भर्खरै :

फरक बागी लुनिन

फरक बागी लुनिन

पेरिसमा लुनिन
१८१६ को सेप्टेम्बर महिनामा लुनिन पेरिस यात्रामा निस्के । साथमा फ्रान्सेली नागरिक हिप्पोलाइट औगर पनि थिए । औगर कुनै बेला रूसी सेनामा थिए । अनेक ठाउँमा रोकिँदै ६ हप्ताको जहाजी यात्रापछि उनीहरू फ्रान्सको ला हाभ्रे पुगे । त्यो एउटा बन्दरगाह नगरी थियो । त्यहाँबाट बग्गी चढेर उनी पेरिस पुगे । बुबाबाट पाएको पैसा यात्राको क्रममा खर्च भइसकेको थियो । पेरिसमा उनले आफ्नै पसिनामा बाँच्ने तर्खर गर्न थाले । हुनेखाने परिवारका छोराले परदेशमा आफ्नै मिहिनेतमा बाँच्ने आँट गरे । लुनिनले एउटा सानो कोठा भाडामा लिए । पेरिस पुगेको केही दिनमै उनले ‘नक्कली दिमित्री’ नामक एक उपन्यास लेख्न थाले । यो उपन्यास रूसको सो¥हौँ शताब्दीको इतिहासमा आधारित थियो । लुनिनले फ्रान्सेली, अङ्ग्रेजी, गणित, सङ्गीतलगायत विषयको ट्युसन कक्षा चलाउन थाले । कहिलेकाहीँ उनले फ्रान्सेलीबाट अङ्ग्रेजी भाषामा व्यापारिक चिट्ठीपत्र उल्था गरेर पैसाको जोहो गर्थे । कहिले प्रेमपत्र पनि लेखिदिन्थे । कहिलेकसो दिनको दस फ्राङ्क (फ्रान्सेली मुद्रा) मै चित्त बुझाउनुपथ्र्याे । लुनिन बस्ने घरमा पाँचजना गरिब युवाले डेरा लिएका थिए । छाताको नाममा उनीहरूसँग एउटै छाता थियो । हिउँ पर्दा बाहिर निस्कन लगाइने लुगा पनि एउटै मात्र थियो । अभावले भरिए पनि आफ्नै मिहिनेतमा टिकेको पेरिसको बसाइबाट उनी सन्तुष्ट थिए ।
पेरिस त्यतिबेला क्रान्तिकारी भावना र उदार विचारको केन्द्र थियो । त्यतिबेला पेरिसमा कपाल काट्ने सैलुनहरू बौद्धिक छलफल, बहस एवम् अन्तरक्रियाका अखडा हुन्थे । लुनिन घण्टौँसम्म सैलुनमा बसेर छलफलमा भाग लिन्थे । यसै सिलसिलामा उनको परिचय पेरिसका प्रभावशाली राजनीतिक र सामाजिक बुद्धिजीवीहरूसँग भयो । तीमध्ये एक थिए काल्पनिक समाजवादी विचारक सेन्ट साइमन ।
नेपोलियनको पतनपछि युरोपका प्रमुख सहरहरूमा सामन्ती र निरङ्कुश राज्यसत्ताविरुद्ध गुप्त समाजहरू सल्बलाएका थिए । पेरिसमा पनि गुप्त समाजका गतिविधि हुन्थे । पेरिसमा विभिन्न देशका क्रान्तिकारीहरू स्वनिर्वासनमा थिए । अरूजस्तै लुनिन बिस्तारै पेरिसका गुप्त समाजहरूको सम्पर्कमा पुगे । तिनका गुप्त गतिविधिमा सहभागी भएर लुनिनले काम गर्ने तौरतरिका सिक्दै गए । यतिबेला लुनिन २९ वर्षका थिए ।
फेरि रूसमा
पेरिसमा केही महिना के बसेका थिए, लुनिनका बुबाको निधन भएको खबर आयो । परिवारको एकमात्र छोराको रूपमा सम्पूर्ण जायजेथाको व्यवस्थापन उनैले गर्नुपर्ने बाध्यता आइलाग्यो । त्यसैले १८१७ को अप्रिलमा उनी रूस फर्के । ‘मुक्ति सङ्घ’ मा संवैधानिक राजतन्त्र र गणतन्त्रका पक्षधरबिच फाटो बढ्दै थियो । उद्देश्यमा एकमत भएर पनि कसरी त्यो उद्देश्यमा पुग्ने भन्ने विषयमा फरक मत देखियो । लुनिन संवैधानिक राजतन्त्रका पक्षपाती थिए । त्यसकारण, निकिता मुराभ्योभजस्ता संवैधानिक राजतन्त्रवादीहरूले उनी रूस फर्केको हेर्न चाहन्थे ।
