियो ।” उक्त समूहले इजरायली विध्वंश र अल–शिफा अस्पतालको काटमारलाई ‘प्यालेस्टिनी इतिहासकै ठुला नरसंहारमध्ये एक’ भन्यो ।
२०२४ अप्रिल १ गते रामी अब्दुलले ट्वीटरमा लेखे, “बिहानैदेखि अल–शिफा अस्पताल र वरपर नयाँ दृश्य देखिएको छ । यो हत्याकाण्डको आकार अभूतपूर्व छ । मान्छेलाई मात्र गायब पारिएको होइन, वातावरण नै नष्ट गरिएको छ । पीडितहरूलाई सङ्ख्यामा तौलिन सकिन्न । जताततै लासैलास छ ।..”
इजरायली सेनाले अस्पतालमा १४ दिनभरि खानतलासी लियो । चुस्त हत्या र पक्राउ ग¥यो† पक्राउ गरेकालाई बन्धक बनायो; मेडिकल स्टाफहरूलाई भने बलपूर्वक बिरामी छोडी अस्पतालबाट बाहिरिन लगायो ।
२०२४ मार्च ३१ मा घसान अबु सित्ताले लेखे, “उत्तरी गाजामा बसेका मेरा सहकर्मीको एउटा म्यासेज पाएँ ।” सन्देशमा लेखिएको थियो – तिनीहरू अल–शिफा अस्पतालभित्र पसेको १४ दिन बित्यो । मेडिकल स्टाफहरूको बयानबाट स्थिति यस्तो छ ।
अस्पतालभित्र प्लास्टिक सर्जन डा. अहमद अल–मकाद्मेहको लास उनकी आमा डा. यास्मिन अल–मकाद्मेहको लासनजिकै भेटियो । अहमदका सहकर्मी बेलायती मूलका प्यालेस्टिनी सर्जन घसान अबु सिताको भनाइअनुसार उनीहरू दुवैलाई अस्पतालबाट भाग्न खोज्दा इजरायली सैनिकहरूले गोली हानेर मारेका थिए ।
सन् २०२४ अप्रिल १ मा घसान अबु सित्ताले ट्वीटरमा लेखे, “तिनीहरूले मेरा मित्र र सहकर्मी डा. अहमद मकाद्मेहलाई शिफा अस्पतालमा मारे । डा. अहमद सुन्दर मन भएका महान् सर्जन थिए । हामीले सन् २०१८–१९ को घर–फर्क पदयात्रा, सन् २०२१ को युद्ध र अहिलेकै यही युद्धमा समेत सँगै काम गरेका थियौँ । उनको जस्तो समर्पण मैले आजसम्म कसैमा देखेको छैन । उनको हत्याको लागि हामी इजरायललाई कहिल्यै माफ गर्नेछैनौँ ।”
२०२४ मार्च १ कै दिन नूर नाइमले ट्वीटरमा लेखिन्, “त्रासदीपूर्ण : इजरायली सेनाले प्लास्टिक सर्जरीविज्ञ डा. अहमद अल–मकाद्मेह र उनकी आमालाई अल–शिफा अस्पतालभित्र मारे । आज बिहान इजरायली सेना अस्पतालबाट फर्केपछि डा. अहमदका परिवारजनले दुवै लास फेला पारेका हुन् ।”
अस्पतालमा रहँदा इजरायली सेनाले मेडिकल सेवा, खाना र पानीबाट नियोजितरूपमा वञ्चित गरेको हुनाले अस्पतालको शøयामा २० जनाभन्दा बढी बिरामी मृत भेटिए । सोमबार मानवअधिकार समूह युरो–मेडले बतायो ।
इजरायली कब्जाको क्रममा इजरायली सेनाले ‘मानवीय सहायता लिएका उद्दार टोली र अन्तर्राष्ट्रिय सङ्घसङ्गठनका प्रतिनिधिलाई अस्पतालमा पस्न नदिएको’ युरो–मेडले जनायो ।
२०२४ अप्रिल १ गते नूर नाइमले लेखिन्, “हृदयविदारक ः घाइते बालक रफिकलाई इजरायली कब्जामा रहेको अल–शिफा अस्पतालमा खाना र उपचारबिना दुई हप्तासम्म राखिएको थियो । उसले भर्खर चिहानबाट निकालेजस्ता आँखाले हामीतिर हे¥यो । उसको हुलियाले नै दर्जनौँ कुरा भनिरहेको थियो; इजरायली सेनाले गरेको भयावह अत्याचारबारे बोलिरहेको थियो ।”
अल–शिफामा इजरायली सिपाहीहरूले छापा मारिरहँदा प्यालेस्टिनी प्रतिरोध दस्ताले भिषण लडाइँमा व्यस्त थियो ।
२०२४ मार्च २८ का दिन जोन एल्मरले ट्वीट गरे, “सायरा अल कुद्स लडाकुहरू यासिन १०५ हतियारको सहायताले इजरायली सेनाको नायर दस्तावाहक ट्याङ्कसँग भिडे । शिफाको लडाइँमा इजरायली सेनासँग माइन सफा गर्ने कार्पेट थर्मोबारिक उपकरण थियो ।”

फ्रान्सिस्का अल्बानिज

बालबालिकाको हत्या
गत हप्ता युरो–मेड मानवअधिकार समूहले जारी गरेको प्रतिवेदनमा इजरायली सेनाले अल–शिफा अस्पतालको हाताभित्र र बाहिर ‘व्यवस्थित र भयानक सैनिक कारबाही’ गरेको उल्लेख छ ।
यी कारबाहीमा कम्तीमा १३ प्यालेस्टिनी बालबालिकाको हत्या गरिएको र ती बालबालिकाको उमेर ४ देखि १६ वर्षसम्म रहेको उक्त मानवअधिकार समूहले जनाएको छ ।
प्रतिवेदनमा लेखिएको छ, “पीडितका परिवारजन घरभित्र थुनिएको अवस्थामा इजरायली सेनाले सबैभन्दा घातक गोलीबारी गरेको थियो† इजरायली सेनाले नै ‘सुरक्षित’ करार गरेको बाटो हुँदै पीडितहरू भाग्न खोज्दा अर्को गोलीबारी गरिएको थियो । पीडितहरूलाई तिनका घर र आवास क्षेत्रबाट जबरजस्ती बाहिर खेद्न इजरायली सेनाले ‘सुरक्षित’ बाटो तोकेको थियो ।”
इस्लाम अली सालौह अल–शिफानजिक बस्छन् । इजरायली सेनाले मार्च २४ का दिन आफ्ना दुवै छोराको हत्या मारेको उनले बताए । दुईमध्ये एकजना ९ वर्षका अली थिए भने अर्का ६ वर्षका साइद थिए । ती दुईलाई ‘आफ्नै परिवारजन र छिमेकीको सामुन्ने मारिएको थियो र तिनीहरूले विशेषगरी बालबच्चालाई ताकीताकी गोली हानेको सालौहले बताएको’ युरो–मेड समूहको प्रतिवेदनमा लेखिएको छ ।
सालौहले मानवअधिकारवादी समूहसँग इजरायली सेनाले आवास क्षेत्रका मानिसहरूलाई भागेर जाने आदेश दिएको बताए । उनका कलिला छोराहरू केही मिटर मात्र के हिँडेका थिए ‘अचानक तिनीहरूलाई ताकेर गोलीको वर्षा भयो । ती बच्चाहरू मुखको भरमा भुइँमा गल्र्याम्मै लडे र तिनको शरीर रगतपच्छे भयो ।’
सालौहले बताएअनुसार परिवारका अन्य सदस्यले ‘दुवै बच्चालाई भुइँबाट तान्न खोजे तर इजरायली सेनाले अली र साइदलाई छोडेर अघि बढ्न बाध्य पार्ने गरी तर्साउँदै तिनीहरूमाथि पनि गोलीबारी ग¥यो ।’

डा. अहमद अल–मकाद्मेह र घसान अबु सित्ता

सर्वसाधारणलाई नताकिएको इजरायली दाबी
इजरायली सांसद र राजनेताले अस्पताललाई हमास र इस्लामी जिहाद समूहले मुख्यालयको रूपमा प्रयोग गरेको दाबी गर्दै आएका छन् ।
इजरायलका पूर्वप्रधानमन्त्री नाफ्ताली बेन्नेटले अल–शिफा अस्पतालको विध्वंसलाई ‘रणमैदानको गजब उपलब्धी’ भने ।
उनले दाबी गर्दै भने, “इजरायलमाथि दबाब बढाउन र इजरायललाई बदनाम बनाउन हमासले धेरैभन्दा धेरै सर्वसाधारणको हत्या गराउने उद्देश्यले मेडिकल स्टाफ र बिरामीहरूलाई मानव ढालको रूपमा प्रयोग ग¥यो । त्यसैले एउटा पनि सर्वसाधारण मारिएको थिएन । मारिनेमा कोही पनि सर्वसाधारण छैन ।”
२०२४ अप्रिल १ मा ट्वीट गर्दै नाफ्ताली बेन्नेटले लेखे, “रणमैदानको गजब उपलब्धि इजरायली सेना आइडिएफले भर्खरै शिफा मेडिकल केन्द्रभित्र रहेको हमासको मुख्यालयविरुद्ध दुई हप्ताको कारबाही पूरा गरेको छ । ..हमासले धेरैभन्दा धेरै सर्वसाधारणको हत्या गराउने उद्देश्यले मेडिकल स्टाफ र बिरामीहरूलाई मानव ढालको रूपमा प्रयोग ग¥यो ।..”
२०२४ मार्च ३० गते एक इजरायली समाचार संस्थाले लेख्यो, “इजरायली सेनाका चिफ अफ स्टाफ हर्जेल हालेभीले शनिबार अल–शिफा अस्पताल कब्जा गरेर आफ्नो सेनाले ‘अस्पताल सुरक्षित स्थल होइन भन्ने निकै महत्वपूर्ण सन्देश’ दिएकोमा आत्मवञ्चना गरे ।”
गत साता प्यालेस्टिनी मानवअधिकारसम्बद्ध राष्ट्रसङ्घकी विशेष प्रतिनिधि फ्रान्सिस्का अल्बानिजले गाजामा भइरहेको जातिसंहारबारे प्रतिवेदन बुझाइन् । प्रतिवेदनमा इजरायलले ‘मेडिकल ढाल’ प्रयोग गर्ने अपराध गरेको उल्लेख छ ।
‘जातिसंहारको चिरफार’ नामक प्रतिवेदनमा अल्बानिज लेख्छिन्, “शत्रुले मेडिकल पूर्वाधारहरूमा लुकेको आरोप लगाउँदै ती पूर्वाधारहरूलाई ध्वस्त पार्नु इजरायलको नौलो चाल होइन । उसले यसअघिका युद्धमा पनि ‘मेडिकल युद्ध’ को रणनीति अपनाइरहेको थियो ।”
अल्बानिज थप लेख्छिन्, “यो आक्रमणमा इजरायलले जातिसंहारलाई सही ठह¥याउन कानुनी रणनीति अपनाएको छ र यही निहुँमा जीवनदायी पूर्वाधारहरूलाई पूर्णतः ध्वस्त पार्दै छ ।”
२०२४ अप्रिल १ गते फ्रान्सिस्का अल्बाजिनले लेखिन्, “गाजामा ‘मेडिकल ढाल’ जातिसंहार मच्चाउने इजरायलको रणनीति हो । यसको विषयमा मैले आफ्नो पछिल्लो प्रतिवेदन ‘जातिसंहारको चिरफार’ मा सविस्तार वर्णन गरेकी छु ।”
सोमबार अन्तर्राष्ट्रिय अपराध अदालतका वरिष्ठ वकिल करिम खानलाई इजरायलको ‘जातिसंहारक अभियान’ विरुद्ध कदम चाल्न अल्बानिजले अनुरोध गरिन् ।
२०२४ अप्रिल १ मै फ्रान्सिस्का अल्बानिजले ट्वीट गरिन्, “गाजाका थकित र सन्त्रस्त सर्वसाधारणविरुद्ध इजरायली सेनाले गरिरहेको प्रत्येक जघन्य अपराध एउटा जातिसंहारक अभियानकै हिस्सा हो । करिम खानजीले कस्तो कदम चाल्नुहुन्छ ? म हेरिरहेकी छु । अन्तर्राष्ट्रिय अपराध अदालतको इतिहासमा यो सत्यको सबैभन्दा ठुलो परीक्षा हो ।”
अल्बानिजले लेखिन्, “अन्तर्राष्ट्रिय अपराध अदालतको इतिहासमा यो सत्यको सबैभन्दा ठुलो परीक्षा हो ।”

(स्रोत : इलेक्ट्रोनिक इन्तिफादाबाट ।
अनुवाद : सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *