भर्खरै :

मधेसी जनताको समस्या ज्यूँ का त्यूँ

मधेसी जनतामाथि भइरहेको शोषण, विभेद र अत्याचार अन्त्य गर्नको निम्ति तराईमा धेरै मधेसकेन्द्रित दलहरू देखिए । मधेसी जनताको मुक्तिको निम्ति खोलिएका ती दलका नेताहरूले देश टुक्राउने, मधेस अलग्ग गर्ने र उपत्यकालाई आर्थिक नाकाबन्दी गर्ने चेतावनीसमेत दिए । मधेसी दलका नेताहरू मधेसको मुद्दा उठाएर सत्तामा गए । तीनै नेताहरू मन्त्री, उपप्रधानमन्त्री र राष्ट्रपतिसमेत भए । तर, उनीहरू मधेसी जनताको मुक्ति तथा समस्या समाधान गर्नेतर्फ कहिल्यै लागेनन् । मधेसी जनतामाथि भइरहेको शोषण, दमन, विभेद अन्त्य भएन; अन्त्य गर्नेतर्फ कुनै पाइला चालेन । मधेसी जनतामाथि भइरहेको पीडा, शोषण अन्त्य गर्न बरू मधेसी जनता आफैँ सङ्घर्षमा होमे । तर, मधेसी दलका नेताहरूले साथ दिएनन्; ऐक्यबद्धता जनाएनन् । बरू मधेसी जनताको श्रम र पसिनामा रजाइँ गरेर, उनीहरूकै काँधमा चढेर मधेसी नेताहरू मन्त्री भए, ऐय्यासी जीवन बिताए ।
मधेसी नेताहरूले दलको नाम फेरिए पनि उनीहरूको सोच, चिन्तन सबै मधेसकेन्द्रित नै भइरहेकोमा शङ्का छैन । मधेसी जनताको विश्वास जित्न उनीहरूले दुइटा विषय अघि बढाए । एउटा सङ्घीयता हो भने अर्को नागरिकता । सङ्घीयता र नागरिकताको प्रसङ्ग उठाएर उनीहरूले मधेसी जनताको मत लिए । उनीहरूले विदेशीले पनि वंशजको आधारमा नेपाली नागरिकता लिन पाउनुपर्ने आवाज उठाए† सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म पु¥याउनुपर्छ भनी सङ्घीयताको कुरा उठाए । सङ्घीयता र नागरिकताको विषय उत्थान गर्नुको अर्थ मधेसी जनताको विश्वास जितेर मन्त्री बन्नु नै थियो । उनीहरू पटक–पटक मन्त्री पनि भए । तर, तराईका सामन्त, जमिनदार, जालीफटाहा,प्रतिक्रियावादीहरूको नेतृत्वमा रहेको तराईकेन्द्रित दलका नेताहरूले तराईका शोषित–पीडित, उत्पीडित जनताको समस्या समाधान गर्लान् भन्ने कुरा आकाशको फल आँखा तरी मर भनेजस्तै हुनेछ ।
मधेसी जनताको मुक्तिको नाउँमा मधेसमा पटक पटक आन्दोलन पनि भयो । मधेसी आन्दोलनलाई सरकारले दमन ग¥यो, दबायो । आन्दोलनकै क्रममा धेरै मधेसी जनताको निधन भयो । मधेसी नेताहरू मन्त्री पनि भए । तर, मधेसकेन्द्रित दल र तिनका नेताहरूले जनताको मुद्दालाई पाखामा थन्काए र सत्तामा गएर रजाइँ गरे । तराईमा खोलिएका दलका नेताहरूले न उखु कृषकहरूको आन्दोलनमा समर्थन जनाए, न आन्दोलनमा साथ दिए न त मिटरब्याज पीडित आन्दोलनमा नै बल पु¥याए । मधेसी जनता अहिले पनि अनेक समस्याबाट पीडित छन् । कहिले बोक्सी, कहिले बालविवाह, कहिले दाइजोको कारण मधेसी जनता प्रताडित छन् । उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोहरू मधेसले नै चिनाएका नेताहरू हुन् । अहिले तिनै नेताहरू मधेसका मुद्दाका लागि सत्तामा पुग्ने या मन्त्री बन्ने स्वार्थमा भुलेका छन् । यसकारण, मधेसी समुदायमाथि हुने गरेको सामाजिक विभेद र विभिन्न भेदभाव पनि अन्त्य हुन सकेन ।
तराई–मधेसका दलहरू समग्रमा देश र जनताप्रति समर्पित नभएको हुँदा, भारतीय एकाधिकार पुँजी र विस्तारवादको पक्षमा लागेको हुँदा ती दलप्रति मधेसी जनताको विश्वास एकपछि अर्को गुम्दै गएको हो । देशमा सबभन्दा बढी टुक्रिएको दल तराईकेन्द्रित दलहरू नै हुन् । छिनछिनमा फुट्ने र छिनछिनमा मिल्ने दलहरू पनि मधेसवादी दलहरू नै हुन् । सङ्कीर्ण र साम्प्रदायिक विचार बोकेकै कारण ती दलका नेताहरूले मधेस अलग्ग गर्ने चेतावनीसमेत दिएका थिए । आफ्नो दलको माग पूरा गर्नेतर्फ सरकारले चासो राखेन भनेर देश टुक्रा गर्ने धम्की दिने दल देशविरोधी दल हो । अहिले दलको नाम जनता समाजवादी, लोकतान्त्रिक पार्टी, जनमत पार्टी जे राखे पनि ती दलका नेताहरूको स्वार्थ साँच्चै मधेसी जनताको हित गर्न होइन, सत्ता स्वार्थ पूरा गर्न नै हो । मधेसी दलका नेताहरू सामन्त, जमिनदार, जालीफटाहा, शोषक भएको कारण ती दलले श्रमजीवी मधेसी जनताको प्रतिनिधित्व गर्दैनन्; गरिरहेका छैनन् । त्यसकारण, तराईमा शोषक, जमिनदार, जालीफटाहाहरूविरुद्ध किसान सङ्घर्ष चर्काउनुपर्छ† किसान सङ्घर्ष अघि बढाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *