भर्खरै :

शोषणको पक्ष लिने सरकारहरू मजदुरविरोधी

शोषणको पक्ष लिने सरकारहरू मजदुरविरोधी

जुम्ला, २० वैशाख । १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा बुधबार नेपाल क्रान्तिकारी मजदुर सङ्घ जुम्ला जिल्ला समितिले खलंगा बजारमा जुलुस तथा कोणसभा सम्पन्न गर्यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले शोषक, सामन्त, पुँजीपति र ठालूहरूको सेवा गर्ने नेपालको सरकार मजदुरविरोधी सरकार हो भन्नुभयो । विदेशीलाई नागरिकता दिने, नदीनाला भारतलाई बेच्ने नेपाली शासक दलका नेताहरू विदेशी दलाल हुन् भन्दै केन्द्रीय सदस्य काफ्लेले सबै शासक दलहरू मिलेर देशघाती एमसीसी पास गर्नु निन्दनीय छ भन्नुभयो ।
नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर बेच्ने देशद्रोहीहरूलाई ज्यान सजाय दिनुपर्ने जिकिर गर्दै केन्द्रीय सदस्य काफ्लेले भ्रष्टाचारको अनुसन्धान गर्दै जाँदा शासक दलका नेताहरू आफैँ मुछिएपछि कारबाही तुहाउने गरेको स्पष्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले नेपालका उद्योगधन्दा बन्द गरी विदेशी पुँजीको सेवा गर्ने सबै शासक दलहरू नेपाली जनताविरोधी हुन् भन्नुभयो । जनतासँग भोट लिने एमाले, माओवादी शासकहरूले काङ्ग्रेसले बेचेको कुन उद्योग पुनःसञ्चालन गर्यो भनी प्रश्न गर्दै केन्द्रीय सदस्य शाहीले शासक दलहरूकै कारण नेपाली युवाहरूले काम नपाएको बताउनुभयो ।
नेमकिपा कर्णाली प्रदेशका संयोजक सरोजराज गोसाईले कम्युनिस्टहरूले नै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउन सुरु गरेको बताउनुभयो । पुँजीपतिवर्गले नाफाको लागि निर्दयतापूर्वक अन्याय, अत्याचार र शोषण गरिरहेको बताउँदै संयोजक गोसाईले मजदुरहरूले वर्गीयरूपमा सचेत र सङ्गठित सङ्घर्ष नगरेसम्म मजदुरहरूको मुक्ति हुनसक्दैन भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जुम्लाका अध्यक्ष हर्कबहादुर बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासी, खड्गराज शाही, पूर्णलाल खत्री, जयकृष्ण उपाध्यायले शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *