भर्खरै :

पद र कुर्सीमा हानथाप गरेर परिवर्तन नहुने

विसं २०४६ सालको संयुक्त जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गरे पनि देशमा सामन्ती चरित्र, सामन्ती संस्कार र ऐन कानुन पूर्णतः हटेको छैन । हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पुँजीवादी व्यवस्था हो । यो व्यवस्थालाई पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दल नेकाले पक्षपोषण गर्नु या वकालत गर्नु अस्वाभाविक होइन । तर, कम्युनिस्ट पार्टीहरू पुँजीवादी व्यवस्थाविरोधी हुन् । पुँजीवादी व्यवस्था फालेर समाजवादी व्यवस्था ल्याउन उनीहरू सङ्घर्षरत हुन्छन् । पुँजीवादी व्यवस्थामा टाँसेर, निर्वाचन र सरकार गठनमा पुँजीवादी पार्टी नेका र राजावादी पार्टी राप्रपासँग लागेर देशमा परिवर्तन सम्भव छैन; श्रमजीवीवर्गको पक्षमा सरकार गठन हुँदैन र उनीहरूको हितमा ऐन, कानुन बन्दैन, बनाइँदैन । देशमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पटक पटक सरकार गठन भए पनि कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार काम नहुनु या ऐन कानुन नबन्नु यसको दृष्टान्त हो ।
कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार राजनीति गर्नुपर्छ । कम्युनिस्ट पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद देखाउने दाँत होइन । पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद र लेनिनवाद हो भने त्यसलाई देश, काल र परिस्थितिअनुसार लागु गर्नुपर्छ; लागु गर्न अघि बढ्नुपर्छ । तर, आफूलाई ठुला कम्युनिस्ट पार्टी भन्नेहरू लामो समयदेखि नै पद र पैसामा भुले; भागबन्डामा लागे । सरकारको नेतृत्व गर्न र सरकारमा सामेल हुन पाएपछि उनीहरू आफ्नो दलको सिद्धान्त र विचार भुल्न पछि परेनन् । दलको सिद्धान्त र विचारलाई अवसरमा बदल्ने, भागबन्डामा डुबाउने नीति कम्युनिस्ट भनिने ठुला दलका नेताहरूले अँगाले । यो कम्युनिस्टविरोधी कदम हो । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार छोड्नु वा भुल्नु सिद्धान्त र विचारप्रति घात हो† जनतालाई विश्वासघात गर्नु हो । यो राजनीतिक बेइमानी हो । यसको निन्दा गर्नुपर्छ ।
शासक र ठुला दलका नेताहरू देश र जनताकेन्द्रित हुनुभन्दा व्यक्तिकेन्द्रित हुन थाले । उनीहरूले आ–आफ्नो पक्षका नेताहरू अघि सार्न, मन्त्री बनाउन या उच्च पदमा राख्न गुट–उपगुट बनाउन थाले । राजनीतिक संस्कार विकास गरी जनतालाई सचेत र सङ्गठित गरेर आदर्शोन्मुख समाज स्थापना गर्न कम्युनिस्टहरू लाग्नुपर्ने हो । जनताको घर आँगनमा पुगेर जनतालाई राजनीतिक र सैद्धान्तिकरूपले प्रशिक्षित गरी आमूल परिवर्तनको पूर्वाधार तयार गर्नुपर्ने कम्युनिस्टहरू जहिल्यै पद र कुर्सीको राजनीतिमा हानथाप गरेर देशमा कसरी परिवर्तन हुन्छ ? पुरानो सरकार पल्टाउने र नयाँ सरकार गठन गर्ने काम धेरै पटक भयो । नयाँ मन्त्रीहरू हेरफेर भए । तर, यहाँ कुनै मौलिक परिवर्तन भएन । मौलिक परिवर्तनको निम्ति समय दिइएन । कम्युनिस्ट भन्ने तर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार कुनै काम गरिएन भने त्यो दल कसरी कम्युनिस्ट हुन्छ ? त्यो कम्युनिस्ट पार्टीले कसरी आफ्नो कर्तव्य निर्वाह गरेको ठान्छ ?
कम्युनिस्टहरूले जसरी सामन्तवादी राज्यसत्ताविरूद्ध सङ्घर्ष गरेर, लडेर अन्त्य गरे त्यसरी नै यो पुँजीवादी व्यवस्थाविरूद्ध पनि लड्नुपर्छ† फाल्न लाग्नुपर्छ । पुँजीवादी व्यवस्था अन्त्य नगरी, नफाली बहुमत जनताले सन्तोषको सास फेर्न पाउनेछैनन् । बहुमत जनताको हित हुने व्यवस्था समाजवादी व्यवस्था हो । समाजवादी व्यवस्था स्थापना गर्न देशका सबै कम्युनिस्ट पार्टीहरू आ–आफ्नो स्थानबाट लाग्नुपर्छ । पुँजीपति, सामन्त, जालीफटाहा र प्रतिक्रियावादीहरू कम्युनिस्ट पार्टीलाई माथि उठाउँदैनन् । उनीहरू कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन र कम्युनिस्ट पार्टीको आन्दोलन शिथिल बनाउन सरकारमा ल्याउने प्रयत्न गर्छन् । कहिले एउटा कम्युनिस्ट पार्टीलाई सरकारमा ल्याएर अर्को कम्युनिस्ट पार्टीलाई चिढाउने काम गर्छन् । यसकारण, कम्युनिस्ट पार्टीहरू पुँजीवादी पार्टीको उठवसमा लाग्नुहुँदैन । तर, देशका ठुला भनिएका कम्युनिस्ट पार्टीहरू पुँजीवादी पार्टी, विदेशी दलाल र साम्राज्यवादी तथा विस्तारवादी देशहरूको पिछलग्गू बनेका छन् । विदेशी दलाल र विदेशी शक्ति राष्ट्रहरूले नेपालका ठुला भनिने कम्युनिस्ट पार्टीहरूलाई नचाइरहेका छन् । यो चिन्ताको विषय छ । यसतर्फ देशका देशभक्त जनता सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *