भर्खरै :

धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी

धार्मिक, जातीय तथा भाषिक द्वन्द्व निम्त्याउनेबारे नयाँ पुस्ता सचेत हुन जरुरी

भक्तपुर, २८ चैत । बाल विकास सेकेन्डरी स्कूलमा नव वर्ष २०८१ र बिस्का जात्राको शुभकामना आदानप्रदान, परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले समाजका जालीफटाहाहरूले समाजमा धार्मिक, जातीय तथा भाषिक द्वन्द्व गराएर विदेशी दलाल तथा यहाँका टाठाबाठाहरूले समाजमा रजाइँ गरिरहेको हुँदा नयाँ पुस्ता सचेत हुनुपर्ने बताउनुभयो । समाजका ठग तथा विदेशी एजेन्टहरू धार्मिक गुरुको भेषमा समाजमा भ्रमको खेती गरेर देशको स्वाधीनतामाथि धावा बोलिरहेको औँल्याउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “हरेक विद्यालयले विद्यार्थीलाई श्रमलाई माया गर्ने र श्रमको कदर गर्ने, ज्येष्ठ नागरिक, अशक्त, असहाय र दीनदुःखीको सेवा गर्ने खालको शिक्षा दिनुपर्छ ।” उहाँले नागरिक भावनाको अभावले समाजमा सकारात्मक परिवर्तन कठिन भइरहेको परिस्थितिमा विद्यालयले समाजको सांस्कृतिक स्तर उठाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षक समाज निर्माण गर्ने इन्जिनियर भएकोले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षक पेसामा निरन्तर अगाडि बढ्न आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज देशमा समय सुहाउँदो श्रमसँग जोडिएको शिक्षाको बन्दोबस्त नहुँदा नयाँ पुस्तामा बेरोजगारीको समस्या बढेर बिदेसिन बाध्य भएको हो ।”
अध्यक्ष बिजुक्छेँले पुँजीवादी व्यवस्थामा खराब मान्छेले मात्र अवसर पाउने भएकोले पुँजीवादी समाज नै दोषी भएको औँल्याउनुभयो ।
विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले विद्यालय शिक्षा सेवामा संलग्न अन्य संस्थासँग रचनात्मक सहकार्यका साथ अघि बढिरहेको बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि विद्यालयले सकारात्मक सन्देश दिन लागिपरेको र विद्यार्थीलाई विदेशीको दास नबनी देशको सेवक बन्न प्रेरित गरिरहेको बताउनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले युवा पुस्ताको विदेशमोहले देशको भविष्य नै अन्धकारतिर धकेलिँदै गएको विषयमा चिन्ता व्यक्त गर्दै विश्वव्यापारीकरणले नेपालजस्ता विकासोन्मुख देशका जनतालाई आधुनिक दास बनाइरहेको बताउनुभयो ।
लेखक योगेन्द्रमान बिजुक्छेँले समाजमा सकारात्मक परिवर्तनको लागि विद्यालयले संवाहकको काम गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई कक्षाकोठामा मात्र सीमित गर्न नहुने, शिक्षकहरूले विद्यार्थीलाई रचनात्मक र अनुसन्धानात्मक कार्यमा पनि सक्रिय गराउनुपर्ने, शिक्षकहरूमा साहित्यिक र दार्शनिक चेत हुनुपर्ने औँल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा मनोरोग विशेषज्ञ डा. धनरत्न शाक्यले मानसिक स्वास्थ्यको बारेमा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाहरू सीता प्रजापति, जयराम कोजु, सूर्यबहादुर पञ्च, विशाल राजचल, जयन्द्र श्रेष्ठ, सृष्टि प्रधान, एलिसा दुमरु, सुशिला लवजु, मनिषा ग्वाछा, गंगा वैद्य, विना कर्माचार्य, विजेश्वरी श्रेष्ठ र सुलोचना छ्वाजूलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *