विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
त्यसबेला पार्टी सङ्गठनमा पेसेवर कार्यकर्ताको महत्व र आवश्यकताको विषयमा धेरै छलफल हुन्थ्यो । पार्टी सङ्गठन विकास र विस्तारको लागि पेसेवर कार्यकर्ताहरू अति नै आवश्यक थियो र आज पनि छ । त्यसैले पेसेवर कार्यकर्ता बनाउनको लागि पार्टीले कार्यकर्ताहरूलाई उत्साहित गर्ने तथा तालिम दिने गथ्र्याे ।
पार्टी सङ्गठनमा काम गर्ने कार्यकर्ताहरू निडर, निर्भिक र निःस्वार्थी हुनुपर्छ भनी पार्टीले सिकाउँदै आएको थियो । पार्टी सङ्गठनका सदस्यहरू अनुशासित, नम्र व्यवहार गर्ने, अन्याय–अत्याचार र शोषणको विरूद्ध लड्ने तथा अगाडि बढ्न सक्ने हुनुपर्छ । पार्टी सङ्गठनको कामलाई सधँै पहिलो स्थान दिनुपर्छ र पार्टीको लागि आफ्नो काम छोड्न सक्नुपर्ने जस्ता पार्टीको शिक्षाबाट हामी प्रभावित थियौँ ।
पार्टीको सल्लाहअनुसार हामीलाई काममा पठाउने निर्देशन प्रायः जीवन काकामार्फत आउँथ्यो । २०३३ सालमा हुनुपर्छ, हामी तीन जना साथीहरूलाई जीवन काकाको घरमा बोलाउनुभयो । केही समय चितवनमा बसी सङ्गठनको कार्य गर्न उहाँले निर्देशन दिनुभयो । जीवन काकाको सल्लाह र निर्देशनअनुसार हामी चितवन जान तयार भयौँ ।
भोलिपल्ट बिहान ६ बजे हामी आ–आफ्नो झोला बोकी चितवनमा जान हिँड्यौँ । सूर्यविनायक चोकबाट ट्रलिबसमा बसी त्रिपुरेश्वर र कालीमाटीबाट ट्रकमा बसी हेटौँडा पुग्यौँ । नारायणगढ जाने बसमा चढी रत्ननगर टाँडीमा ओल्र्यौँ । साथीहरू भेट हुँदा साँझ भइसकेको थियो ।
त्यसबेला अहिलेको जस्तो तार–टेलिफोन, मेल–इमेल र मोबाइलको सुविधा थिएन । सबै काम कुरो चिट्ठी पत्रको माध्यमबाट हुन्थ्यो । रत्ननगरको साथीलाई दिनु भनी पठाएको चिट्ठी हामीले साथीको हातमा दियौँ । रत्ननगरबाट कहाँ जाने, को भेट्ने, कहाँ बस्ने, हामीलाई केही थाहा थिएन । साथीहरूले भनेअनुसार गर्नु भनी निर्देशन भएको थियो ।
रत्ननगरका साथीहरूले भोलिपल्ट हामीलाई माडीमा लानुभयो । रत्ननगरबाट माडीमा जान पैदल हिँडेर जानुपथ्र्यो । बिहानको खाना खाई बिस्तारै हिँड्दा हामी झिसमिसे साँझमा मात्र माडीमा पुग्यौँ ।
माडी चितवन जिल्लाको दक्षिणतिरको एउटा गाउँ थियो । हामीलाई माडी गाउँको पनि गाउँमा लगेको देखियो । जङ्गल फडानी गरेर बसेको जस्तो ठाउँ, ४÷५ रोपनीको क्षेत्रफलको जग्गा थियो । जग्गाको बिच बिचमा केही ठुला रूखहरू बाँकी थिए । जग्गाको छेउमा काठ–दाउरा र खरले छाएको एउटा घर थियो । नजीकै अर्को घर एउटा पनि थिएन ।
साथीहरूले हामीलाई त्यही घरमा लानुभयो । त्यसबेला पुरै अँध्यारो भइसकेको थियो । भुइँ तलाको एक कोठाको बिचमा अगेना थियो । अगेनामा दाउरा राखी आगो बालिराखेको थियो । अगेनाको चारैतिर ४÷५ जना साथीहरू बसेका थिए । हामी पनि त्यहाँ बस्यौँ । लालटिन, टुकी केही बाली राखेको थिएन, मात्र आगोको ज्योतिले मानिसहरू देखिन्थे, अनुहार राम्रोसँग देखिँदैनथ्यो ।
हामी बसेपछि छलफल सुरू भयो । छलफलको विषय पेसेवर कार्यकर्ता हुनेबारे थियो । त्यस विषयमा छलफल हुनेबारे हामीलाई थाहा थिएन । ठुलो खास्तो ओढी बसेका एकजना साथीले पेसेवर कार्यकर्ताको काम, कर्तव्य र जिम्मेवारीबारेमा व्याख्या गर्नुभयो । पेसेवर कार्यकर्ताले लामो समयसम्म (जीवनभर) पार्टीको लागि काम गर्नुपर्ने, आफ्नो घर–परिवार भन्न नपाउने, पार्टीले दिएको काम गर्नुपर्ने, खटाएको ठाउँमा जानुपर्ने कुरा बताउनुभयो । अब हामीले त्यसरी घर–परिवार त्यागेर पेसेवर कार्यकर्ता भएर काम गर्छु भनी बाचा गर्नुपर्ने अवस्था आयो ।
पेसेवर कार्यकर्ताको विषयमा बताउने साथी तत्कालीन नेमकिसंका केन्द्रीय सदस्य, नारायणी अञ्चलका इन्चार्ज भएको पछि जानकारी भयो । उहाँको टेक (गुप्त)) नाम ‘माने’ रहेछ । त्यसबेला उहाँ गुप्तरूपमा काम गरिरहनुभएको थियो ।
जीवन काकाले हामीलाई केही समयको लागि भनी पठाउनुभएको थियो तर त्यहाँ लामो समयको लागि घरपरिवार छोडी पार्टीमा काम गर्नुपर्ने कुराले हामी अलमलमा प¥यौँ । हामी तीन जनामध्ये एक जना साथीले भन्नुभयो, “लामो समय (जीवनभर) घर–परिवार छोडी पार्टीमा काम गर्ने विषयमा घरमा सरसल्लाह नगरी अहिले नै भन्न सकिँदैन । मेरो विचारमा आज निर्णय हुँदैन ।” अर्को साथीले पनि आजै निर्णय दिन नसक्ने कुरा राख्नुभयो । मैले पनि आज निर्णय दिन नसक्ने कुराभन्दा साह«ै नराम्रो हुने देखियो । त्यसैले मैले काम गर्छु भनी जवाफ दिएँ ।
छलफल सकिएपछि मलाई साथीहरूबाट छुटाएर अर्को ठाउँमा लानुभयो । म सँगै बसेका दुई जना साथीहरूलाई अर्को ठाउँमा लानुभयो । भोलिपल्ट दुई जना साथीहरू घर फर्केको सूचना आयो । तीन जना सँगै गएका साथीहरू छुटिनु पर्दा अलि नमज्जा लाग्यो । सङ्गठनमा काम गर्दा साथीहरूको भेट–छुट भइरहन्छ । यो सामान्य कुरा हो ।
अब मेरो काम चितवन जिल्लाको गाउँ–गाउँमा पुग्ने र साथीहरूसँग भेटी छलफल गर्ने भयो । साथीहरूले कहाँ लानुभयो, त्यहीँ जाने, बस्ने र सङ्गठनको काम गर्ने गर्थेँ । सङ्गठनको कक्षा वा मिटिङ प्रायः रातिको समयमा हुन्थ्यो । बिहान, दिउँसो बसेको घरमा भएको काममा सघाउने गर्थेँ । विद्यालयमा पढ्न जाने भाइबहिनीहरूलाई पढ्न, गृहकार्य गर्न सघाउने गर्थेँ । यसले घरमा भाइबहिनीहरू पनि खुसी हुन्थे र अभिभावकहरू पनि खुसी हुन्थे । बालबालिकाहरूलाई पढ्न सहयोग मिल्ने र घरको काममा पनि मद्दत पाउने हुँदा हामी बसेको घरपरिवार हामीबाट प्रभावित भएको देखिन्थ्यो ।
चितवनका गाउँहरूमा बहुमत किसानहरू नै थिए । खेतमा पसिना बगाएर उब्जाएका अन्नाज तल्सिङलाई बुझाई बाँकी भएको खाएर बाँच्नुपर्ने किसानहरूको जीवन दयनीय नै थियो । आफ्नो परिवार पाल्न कठिन किसानको घरमा हामी बसी खाँदा त्यो परिवारलाई समस्या हुन्थ्यो भन्ने हामीलाई लाग्थ्यो । तर, एक दुई छाक ख्वाउन कसैले पनि गा¥हो मानेका थिएनन् । हामी पनि घरमा जे पाक्या छ त्यही नै खाने भयौँ, पाहुना भनेर विशेष व्यवस्था गर्नु नपर्ने भएकोले केही अप्ठ्यारो पनि हुँदैनथ्यो । साथीहरूले हामीलाई घरमा लानु भन्दा पहिले नै घरमा जे पाक्छ, त्यही खाने भनी सम्झाउने गर्थे । गरिब किसान परिवारमा दाल–भात तरकारी भनेको कमै मात्र हुन्थ्यो । धेरैजसो परिवारमा ढिडो र सागसब्जी हुन्थ्यो । साथीहरूले पालैपालो हामीलाई बस्ने र ख्वाउने गर्थे । एक दुई दिनभन्दा बढी एउटा घरमा राख्ने गर्दैनथ्यो ।
रत्ननगर टाँडीबाट दक्षिण पश्चिम बाघमारा गाउँको आसपासमा हुनुपर्छ । केही दिनको लागि एक जना साथीको घरमा लानुभयो । छोराछोरी, आमाबाबु चार जनाको सानो परिवार थियो । खान पाउनको लागि दुःख नभएको परिवारजस्तो देखिन्थ्यो । छोरी ९ कक्षामा पढ्दै थिइन् । छोरा ७ कक्षामा पढ्दै थियो । आमा बाबु बिहानदेखि काममा व्यस्त हुन्थे ।
साथीका छोराछोरी दुबै ज्ञानी थिए । विद्यालयबाट फर्केपछि गृहकार्य गर्ने र पढ्ने गर्थे । कुनै–कुनै विषयमा उनीहरूलाई कठिनाइ भएको मैले देखेँ । उनीहरूलाई समस्या भएको, नबुझेको विषयमा म बुझाउँथे । यसले छोराछोरी तथा आमा बाबु सबै खुसी भए ।
घरको साथी करिब ४०÷४५ वर्षको देखिन्थे । त्यसबेला म १७÷१८ वर्षको थिएँ । साथी अलि पातलो र कमजोर खालका थिए । म गएको दुई दिनपछिको कुरा थियो, साथीले सिमेन्ट एक बोरा बजारबाट ल्याउन मान्छे खोज्दै थिए । उनले सिमेन्ट बोक्ने मान्छे पाउन सकेनन् । साथीलाई समस्या प¥यो । साथीलाई समस्या परेको देखेर सिमेन्ट बोक्न म तयार भएँ । सिमेन्ट ल्याउन भरिया नपाएर के गरौँ के गरौँ भइराखेको साथीलाई मैले बोकेर ल्याइदिन्छु भन्दा साथी अल्मलिनुभयो । साथीले “तपाईंलाई गा¥हो हुन्छ” भन्नुभयो । “गा¥हो हुँदैन, म बोकेर ल्याउँछु, जाऊँ ।” भनी साथीलाई बजारमा लगेँ ।
सिमेन्ट पसल घरबाट करिब तीन किलोमिटर टाढा थियो । पसलबाट नाम्लो राखी सिमेन्ट बोक्न थालेँ । जीवनमा नाम्लो राखी सिमेन्ट बोकेको यो पहिलोचोटि थियो । सिमेन्ट अलि ग¥हौँ हुन्छ भन्ने अनुभव पनि थिएन । ४०÷४५ के.जी.को केटोलाई ५० के.जी.को सिमेन्ट बोरा ग¥हौँ हुने नै भयो । सिमेन्ट बोकी ३०÷४० मिटर हिँडेपछि नै खपी नसक्नु गा¥हो भयो । जिउभरि पसिना खलखल आयो । अलि अग्लो, बिसाउन मिल्ने ठाउँमा बिसाइहालेँ । साथीलाई घर गइराख्न अनुरोध गरेँ । उहाँ जानुभयो ।
नाम्लोले भारी बोक्दा टाउकोमा भारी पर्ने रहेछ टाउको, गर्दन, कम्मर, खुट्टा सबै दुख्दो रहेछ । जे जसो भए पनि जति गा¥हो भए पनि सिमेन्ट घरसम्म पु¥याउनै प¥यो । सिमेन्ट बोक्न गा¥हो भयो कि बिसाइहाल्ने, फेरि बोक्ने, फेरि बिसाउने गर्दै सिमेन्ट घरसम्म पु¥याएँ । घर पुगेपछि साथी र भाउजू ज्यादै खुसी हुनुभयो ।
चार पाँच दिनपछि साथीहरूले मलाई अन्तै लैजान लिन आउनुभयो । म जानको लागि तयार भएँ । घरको साथी र भाउजू अन्य साथीहरूसँग कुरा गर्दै थिए, “कति छिट्टै लिन आउनुभएको ? दुई चार दिन बढी बस्दैमा के हुन्थ्यो र ?” मिलनसार साथी, अति माया गर्ने भाउजू र ज्ञानी भाइबहिनी सबैसँग बिदा माग्दै हामी घरबाट बाहिरियौँ ।
Leave a Reply