भर्खरै :

पुँजीवादले मानिसलाई मानिसको रूपमा हेर्दैन

पुँजीवादले मानिसलाई मानिसको रूपमा हेर्दैन

वीरेन्द्रनगर, १५ वैशाख । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शनिबार वीरेन्द्रनगरमा नेपाल मजदुर किसान पार्टी सुर्खेत जिल्ला समितिले कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गर्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईंले मजदुर आन्दोलनबाट नै ८ घण्टा काम गर्ने बन्दोबस्त गरेको बताउनुभयो ।
नाफाको लागि उत्पादन गर्ने पुँजीवादी व्यवस्थाले मानिसलाई मानिसको रूपमा नभई वस्तुको रूपमा किनबेचको परिपाटी बसालेको चर्चा गर्दै संयोजक गोसाईंले मानिस वस्तु हुन सक्दैन, मानिस स्वतन्त्ररूपमा बाँच्न चाहन्छ भन्नुभयो ।
शासकहरूले युगौंदेखि गर्दै आएको अन्याय, अत्याचार र शोषणलाई स्वाभाविक मान्ने चेतनाले विद्रोह गर्न नसक्ने उल्लेख गर्दै संयोजक गोसाईंले समाजमा आमूल परिवर्तन ल्याउन व्यापक कामदार जनतालाई राजनीतिक र सैद्धान्तिकरूपमा सचेत बनाउनु जरुरी छ भन्नुभयो ।
नेपालमा कामदारवर्गको पक्षमा श्रम ऐन बन्न नसकेको उल्लेख गर्दै संयोजक गोसाईंले मौजुदा श्रम ऐनमा भएका सीमित मजदुरहरूको अधिकारलाई पनि कार्यान्वयनमा ल्याएको छैन भन्नुभयो । आफ्नो पेसागत हितको पक्षमा मात्र बोल्ने टे«ड युनियनवादले मजदुरहरूको समस्या समाधान गर्न नसक्ने बताउँदै संयोजक गोसाईंले जीवनको हरेक पक्षमा देखिएका समस्या समाधानको लागि वर्गसङ्घर्षलाई अगाडि बढाउनु क्रान्तिकारी टे«ड युनियनवाद हो भन्नुभयो ।
विगतमा नेपालका कारखानामा उत्पादन भएका सामानहरू यूरोपसम्म निर्यात हुने गरेको स्पष्ट पार्दै संयोजक गोसाईंले भारतीय शासकवर्गको दबाबमा सरकारी उद्योगहरू निजीकरण गरेको बताउनुभयो । नेपाली युवाहरू सबैलाई विदेशमा धपाएर शासकहरूले नेपाललाई अधोगतिमा लगेको बताउदै संयोजक गोसाईंले भन्नुभयो, रेमिन्ट्यान्सबाट देश चल्न सक्दैन ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुङले मजदुर आन्दोलनले नै कामदार महिलाहरूलाई सशक्त र सक्षम बनाउँछ भन्नुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य हरिसुन्दर वासी, लालबहादुर थापा, कविराम खड्का, निरकबहादुर शाही, पुष्पराज राना, गोविन्दनाथ योगी, तुल्सी खड्का, अक्कलबहादुर राना, प्रेम थापा, शेरबहादुर शाही, चेतन पौडेल, टीकाप्रसाद पोख्रेल, विजुकला राना, अङ्गबहादुर शाहीलगायतले पार्टीका विभिन्न प्रकाशनबारे टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *