भर्खरै :

विद्यालय शिक्षा विश्वविद्यालय शिक्षाको जग

विद्यालय शिक्षा विश्वविद्यालय शिक्षाको जग

भक्तपुर, २८ चैत । पञ्चकन्या मा.वि.को ३८ औँ स्थापना दिवस र पुरस्कार वितरण समारोह नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा सांसद सुवालले विद्यालय शिक्षा विश्वविद्यालय शिक्षाको लागि जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।”
नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई तातोपानी एक गिलास खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भन्नुभयो, “विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । विदेसिएका नेपालीहरूको दैनिक ५–१० वटा लास नेपाल फिर्ता भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।”
उहाँले भन्नुभयो, “संसद्को बैठक चलिरहेको छैन । चलेको बेला देश र जनताको हितमा काम भएको छैन । सहकारी ठगीमा गृहमन्त्रीको राजीनामा मागेको नेका २०४७ यताको सार्वजनिक पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्ने अमुर्त काममा लाग्यो । यो जनतालाई अर्को धोका हो । सम्पत्ति छानबिन त सन् १८१६ को सुगौली सन्धि गरी नेपाली युवालाई गोर्खा भर्तीमा पठाउने राणा शासकदेखि पञ्चायतकालका मुख्य मुख्य व्यक्तिहरूको गर्नु जरूरी छ ।”
ललिता निवासको सरकारी जग्गा, थँबहीको सरकारी कमलपोखरी, दुवाकोटको पर्ती जग्गा, बोडेको सरकारी कमलपोखरी, झौखेलको सरकारी कमलपोखरी व्यक्तिको नाममा दर्ता गरिदिनेहरूलाई कारबाही गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई अर्थतन्त्रको ड्राइभिङ सीटमा राख्ने बताउनु पुँजीपतिवर्गलाई फाइदा दिनु नै हुने स्पष्ट पार्दै सरकारले जनताको लागि केही गर्न नसक्ने भए अर्थमन्त्री किन आवश्यक हुन्छ भनी सांसद सुवालले प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, “वाइडबडी, एनसेल, टेरामक्स सबैतिर भ्रष्टाचार भएको सार्वजनिक भयो । मेलम्ची खानेपानी योजनाको लागि ६३ अर्ब ऋण लिएको सरकारले काठमाडौँवासीलाई पानी दिन सकेन । थप ५ अर्ब खर्च गर्नुपर्ने दाबी गर्दै छ । देशको सन्तुलित विकास गरिए एक अर्ब रूपैयाँमा काठमाडौँ उपत्यकाको खानेपानी स्रोत बनाई पानी खुवाउन सकिनेछ ।”
सांसद सुवालले दुई सय वर्षअघि नै रूसमा १५ वर्षका नयाँ पुस्तालाइ पाँच ओटा भाषामा पोख्त बनाइएको जानकारी दिँदै नेपाल सरकारले चाहेमा हामीले पनि गर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा वाग्मती प्रदेशसभा सांसद गीता काफ्ले, चानपा वडा नं. ८ का वडा अध्यक्ष जनक खत्री, जिल्ला शिक्षा विकास एकाइ प्रमुख कमला ज्ञवाली, नगर शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोसनराज तुइतुई, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिहर तिमल्सिना, विद्यालयका प्रअ नारायणप्रसाद दुलाल, सहायक प्रअ प्रकाश तजलेलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि मन्जित मल्लले दुई जना गरिब तथा जेहेनदार विद्यार्थीलाई प्रतिविद्यार्थी रु. १० हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *