भर्खरै :

स्वस्थ शरीर भए समाज नै राम्रो हुने

स्वस्थ शरीर भए समाज नै राम्रो हुने

भक्तपुर, ८ वैशाख । भक्तपुर नगरपालिका वडा कार्यालयको आयोजनामा भनपाको प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भ.न.पा. ६ का कार्यवाहक वडा अध्यक्ष रोशनमैया सुवालको सभापतित्वमा महिलाहरूलाई पाठेघर तथा स्तन क्यान्सर परीक्षण शिविर कार्यक्रम शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले सरकारको गैरजिम्मेवारीका कारण निजी अस्पतालले ठूलो व्यापार गरिरहेको चर्चा गर्दै भक्तपुर नगरपालिका साना बालकदेखि वृद्धसम्मको न्यूनतम आवश्यकता पूर्ति गर्न अहोरात्र खटिरहेको छ भन्नुहुँदै जनताको आँखाले त्यसको मूल्याङ्कन भइरहेको छ भन्नुभयो ।
स्वस्थ शरीर भए समाज नै राम्रो हुने बताउँदै गरिब जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै ख्वप अस्पताल स्थापना गरेको चर्चा गर्दै स्वास्थ्य बीमावापतको रकम सरकारले उपलब्ध गराउन नसकेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कला संस्कृति, सम्पदा पुनः निर्माण कार्यमा नगरवासीहरूको साथ र सहयोगमा पारदर्शी रूपमा निरन्तर रूपमा अडानकासाथ अघि बढिरहन्छ भन्नुहुँदै आगामी दिनमा पौडी पोखरीको व्यवस्था गर्ने सोचमा रहेको छ भन्नुभयो ।
किसान नेता गोविन्द दुवालले महिलाहरूले आफ्नो रोग लुकाउन नहुने खुलस्त रूपमा आफ्नो रोगबारे जानकारी दिई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्नुहुँदै माक्र्सवाद, लेनिनवाद, माओ विचारधाराअनुसार निःस्वार्थपूर्वक देश र जनतालाई शिरोपर गरी सेवा गर्ने लक्ष्यकासाथ नेपाल मजदुर किसान पार्टी सङ्घर्षरत रहेको चर्चा गर्नुभयो । उहाँले देशमा भ्रष्टहरूको बिगबिगी बढिरहेको छ भन्नुहुँदै भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्दछ भन्नुभयो ।
भनपा ६ का कार्यवाहक वडाअध्यक्ष एवं सभापति रोशनमैया सुवालले गरिबी, अशिक्षा अवस्थालाई मध्यनजर गर्दै न्यूनतम स्वास्थ्य उपचारबारे बञ्चित नहोस् भनी हेतुका साथ समय–समयमा स्वास्थ्य शिविर कार्यक्रम गर्नुका साथै विभिन्न रोजगारमूलक तालिमहरू भनपाले सञ्चालन गरिरहेको छ भन्नुभयो ।
उक्त कार्यक्रममा स्त्री रोग विशेषज्ञ डा.कृष्णप्यारी दुगुजु, वडा नर्स पुष्पा बेताल र स्वयमसेविका मञ्जु कुम्पाखले आ–आफ्नो धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *