भर्खरै :

के भक्तपुर जिल्ला कुवा हो ?

रोहितको त्याग, राजनीतिक निष्ठाको जीवन र दृष्टिकोणबारे सञ्चारजगतमा यत्रतत्र चर्चा भइरहेको बेला भक्तपुरको एउटा साप्ताहिक पत्रिकाले छाप्यो –‘दीक्षितको रोहित हेर्ने आँखा : कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।’ लेखकले लेखमा आफ्नो औडाहा पोखेका छन् । मलाई खुब चित्त बुझ्यो । नेमकिपामा यस्ता र यस्तै मानिसहरू रहेछन् ।
पत्रिकामा लेखिएको थियो –‘रोहित र उनको पार्टीले नगरमा ०३९ सालदेखि आज पर्यन्त शासन गरिरहेको छ । लगभग पैंतीस वर्ष यहाँ शासन गर्यो ।’ हो – लेखकले भनेझैं नेमकिपा र रोहितले धेरै वर्ष भक्तपुरमा शासन गर्यो, खुब चित्त बुझ्दो कुरा उठाउनुभयो । उहाँको ज्ञान, जानकारी र अध्ययनले निकै प्रभावित बनायो ।
उतिबेला ज्ञानबहादुर न्याइँच्याइँ भक्तपुरको प्रधानपञ्च (मेयर) हुनुभएको बेला उहाँका उपमेयर ओमचरण अमात्य हुनुहुन्थ्यो । अमात्यले भक्तपुरका जनताको भावना लत्याएर त्यो पदको फाइदा लिनुसम्म लिनुभयो । क्वाछेंकोको सार्वजनिक पालीलाई पक्की बनाएर घर ठड्याउनुभयो । आफ्नै स्वार्थ पूरा गरुँ, आफ्नै पेट भरुँ, आफ्नै परिवार हेरुँ, आफै पैसा जोडुँ भन्ने सिद्धान्तले उहाँलाई दोहो-यायो ।
२०५४ सालमा भक्तपुरमा ठूलो भक्तपुर सडक महोत्सव भएको थियो । त्यो महोत्सवमा अमात्यलाई पत्रिकाको जिम्मेवारी दिइएको थियो । त्यसमा पनि उहाँले आफ्नै सिद्धान्त लागु गर्नुभयो । अन्य विज्ञापन दाताहरूसँग विज्ञापन उठाएर करिब ५ लाख रकम झ्वाम् पार्नुभयो । यो कुरा तत्कालीन नगरपालिकामा पुग्यो । त्यसपछि सत्यतथ्य रिपोर्टिङ गर्ने व्यक्तिलाई समेत अमात्यले पूर्वाग्रहपूर्ण आँखाले हेर्न थाल्नुभयो ।
एकताका भक्तपुरमा सेरामिक्स र सानो कुटिर व्यवसाय राम्रो सञ्चालनमा थियो । त्यहाँ लेखापढी गर्ने र खर्च हेर्ने पढेलेको मानिस चाहियो भन्ने जानकारी मिल्नासाथ अमात्य त्यहाँ भर्ती हुनुभयो । त्यहाँ पनि पैसाको विषयमा उहाँ शिवजी नै बन्नुभयो । १०–१५ लाख रुपैयाँ झ्याम पार्नुभयो ।
भक्तपुरको कुमारी द्यो छें उहाँको परिवारको नाममा छ, बहाल लिएर खाइरहनुभएको कुरा सर्वविदित छ । यसरी जनताको सेवा गर्ने, भक्तपुरको विकासमा अहोरात्र खटिरहने आदरणीय ओमचरण अमात्यलाई नेमकिपाले कारबाही गरेर ठिक भएन । उहाँ जस्तो मान्छे नेमकिपामा भए पो भक्तपुरको चौतर्फी विकास हुन्थ्यो !
आज भक्तपुरको प्रत्येक घरमा एकजना मात्र होइन २–३ जना स्नातक छन्, स्नातकोत्तर छन् । वार्षिक ४०० इञ्जिनियरहरू उत्पादन गरेर देशलाई सेवा गर्ने दक्ष प्राविधिक दिइरहेको छ ख्वप इञ्जिनियरिङ कलेजले ।
प्रत्येक वडामा झण्डै २४ इञ्जिनियरहरू छन्, नर्सहरू छन्, प्रत्येक टोलमा । साना नानीहरूदेखि लिएर वृद्धवृद्धाहरूसमेतले भक्तपुरको जनस्वास्थ्यमा एकदमै कम शुल्कमा सेवा प्राप्त गर्छन् । सफा र स्वच्छ भक्तपुर निर्माण गरेका रोहित, शिक्षाको विऊ रापेर युग–युगसम्म देशलाई उज्यालो बनाउने दृष्टिकोण भएका रोहितले भक्तपुरमा विकास गरेनन् भन्ने अमात्यका कुरा सो-है आना सही हो !?
लेखमा नेमकिपा नेवार पार्टी भनेर आरोप लगाइएको छ । हो, ‘नेमकिपा नेवार पार्टी’ नै हो ।नेमकिपाभित्र क्षेत्री, बाहुन, तराईवासी श्रमिक, जनता, तामाङ, थापा, मगर कोही पनि नदेख्ने उहाँको आँखा एकदम तेजिलो हो ! जुम्ला, दैलेख, कालिकोटलगायत ३६ जिल्लामा आफ्नो उम्मेदवारी दिएको नेमकिपाको तथ्याड्ढ पनि झुट नै हो । नेमकिपालाई कुवाको भ्यागुतो संज्ञा दिने लेखक ओमचरण अमात्य पनि कुवाको भ्यागुतो ठहरिएकोमा मलाई दुःख लाग्यो !
आफ्नो स्वार्थको लागि सिद्धान्त छोड्ने ओमचरण अमात्यजस्ताको ठाउँ अन्ततः नेमकिपा होइन, कम्युनिष्टको खोल ओडेको माओवादी केन्द्र नै हो !?

चम्पा सुवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *