भर्खरै :

पथप्रदर्शकहरूले देशको सार्वभौमिकता जोगाउने कार्यमा सहयोग पु¥याउन आवश्यक

पथप्रदर्शकहरूले देशको सार्वभौमिकता जोगाउने कार्यमा सहयोग पु¥याउन आवश्यक

भक्तपुर, २९ चैत । “पथप्रदर्शकहरूले कुनै स्थानको भूगोल र संस्कृतिबारे जानकारी राख्न जरूरी हुन्छ । बेलायत र फ्रान्सको क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे पनि पथ प्रदर्शकहरूले अध्ययन गर्नु आवश्यक छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले बिहीबार भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिको आयोजनामा सम्पन्न स्थानीय पथप्रदर्शकहरूको भेला तथा नयाँ वर्ष २०८१ साल र बिस्केट जात्राको शुभकामना आदानप्रदान कार्यक्रममा बताउनुभएको हो ।
गरिब देशको कच्चा सामान र बजार कब्जा गर्न साम्राज्यवादीहरूबिचको होडबाजीको कारण पहिलो र दोस्रो विश्वयुद्ध भएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “समाजवादमा उत्पादनका मुख्य मुख्य साधान र सेवा समाजिकीकरण वा राष्ट्रियकरण हुन्छ । समाजवादी व्यवस्थाको सुरुमा पँुजीवादी व्यवस्थाको खरावी बाँकी रहनेछ । पुँजीवादी संस्कार भएकाहरूलाई समाजवादी विचारबाट प्रशिक्षित गर्नु जरूरी हुन्छ ।”
“नेपालमा कम्युनिस्ट दाबी गरेकाहरू सरकारमा गएर पुँजीपति वर्गको सेवा गर्दै छन् । युरोप र अमेरिकाका दास व्यापारीहरूले अफ्रिकीहरूलाई दास बनाएर व्यापार गरेझैँ दुईसय वर्षपछि नेपालमा सरकारमा गएका दलहरूले नेपाली युवालाई म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीको नाममा नेपाली युवालाई १७१ देशमा सस्तो ज्यामीको बन्न पठाउँदै छन्”, उहाँले भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीले नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्तीदेखि २०४७ सालपछि इन्डिया बस्न गएका राणाहरूको लागि चेलीबेटी बेचविखन र अहिले दिनको सात हजार नेपालीलाई विदेश पठाउने सरकारी नीतिको विरोध गर्दै आएको सांसद सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “पर्यटक पथप्रदर्शकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्नु उचित हुन्छ ।”
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका संयोजक रवीन्द्र ज्याख्वले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न पथप्रदर्शकहरूले सही सूचना प्रदान गर्नुका साथै पर्यटकहरूको मनछुने तरिकाले व्याख्या र विश्लेषण गर्नुपर्ने बताउनुभयो । पथप्रदर्शकको अध्ययन गर्ने बानी बसाल्न समय समयमा परीक्षा र पुनर्ताजगी कार्यक्रमहरू गर्नुपर्ने उल्लेख गर्दै उहाँले पर्यटकहरूको बसाइँ लम्ब्याउन पथप्रदर्शकहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।
भक्तपुर स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले पथप्रदर्शकहरूले व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितमा ध्यान दिनुपर्नेमा जोड दिँदै सानो सानो लोभमा फसेर सामूहिक र संस्थागत लाभलाई हानि हुने काम गर्न नहुने बताउनुभयो । उहाँले पथप्रदर्शकहरू शिक्षित र सचेत हुनुपर्ने बताउनुभयो । उहाँले पुराना पथप्रदर्शक साथीहरूले अध्ययन र आफ्नो काममा निखार नल्याए नयाँ पथप्रदर्शकहरूले विस्थापित गर्ने सम्भावना हुन्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर पर्यटन विकास समितका अध्यक्ष दिपेशराज शर्माले पथप्रदर्शकहरूको कार्यलाई थप व्यवस्थित गर्न दण्ड र पुरस्कारको व्यवस्था पनि हुने र आफ्नो व्यक्तित्व विकासको लागि आफैँ सक्रिय हुनुपर्ने र बोलीबचन नरम र सरल हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वातावरण तथा पर्यटन समितिका सदस्य मञ्जु लाखा र पथप्रदर्शक प्रमेश लाखाले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *