सीको स्वागतमा ट्रम्पको राजकीय रात्रिभोज
- आश्विन ९, २०८३
भक्तपुर, १५ वैशाख । नवज्योति बचत तथा ऋण सहकारी संस्था लि.को २० औँ स्थापना दिवस तथा धिमेबाजा र कौसी खेती प्रवद्र्धनका प्रशिक्षार्थीहरूलाई शनिबार प्रमाणपत्र वितरण भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष एवम् वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर पर्यटकीय क्षेत्र भएकोले विभिन्न सीप सिकी जीविका चलाउन सकिने बताउनुभयो ।
विभिन्न प्रकारका बाजा सिकी आर्थिक स्रोत बनाउन सकिने बताउँदै उहाँले इज्जत र प्रतिष्ठामा आँच नआउने गरी काम गर्नुपर्छ भन्नुभयो ।
उहाँले कृषि पेसालाई हेलाहोचा गर्ने प्रवृत्तिले आज नेपाल विदेशनिर्भर हुँदै गएको र विषादीयुक्त खानेकुरा खान नेपालीहरू बाध्य भएको बताउनुभयो ।
सहकारीलाई फाइदा र बेफाइदाको दृष्टिकोणले मात्र हेर्न नहुने बताउँदै उहाँले एमाले, काङ्ग्रेस, एमाओवादीलगायत सरकारमा जाने राजनैतिक दलहरू भ्रष्टाचारमा डुबिरहेको सम्बन्धमा चर्चा गर्नुभयो ।
सरकारले उद्योगहरू सञ्चालन गरी देश र जनताको सेवा गर्नुपर्नेमा निजीकरण गरेर उद्योगहरू विदेशीको हातमा दिने चलखेल गरिरहेको उल्लेख गर्दै उहाँले भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवाद नेपाललाई तहसनस गर्न खोज्दै छन् भन्नुभयो ।
सहकारीले शिक्षा, स्वास्थ्य क्षेत्रमा ध्यान दिनुपर्ने बताउँदै उहाँले सहकारी संस्था धरापमा पर्नुको मुख्य कारण सञ्चालकहरू रहेकाले सदस्य बन्नुअघि संस्थाको सञ्चालक र संस्थाबारेमा जानकारी राख्नुपर्छ भन्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सहकारीको सात सिद्धान्तबारे सदस्यहरूले जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । स्वैच्छिक र खुला सदस्यताको सिद्धान्तविपरीत कार्यक्षेत्रभन्दा बाहिरका सदस्य भएको संस्था बिस्तारै धरापमा पर्न गएको स्पष्ट पार्दै उहाँले राजनैतिक ढाकछोपले सहकारी बिगार्नेहरू कारबाहीमा नपरेको बताउनुभयो ।
ओरेन्टल, सुमेरु, सिभिल, शिवशिखरजस्ता ठुलठुला सहकारीहरू बिग्रनुमा ती संस्थाका सञ्चालकहरूको गलत मनसाय रहेको बताउनुभयो ।
स्वायत्तता र स्वतन्त्रता, सहकारी शिक्षा र तालिम, सहकारीबिच समन्वयजस्ता सिद्धान्तमा अडिग संस्थामात्र समस्यामा नआएको बताउँदै उहाँले ५० करोड पुँजी भएका सहकारीलाई नेपाल राष्ट्र बैङ्कले नियमन गर्न खोज्नु सहकारीको मर्मविपरीत हुनेछ भन्नुभयो ।
संस्थाका अध्यक्ष काजीबहादुर पञ्चले संस्थाको समिति र उपसमितिका पदाधिकारीले इमानदारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेमा सहकारीको उत्तरोत्तर प्रगति गर्न सहज हुन्छ भन्नुभयो ।
उक्त कार्यक्रममा लेख सुपरिवेक्षण समितिका संयोजक दुर्गानाथ न्हेमाफुकी, व्यवस्थापक रामभक्त खर्बुजा, कृषि उपसमितिका संयोजक सुरेन्द्र न्हेमाफुकी र सांस्कृतिक उपसमितिका संयोजक सुमित माकजु तथा संस्थाका सचिव शिवबहादुर खुलिमुलीले पनि बोल्नुभएको थियो ।
धिमेबाजा प्रशिक्षण लिने २४ जना प्रशिक्षार्थी तथा कौसीखेती प्रवद्र्धनका ३० जना प्रशिक्षार्थीलाई कदरपत्र, मायाको चिनो र प्रमाणपत्र वितरण भएको थियो ।
Leave a Reply