लुनिन पिटर्सबर्ग फर्केपछि गुप्त समाजको नेतृत्व ‘मुक्ति सङ्घ’ लाई विघटन गरेर अझ फराकिलो नयाँ गुप्त समाज स्थापना गर्नुपर्ने निष्कर्षमा पुग्यो । लुनिनको सक्रिय सहभागितामा ‘समृद्धि सङ्घ’ नामक नयाँ गुप्त समाजको स्थापना भयो । सेना र सरकारी सेवामा रहेका सुधारवादी युवाहरूलाई नयाँ समाजमा भित्याउन अगुवा सदस्यहरू सक्रिय भए । कुलीन युवाहरूबिच समर्थन व्यापक बनाउने हेतुले गुप्त समाजका सदस्यहरू सांस्कृतिक र साहित्यिक जमघटहरूमा जान्थे । यस्ता वैध समाजहरूमा हुने छलफलमा समृद्धि सङ्घका सदस्यले भूदास प्रथा, सरकारी अधिकारीहरूको स्वेच्छाचारिता, सेन्सरसिप, सेनाभित्रको क्रूर सजाय व्यवस्था आदिको विरोधमा प्रवचन दिन्थे । यस विषयमा उनीहरू पत्रपत्रिकामा लेख्थे । केही समयमै समाजको सदस्य सङ्ख्या दुई सत्न्दा बढी पुग्यो । तीमध्ये अधिकांश सेनाका अधिकारीहरू नै थिए । केही सदस्य सैनिक सेवामा नरहेका जमिनदार एवम् सम्भ्रान्त परिवारका युवाहरू थिए । यसरी लुनिनको सहभागिताले गुप्त समाज नयाँ ढङ्गले अगाडि बढ्यो ।
सन् १८२१ मा गुप्त समाजमा सल्लाह गरेर लुनिन र निकिता दुवै जना सैनिक सेवामा फर्के । गुप्त समाजको प्रभावलाई अझ फराकिलो बनाउन यो कदम चालिएको थियो । सन् १८१६ मै कर्नेल भइसकेका लुनिन पाँच वर्षपछि सेनामा सम्मिलित हुँदा दुई तहमुनिको पदमा समेत सन्तुष्ट भए । उनलाई पोल्यान्ड क्षेत्रको जिम्मेवारी दिइयो । सो क्षेत्र सन् १८१६ पछि रूसमा गाभिएको थियो । सन् १९२३ मा लुनिनलाई जार अलेक्सान्दरका भाइ कोन्स्तान्तिनको नेतृत्वमा रहेको घोडचढी गार्ड पल्टनमा लगियो । विशेष जिम्मेवारीका कारण लुनिनले गुप्त समाजका नेताहरूसँगको सम्पर्क कम गरे ।
यसबिच गुप्त समाज उत्तर र दक्षिण गरी दुई भागमा बाँडियो । लुनिन भित्रभित्रै उत्तरी र दक्षिणी दुवै समाजसँग निरन्तर सम्पर्कमा रहे । ‘उत्तरी समाज’ का नेता उनका भाइ निकिता मुराभ्योभ र मित्र सेर्गेइ त्रुबेत्स्कोइ थिए । ‘दक्षिणी समाज’ का नेता कर्नेल पाभेल पेस्तेल र जर्नेल सेर्गेइ भोल्कोन्स्कीसँग पनि उनी नजिक थिए । दुवै समाजले लुनिनलाई आफ्नो सदस्य मानेका थिए । त्यस्तै, पोल्यान्ड क्षेत्रमा पोल जातिका युवाहरूको एउटा गुप्त समाज सक्रिय थियो । पोल्यान्डलाई रूसको अधीनताबाट मुक्त गर्ने उक्त समाजको उद्देश्य थियो । दक्षिणी समाज र पोल क्रान्तिकारीहरूबिच जारको तानाशाहीविरुद्ध मिलेर सङ्घर्ष गर्ने सहमति भयो । यी दुई समाजबिच लुनिनले भित्रभित्रै पुलको काम गरेका थिए ।
डिसेम्बर विद्रोह र पक्राउ
लुनिनलाई वार्सा सहरबाट पक्राउ गरेर पिटर्सबर्ग लगियो । आफू पक्राउ परेकोमा वा गुप्त समाजका गतिविधिमा सहभागी भएकोमा उनलाई कुनै पश्चाताप थिएन । षड्यन्त्रबारे उनको बयान लिने मान्छे सन् १८१३–१४ को नेपोलियनविरोधी युद्धमा लुनिनकै सहकर्मी थिए । किन राजहत्याको षड्यन्त्रमा सहभागी भयौ ? भन्ने प्रश्नको उत्तरमा उनले स्पष्ट भने, “रूसको इतिहासमा जारको हत्या कुनै नौलो कुरा होइन । कहिलेकाहीँ एउटा अत्याचारी र असक्षम जार हटाउन राजपरिवार र खानदानी वर्गकै सहभागितामा जारको हत्या हुने गर्छ । उनीभन्दा राम्रा एवम् सक्षम जारलाई अगाडि सारिन्छ । यो पनि यस्तै प्रक्रिया हो ।” उत्तर सुनेर बयान लिने अधिकारी नाजवाफ भए । २६ वर्षअगाडि जार अलेक्सान्दर प्रथम र जार निकोलसका पिता जार पिटर तेस्रो पनि कुलीनवर्गको षड्यन्त्रमा मारिएका थिए । जार निकोलस वरपर बस्ने धेरै अधिकारीहरू त्यस षड्यन्त्रका योजनाकार थिए । बयानको क्रममा उनले कुनै पनि सहयोद्धा क्रान्तिकारीको नाम लिएनन् । एउटा पनि नयाँ सूचना फुत्काउन नसक्दा बयान लिने अधिकारीहरू हायलकायल भए ।
विद्रोहको सात महिनापछि सजाय सुनाउने दिन लुनिनलाई आफ्नो टोलीमा देख्दा धेरै क्रान्तिकारीहरू छक्क परे । धेरैले मिखाइल लुनिनले गुप्त समाज त्यागेको ठानेका थिए । अनुसन्धान समितिले लुनिनलगायत ३० जना प्रमुख नेतालाई फाँसीको सजाय सुनायो । १८२६ जुलाई १३ को घोषणामा जारले २५ जनाको सजाय घटाएर सदाको लागि कारागार र साइबेरिया निर्वासनमा फेरे । क्रान्तिकारीहरूको घरपरिवारको सहानुभूति बटुल्न जारले त्यो चाल चलेका थिए ।
भनिन्छ, ‘सदाको लागि’ भनेको सुनेर लुनिनले फैसलाको उपहास गरेका थिए । उनले भनेका थिए रे, “म अहिले नै चालिस वर्ष पुगिसकेको छु, के ‘सदा’ भनेको बाँकी २०÷३० वर्ष हो ?” कठिन र गम्भीर परिस्थितिमा पनि शत्रुका कुरालाई सहजै ख्यालठट्टामा उडाउन सक्ने विशेषता उनमा थियो । त्यो घटनापछि नै रूसी अदालतहरूमा ‘सदाको निम्ति’ भन्नुको साटो ‘आजीवन’ शब्द प्रयोग गर्न थालियो ।
साइबेरिया जेल र निर्वासन
राज्यले लुनिन विशेष ‘षड्यन्त्रकारी’ मानेको थियो । त्यसैले सुरुमा लुनिनलाई अन्य क्रान्तिकारीहरूसँग राखिएन । उनलाई रूस अधीनस्थ दक्षिण फिनल्यान्डको किल्लामा राखियो । उनले त्यस किल्लाको गोलघरमा एउटा अँध्यारो र चिसो कोठामा केही महिना बिताए । त्यसपछि मात्र उनलाई साइबेरिया पठाइयो । उनलाई चिता नामक गाउँको खुला कारागारमा लगियो । उनले जस्तोसुकै कठिन परिस्थितिमा पनि सहज हुन जानेका थिए । लुनिन कहिल्यै हताश भएनन् । बरु, उनले अन्य निराश क्रान्तिकारीहरूमा आशाको दियो बाले । चितामा उनको नेतृत्वमा खुला जेलबाट भाग्ने योजना बन्यो । नदीको तीरैतिर चीन जाने र त्यहाँबाट जापान हुँदै अमेरिका भाग्ने तय भयो । तर, लाभभन्दा धेरै हानि हुने देखेपछि भाग्ने योजना यत्तिकै तुहियो ।
२० वर्षको जेल सजाय केही वर्षपछि १० वर्षमा झारियो । चिताबाट पेत्रोभ्स्की जेल हुँदै १० वर्षपछि लुनिनलाई जेलमुक्त गरियो । पश्चिम साइबेरियाको इरकुच्क जिल्लानिर युरिक नाउँको सानो बजार थियो । लुनिनलाई त्यही बस्ने अनुमति दिइयो । त्यहाँ उनले काठको सानो घर बनाए, केही जमिन फाँडे र मकै लगाउन थाले । जेल बसाइँको क्रममा लुनिनलाई लेख्ने अनुमति थिएन । रिहा भएपछि उनले आफ्ना बहिनी, साथी र अन्य नातेदारलाई चिट्ठी लेख्न थाले । ती चिट्ठीमा लुनिनले घुमाइफिराई जारको तानाशाहीविरुद्ध लेख्थे । चिट्ठी सेन्सर गर्ने अधिकारीहरू दिक्क भए । त्यसैले अर्को वर्ष उनलाई लेख्न प्रतिबन्ध लगाइयो ।
डिसेम्बर विद्रोहको १० वर्षसम्म पनि विद्रोहको उद्देश्यबारे स्पष्ट पार्ने कुनै पुस्तक निस्केको थिएन । सरकारी प्रतिवेदनहरूमा क्रान्तिकारीहरूलाई सत्ताविरुद्ध षड्यन्त्र गर्ने अपराधीको रूपमा चित्रित गरिएको हुन्थ्यो । त्यसकारण, लुनिनले गुप्त समाज र डिसेम्बर विद्रोहको उद्देश्यबारे पुस्तक लेख्ने तयारी थाले । जेलबाट रिहा भएर स्वतन्त्ररूपमा निर्वासित जीवन बाँचिरहेको भए पनि डिसेम्बरवादीहरू निरन्तर रूसी प्रहरी र सत्ताको निगरानीमा थिए । विद्रोहबारे पुस्तक लेख्ने सोचाइ सुनेर कति क्रान्तिकारीहरूले त्यो सम्भव हुनेमा आशङ्का व्यक्त गरे । तर, लुनिनले गुप्ती प्रहरीको आँखा छलेर पुस्तक लेख्न थाले । उनले डिसेम्बरवादीहरूको तत्कालीन उद्देश्य र गतिविधिबारे फ्रेन्च भाषामा निबन्ध लेखे । ती निबन्धलाई अङ्ग्रेजी र रूसी भाषामा उल्था गरेर साथीहरूकहाँ पठाए । डिसेम्बर विद्रोहको सत्यतथ्य पिटर्सबर्ग र मस्को सहरका कुलीनहरूको घरघरमा लुकिछिपी पढ्न थालियो ।
सन् १८४१ को एक दिन रूसको गुप्ती प्रहरीले लुनिनको कोठामा छापा मार्यो । उनीहरूले ‘रसियाली गुप्त समाजहरू (१८१६–१८२६) बारे एक दृष्टि’ नामक एउटा पाण्डुलिपि फेला पारे । पुस्तकमा लुनिनले लेखेका थिए, “जारले निर्वासितहरूबाट मानपदवी, सम्पत्ति, स्वास्थ्य, समय, मातृभूमि सबै खोसेका छन् । तर, उनले क्रान्तिकारीहरूप्रतिको जनताको सद्भाव कहिल्यै खोस्न सक्ने छैनन् । केही समयलाई जारले रूसी जनतालाई झुक्याउन सक्लान् तर सधैँलाई सक्दैनन् ।”
यो खबर सुनेर जार निकोलस एकदम रिसाए । सत्य लेखेको अभियोगमा लुनिनलाई आकातुइ नामक टाढाको खानी क्षेत्रमा दोस्रो निर्वासनमा पठाइयो । उनलाई त्यहाँ पनि लेख्न प्रतिबन्ध लगाइयो । तर, साथीहरूले औषधि भनेर लेख्ने मसीको धुलो र कागज पठाइदिन्थे । लुनिनले लेखिरहे । लेखेको सामग्री एक पुरोहितले ठाउँमा पु¥याइदिन्थे । शत्रुलाई पनि प्रभावित गर्न सक्ने खुबी भएका लुनिनले ती पुरोहितको मन जितेका थिए । मौका पाउँदाबित्तिकै उनले लेखाइमार्फत जारको स्वेच्छाचारी शासनलाई चुनौती दिइरहे । भेद खुलेपछि दोस्रो निर्वासनको चार वर्ष नपुग्दै सरकारी हत्याराहरू आकातुइ खानीको लुनिन बस्ने कोठामा गए । जारको आदेशमा उनीहरूले सिरानीले घाँटी च्यापेर उनको हत्या गरे ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *